मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ११ बिहीबार २१:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार २१:५१:oo

प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा, धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार तथा राहतका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्।

बिहीबार नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा घाइतेको निःशुल्क उपचार सरकारको पहिलो प्राथमिकता रहेको बताए।

स्थलगत निरीक्षणका क्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग प्रत्यक्ष जानकारी लिएका उनले विपद्को अवस्था अझै चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेनाका ४ हजार २ सय, नेपाल प्रहरीका ७ हजार २ सय ५० र सशस्त्र प्रहरी बलका १ हजार ८ सय ४५ गरी १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको भन्दै प्रधानमन्त्री शाहले ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार भइसकेको जानकारी दिए। निजी हेलिकोप्टरलाई समेत सरकारी कमान्डमा परिचालन गरिएको उनले बताए।

प्रभावित नागरिकका लागि तत्काल राहत उपलब्ध गराउन सरकारले रसुवा र नुवाकोटमा १/१ करोड तथा धादिङमा ५० लाख रुपैयाँ परिचालन गरेको छ। ३ हजार ५ सयभन्दा बढी प्रभावितलाई स्थानीय विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताए।

रेडक्रस तथा स्काउटल्गायत स्वयंसेवी संस्थासँगको समन्वयमा ३० हजारजनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ। इन्धन अभाव हुन नदिन पेट्रोल, डिजेल तथा हवाई इन्धनसमेत प्रभावित जिल्लामा पठाइएको उनले बताए।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल र पाटन अस्पताललगायत स्वास्थ्य संस्थालाई आपत्कालीन शय्यासहित ‘स्ट्यान्डबाइ’ राखिएको प्रधानमन्त्री शाहको भनाइ छ। प्रभावित क्षेत्रमा फिल्ड अस्पताल, प्राविधिक मेडिकल टोली तथा आवश्यक औषधि पठाइएको पनि उनले जानकारी दिए।

बाढीपहिरोका कारण अवरुद्ध भएका ७० भन्दा बढी दूरसञ्चार टावर मर्मत गरी सेवा पुनर्स्थापना गर्ने काम भइरहेको छ। प्रभावित नागरिकका लागि नेपाल टेलिकम र एनसेलमार्फत निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराइएको प्रधानमन्त्री शाहले बताए।

अवरुद्ध सडक, पुल, विद्युत् तथा खानेपानी पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय तथा विभागलाई निर्देशन दिइएको उनले बताए। साथै, विपद्पछिको पुनःस्थापनाका लागि भारत, अमेरिका र युरोपेली संघलगायत अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय भइरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उद्धार तथा राहत कार्य सम्पन्न नभएसम्म राज्यका सम्पूर्ण संयन्त्र प्रभावित क्षेत्रमा परिचालित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।