मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ११ बिहीबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ ११ बिहीबार २२:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ ११ बिहीबार २२:oo:oo

बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्र १३७ को शव फेला

बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुगेको छ । नेपाल प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा मात्र एक सय ३७ जनाको शव भेटिएको छ । 

त्यस्तै, नवलपरासी पूर्वमा ८७, धादिङमा गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ वटा शव भेटिएका छन्। बाढीमा एक हजारभन्दा धेरै सम्पर्कविहीन छन्। कम क्षमता भएका कारण सरकारी अस्पतालहरूलाई शव व्यवस्थापनमा समस्या भएको छ। 

बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा, धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार तथा राहतका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्।

बिहीबार नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा घाइतेको निःशुल्क उपचार सरकारको पहिलो प्राथमिकता रहेको बताए।

स्थलगत निरीक्षणका क्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग प्रत्यक्ष जानकारी लिएका उनले विपद्को अवस्था अझै चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेनाका ४ हजार २ सय, नेपाल प्रहरीका ७ हजार २ सय ५० र सशस्त्र प्रहरी बलका १ हजार ८ सय ४५ गरी १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली कांग्रेसको महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार

नेपाली कांग्रेसको महाधिवेशन रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पूरक निवेदनमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशहरू डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्न अस्वीकार गरेको हो । 

कांग्रेसको संस्थापन पक्षले आगामी असोजमा १५ औँ महाधिवेशन गर्न लागेको हो । सो महाधिवेशन रोक्न देउवा र खड्काले दर्ता गरेको पूरक रिट मंगलबार दर्ता भएको थियो । ४ वैशाखको फैसलामा कुनै आदेश निर्देश नगरी निवेदन खारेज गरेको अवस्थामा अहिले प्रथम दृष्टिमै अन्तरकालिन आदेश आवश्यक नभएको संक्षिप्त आदेशमा उल्लेख छ। 

विपतमा सहायताका लागि कर्मचारीको अधिकतम १० दिनसम्मको तलब काटिने

रसुवा विपतमा राहत तथा पुनर्स्थापनाका लागि कर्मचारीको तलबबाट अधिकतम १० दिनको तलब काटिने भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिव बैठकबाट यससम्बन्धमा निर्णय भएको छ । 

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले रसुवा विपतबाट भएको जनधनको क्षतिपश्चात् राहत तथा पुनर्स्थापना कार्यमा राष्ट्रसेवकहरूको तर्फबाट योगदान गर्न तलब काट्ने निर्णय गरेको हो । निर्णयअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको, राजपत्र अनंकित (खरिदार, नासु) वा सोसरहका कर्मचारीबाट ५ दिनको,  राजपत्रांकित तृतीय (शाखा अधिकृत) र द्वितीय श्रेणी (उपसचवि) वा सोसरहका कर्मचारीबाट ७ दिनको तलब काटिनेछ । त्यस्तै, राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र विशिष्ट श्रेणी (सचिव) सरहका कर्मचारीबाट १० दिनबराबरको तलब पारिश्रमिक रकम काट्ने निर्णय भएको छ । 

रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएका छन्। बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थामीको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ ।  

मंगलबार रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो। त्यसयता उनको कसैसँग सम्पर्क भएको छैन । तर, बिहीबार बिहान १० बजेर ७ मिनेटमा उनको फेसबुक म्यासेन्जरबाट पूर्वसहकर्मी अन्वेषण अधिकारीलाई ‘मिस कल’ आएको छ । ‘मैले टेकराजजीलाई म्यासेन्जरमा कल गरेको थिएँ, अफलाइन देखायो । लगत्तै उनको ‘मिस कल’ देखियो । फेरि ‘कल ब्याक’ गर्दा सम्पर्क भएन,’ अधिकारीले भने ।  

बाढीले बगाएर ल्याएको शवबाट सुनको गहना निकाल्ने दुई पक्राउ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर त्रिशूली–नारायणी नदीकिनारमा ल्याएको शवबाट कानको सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

मानवताको संवेदनशीलता नै गुमाएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूको पहिचान गरी नियन्त्रणमा लिएको हो ।

राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक दैवीप्रकोप उद्धार कोषलाई दिने

राष्ट्रपति रामचन्द्र पौडेलले  भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी राष्ट्रपतिले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने  घोषणा गरेको जानकारी दिएको छ । 

सरकारले विपतकाे समयमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ । 

बाढी प्रभावित क्षेत्रमा कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाढी प्रभावित जिल्ला तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई कार्यस्थल नछोड्न र बाहिर रहेका कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन निर्देशन दिएको छ।

मन्त्रालयको उच्च व्यवस्थापन समूहको आज बिहान बसेको बैठकले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गर्न कर्मचारीलाई निरन्तर परिचालन गर्ने निर्णय गरेको हो।

सिभिल सहकारीको ठगीमा इच्छाराजसहित १७ आरोपी दोषी ठहर

सिभिल सहकारीको ठगी मुद्दामा अदालतले पाँच वर्षपछि फैसला सुनाएको छ। जिल्ला अदालत, काठमाडौंले पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १७ आरोपीलाई दोषी ठहर गरेको छ । सजाय भने अर्काे पेशीमा निर्धारण हुने भएको छ । 

न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य(तामाङ)  तथा दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, मीना तामाङ सुमन नन्दन बैध लगायलाई दोषी ठहर गरेको हो । संगठित अपराधको कसुरमा भने उनीहरुलाई अदालतले सफाइ दिएको छ। 

उनीहरुमाथिको सजाय भने २५ भदौमा निर्धारण हुने भएको छ। 

नुवाकोटमा ७ मेगावाट विद्युत् आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज हुँदै

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ। बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध भएको आपूर्ति पुनःस्थापित गर्न प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् उपलब्ध गराएको हो।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार काठमाडौंको चपली सबस्टेसनबाट २ मेगावाट, सिन्धुपाल्चोकको इन्द्रावतीबाट १ मेगावाट, समुन्द्रटार सबस्टेसन नजिकै रहेको तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु सबस्टेसनदेखि त्रिशूलीसम्मको प्रणालीमार्फत थप २ मेगावाट विद्युत् नुवाकोटमा पठाइएको छ।