विनाशकारी बाढी र पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै श्रीलंका सरकारले राहत तथा पुनरुत्थान कार्यका लागि नेपाललाई १० लाख अमेरिकी डलर (करिब १३ करोड ४० लाख नेपाली रुपैयाँ) आर्थिक सहायता घोषणा गरेको छ।
श्रीलंकाका राष्ट्रपति अनुराकुमार दिसानायकेले नेपालमा जारी राहत तथा मानवीय सहायता कार्यक्रमलाई तत्काल सघाउन उक्त रकम हस्तान्तरण गर्न सरकारीसम्बद्ध निकायलाई बिहीबार निर्देशन दिएका छन्।
विपतका कारण जीवन गुमाएका नागरिक र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति दिसानायकेले यो निर्णय गरेको श्रीलंका सरकारले जनाएको छ । श्रीलंकाका परराष्ट्रमन्त्री विजिथ हेराथले आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै समवेदना र पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।
नेपाली समकक्षीसँगको कुराकानीपछि परराष्ट्रमन्त्री हेराथले भने, ‘हाम्रो घनिष्ठ मित्र तथा छिमेकी देश नेपालप्रति श्रीलंकाको ऐक्यबद्धता र प्रतिबद्धता अटल छ। हामी नेपाल सरकारसँग निरन्तर सम्पर्कमा छौँ र राहत तथा पुनर्स्थापनाका प्रयासमा आवश्यक परे थप सहयोगका माध्यमहरू खोज्न तयार छौँ।’
श्रीलंकाको परराष्ट्र, वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार, यो आर्थिक सहायता बाढीपहिरो प्रभावित समुदायहरूलाई तत्काल राहत सामग्री र मानवीय सहायता पुर्याउन प्रयोग गरिनेछ। श्रीलंकाली विपत् व्यवस्थापन केन्द्रहरूले आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउन नेपाली अधिकारीहरूसँग निकट समन्वय गरिरहेको जनाएको छ।