बाढीपछि छरिएका पशुचौपायाका शवका कारण कस्ता रोग फैलिने जोखिम बढी हुन्छ ?
विशेष गरी, पशुचौपायाका शवका कारण विभिन्न ब्याक्टेरियल तथा कीटजन्य रोग फैलिने सम्भावना बढी हुन्छ । प्लेगदेखि, लेप्टोस्पाइरोसिस, साल्मोनेलाजस्ता रोग समुदायमा फैलिन सक्छन् । भोटेकोशीमा बाढी आएको चार दिन भइसकेकाले शवको उचित व्यवस्थापनमा अहिले झन् बढी ध्यान दिनुपर्ने अवस्था छ । मरेका पशुचौपायाबाट जुनोटिक रोग समुदायमा फैलिन सक्ने सम्भावना हुन्छ । समुदायमा यस्ता रोग फैलिएको अवस्थामा त्यसलाई नियन्त्रण तथा निर्मूल गर्न झनै कठिन हुन सक्छ ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल के–कस्ता सावधानी अपनाउनुपर्छ ?
सबैभन्दा पहिले मरेका पशुचौपायाको सुरक्षित र व्यवस्थित गरी व्यवस्थापन गर्नुपर्छ । बाँचिरहेका पशुपन्छीलाई आवश्यकताअनुसार उचित खोप तथा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । अहिले नेपाल भेटेरिनरी एसोसिएसनलगायत पशु सेवा विभाग तथा पशु कल्याणका क्षेत्रमा काम गर्ने संघ–संस्थाको उपस्थिति प्रभावित क्षेत्रमा देखिनथालेको छ । यी सबै निकायले आपसी सहकार्य र समन्वयमा काम गर्न सकेमा प्रभावित पशुपन्छी तथा समुदायलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन सकिन्छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाले मरेका पशुचौपाया भेट्दा के गर्नुपर्छ ?
मरेका पशुचौपायालाई आफैँले छोएर वा सारेर व्यवस्थापन गर्नुहुँदैन । त्यस्ता पशुचौपाया भेटिएमा प्रहरी, स्थानीय प्रशासन वा पशु स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउनुपर्छ । नेपाल भेटेरिनरी एसोसिएसनले अहिले ११५९ नम्बरमा निःशुल्क २४ घन्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रभावित क्षेत्रका नागरिक तथा पशुपालकले सो नम्बरमा सम्पर्क गरी मृत पशुचौपायाको व्यवस्थापनसम्बन्धी जानकारी दिन सक्नेछन् । प्राप्त सूचनाका आधारमा सम्बन्धित निकाय तथा प्राविधिक टोलीसँग समन्वय गरी मृत पशुचौपायाको उचित व्यवस्थापनका लागि सहजीकरण गरिनेछ । मरेका पशुचौपायाको व्यवस्थापन गर्दा जैविक सुरक्षाका आवश्यक विधि अवलम्बन गरी सुरक्षित र व्यवस्थित रूपमा मात्र व्यवस्थापन गर्नुपर्छ ।