विपतको जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह
प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेकाले विपतको जोखिम अझै कायमै रहेको बताएका छन्।
सार्वजनिक अपिल जारी गर्दै प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकटको अवस्थामा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
मनाङ हिउँ पहिरोः दुईजनाको शव भेटियो, १२ जना सम्पर्कमा
आइतबार दिउँसो मनाङमा गएको हिमपहिरोमा परेका दुईजनाको शव भेटिएको छ। उनीहरूको शव हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल मनाङमा ल्याइएको प्रहरीले जनाएको छ।
पहिरोमा परेका ८ जना सम्पर्कविहीन छन्। अन्य १२ जना भने फू गाउँमा पुगेको प्रहरीले जनाएको छ। मनाङको हिम्लुङ हिमालमा हिमपहिरोमा २२ जनाको पर्वतारोही टोली परेको हो।
चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
घट्टेखोलामा आएको बाढीले मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ। घट्टेखोलाबाट आएको बाढीपहिरोले मर्स्याङ्दीको बहाब रोकिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए।
घट्टेखोलामा आएको बाढी र पहिरोले नदीको बहाब रोकिएपछि मर्स्याङ्दी र घट्टेखोला मिसिएर ताल बनेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। नदी थुनिएपछि चामे गाउँपालिकाको पारिपट्टिको बस्ती जोखिममा परेको छ।
मर्स्याङ्दी नदी आंशिक थुनिएर जलसतह बढ्न थालेपछि साइरन बज्न थालेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन र नदीआसपास नजान आग्रह गरेको छ।
नारायणीले बगाएको क्रुज पुलमा अड्कियो, सवारीसाधन सञ्चालनमा रोक
नवलपुरको नारायणी नदीमा रहेको क्रुज नदीले बगाएको छ। गैँडाकोट नगरपालिका– २, बोटे टोलस्थित नारायणी नदीकिनारमा राखिएको क्रुज नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
नदीले बगाएको क्रुज नारायणी नदी पुलमा अड्किएको छ। साँझ साढे ५ बजेदेखि क्रुज पुलमा अड्किएको हो। पानीका उच्च बहाबका कारण पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएकामा क्रुज अड्किएपछि थप निगरानी बढाइएको प्रहरीले जनाएको छ।
विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनर्स्थापना गरिने
अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ।
प्राधिकरणले देशभरको विद्युत् आपूर्ति, प्रसारण तथा वितरण संरचनाको अवस्था र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी तथा अनुगमन गरिरहेको छ। सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सम्बोधन गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
मेयरको तोकआदेशमा दमक नगरपालिकाको राजस्व चुहावट
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नदीजन्य सामग्रीको अवैध उत्खननबाट संकलन हुने करमा तोकआदेशका आधारमा निर्णय गरी राजस्व चुहावट गरेका छन् । एउटै प्रकृतिको कसुरमा फरक–फरक जरिवाना तोकेको भेटिएको छ।
नगर प्रमुखको दबाबमा राजस्व शाखाले पनि कानुनविपरीत राजस्व संकलन गर्ने गरेको छ । प्रदेश सरकारले बनाएको आर्थिक ऐनअनुसार जरिवाना र राजस्व संकलन गर्नुपर्ने कानुनी व्यवस्था छ । कोशी प्रदेश सरकारले अवैध उत्खननमा संलग्न मेसिन, एक्स्काभेटर, ब्याक हो, लोडरलाई दुई लाख, टिपर वा ट्रकलाई एक लाख, मिनीट्रकलाई ५० हजार र ट्याक्टरलाई २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ । यस ऐनको प्रतिकूल हुने गरी नगरले कर उठाउँदै आएको छ।
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन सुरु गरेको छ।
कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै रसुवा र नुवाकोटमा स्थायी घर भई काठमाडौंमा अध्ययनरत तथा बाढीका कारण अभिभावकविहीन भएका वा परिवारजनसँग सम्पर्कविहीन अवस्थामा रहेका बालबालिकाको व्यक्तिगत विवरण (प्रोफाइल) तयार गरी सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
सुस्तावासीलाई नारायणीवारि सारियो
डुबानमा परेका पश्चिम नवलपरासीको सुस्ताका ८ सयजना भन्दा बढीलाई नारायणी नदीवारि सारिएको छ।
सुस्ताका थारू टोलमा बाढीका कारण विस्थापित भएका ८०० जनाभन्दा बढीलाई डुंगाको साहारामा नारायणीवारि सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। डुबानमा नपरेका केही घरका मानिसलाई पनि जोखिमलाई मध्यनजर गर्दै नारायणीवारि ल्याउने तयारी भएको उनले बताए।
मनाङमा बाढी : चार घर बगायो, दुई पालिकासँग सम्पर्कविच्छेद
मनाङमा आएको बाढीले सदरमुकाम चामेसहित विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। बाढीले चामेबजारका कम्तीमा चार घर र चारवटा पुल बगाएको छ भने मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सञ्चारसम्पर्कविहीन भएका छन्।
शनिबार राति ठाडो खोलामा आएको बाढीले चामे गाउँपालिका क्षेत्रमा चार घर बगाएको हो। अन्य केही घरमा समेत क्षति पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए। उनका अनुसार चामेबजारबिचको घट्टेखोलामा रहेको पुल, कोतोबाट चामे जोड्ने तिर्चुङाल्डा पुल, नयाँबजारतर्फको पुललगायत चारवटा पुल बाढीले बगाएको छ। पुल बगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
कुलेखानी जलाशयमा पानीको सतह १५२६.८१ मिटर, जलाशयमा पानी बढ्ने गति घट्यो
लगातारको वर्षाका कारण बढिरहेको मकवानपुरको कुलेखानी जलाशयको पानीको सतह आइतबार राति ८ बजेसम्म १५२६.८१ मिटर पुगेको छ। जलाशयमा पानी थपिने क्रम जारी रहे पनि वृद्धि दर भने अघिल्लो रात र बिहानको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमले उपलब्ध गराएको प्राप्त पछिल्लो विवरणअनुसार रातिको समयमा जलाशयको सतह प्रतिघण्टा करिब २६ सेन्टिमिटरका दरले बढेको थियो। आइतबार राति ८ बजेसम्म आइपुग्दा वृद्धि दर घटेर प्रतिघण्टा करिब आठ सेन्टिमिटरमा सीमित भएको छ।