साढे तीन महिनापछि सोमबार सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान गरेको छ । तीन महिना २० दिन अर्थात् गत जेठ २२ गतेदेखि मौसम प्रतिकूल बनेको भन्दै ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प थियो ।
सोमबार मौसम खुलेपछि काठमाडौंबाट १३ यात्रु लिएर ताप्लेजुङमा विमान आएको हो । ताप्लेजुङबाट पाँचजना यात्रु लिएर जहाज काठमाडौं फर्किएको थियो । वर्षायाममा उडानतालिका भए पनि मौसमका कारण सेवा सञ्चालन हुन नसकेपछि टिकट काटेका यात्रु पटक–पटक विमानस्थल पुगेर घर फर्किनुपरेको थियो, अब भने यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
दसैँ–तिहारलाई मध्यनजर गर्दै ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमले सातामा तीन दिन उडान गर्ने गरी कार्यतालिकासमेत बनाएको छ । यसअघि सातामा एक दिन (सोमबार) मात्र उडान हुँदै आएकोमा अब सोमबार, बिहीबार र शनिबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुने भएको छ ।
चाडपर्व र पर्यटकीय मौसमलाई लक्षित गर्दै निगमले उडानतालिका बढाएको हो । निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले मौसममा सुधार कायम रहे नियमित रूपमा तीन दिन नै उडान हुने जानकारी दिए ।
निगमले काठमाडौं–ताप्लेजुङको एकतर्फी भाडा १२ हजार दुई सय ७० रुपैयाँ र ताप्लेजुङ–काठमाडौंको १२ हजार ७० रुपैयाँ निर्धारण गरेको जनाएको छ । अबदेखि सातामा तीन दिन उडानतालिका बनाइएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालका प्रमुख दिलीपकुमार राजवंशीले जानकारी दिए ।