मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ७ आइतबार
  • Friday, 28 August, 2026
डा. राजेश्वर कुशवाहा
२o८३ भदौ ७ आइतबार o८:२३:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्मृतिमा सामाजिक न्यायका प्रणेता प्रदीप गिरि

Read Time : > 5 मिनेट
डा. राजेश्वर कुशवाहा
नयाँ पत्रिका
२o८३ भदौ ७ आइतबार o८:२३:oo
  • नेपालको राजनीतिमा वैचारिक धरातल, सीमान्तको चेतना र बिपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर राज्यलाई प्रश्न गर्ने विद्रोहको प्रतिनिधित्व गिरिले गर्नुभयो 

विश्वविद्यालयका अध्ययन कक्ष केवल पुस्तकका पाना पल्टाउने, परीक्षा दिने र औपचारिक प्रमाणपत्र हासिल गर्ने थलो मात्र हुँदैनन् । ती त समाजका पिँधमा पारिएका, पाखा लगाइएका र राज्यको मूल प्रवाहबाट वञ्चित पारिएका मानिसका आवाज, पहिचान र विद्रोहको वैचारिक चेतना निर्माण हुने सर्वोत्कृष्ट थलो पनि हुन्छन् । नेपालका अग्रणी बौद्धिक एवम् राजनीतिक व्यक्तित्व प्रदीप गिरिको उच्च शिक्षाको यात्रा वनारस हिन्दु विश्वविद्यालयबाट सुरु भई भारतकै प्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालयसम्म जोडिएको थियो । बिएचयू र जेएनयूका अध्ययन कक्षहरू, गंगा ढाबा, दिल्लीको बेर सराय (जहाँ उहाँको स्थायीजस्तै एउटा फ्ल्याट थियो) र कनट प्लेसका प्रसिद्ध पुस्तक पसलमा उहाँका ऊर्जावान् बौद्धिक दिनहरू बित्थे । काठमाडौं र दिल्लीका तिनै ‘मेजर बुक स्टोर’हरूमा नयाँ–नयाँ दर्शन, सिद्धान्त, साहित्य र विचारका पुस्तक अध्ययन गर्दा बिताएका अनगिन्ती घण्टाले उहाँलाई जीवनभर सीमान्तकृत, उत्पीडित र अधिकारविहीन मानिसका पक्षमा दृढतासाथ उभिने एउटा दरिलो वैचारिक जग प्रदान गरेको थियो ।

नेपालको बौद्धिक र राजनीतिक वृत्तमा प्रदीप गिरिको मुख्य पहिचान एक ‘उच्चस्तरीय समाजवादी चिन्तक’का रूपमा थियो । उहाँ जननायक बिपी कोइरालाले अघि सारेको र नेपाली कांग्रेसको प्रमुख विचारका रूपमा स्थापित ‘प्रजातान्त्रिक समाजवाद’का प्रमुख व्याख्याता हुनुहुन्थ्यो । बिपीको समाजवादलाई समयानुकूल, व्यावहारिक र समावेशी रूपमा स्पष्ट पार्ने काम गिरिले नै निरन्तर गरिरहनुभयो । हालका दिनमा दिल्ली, पटना, झारखण्ड, जयपुरलगायत भारतका विभिन्न सहरमा सडकदेखि सदनसम्म जब–जब युवा, विद्यार्थी, दलित, आदिवासी र उत्पीडित समुदाय आफ्ना खोसिएका अधिकार र आत्मसम्मानका लागि आन्दोलनमा उत्रिन्छन्, त्यहाँ एउटा दृश्य अत्यन्तै प्रस्ट र अर्थपूर्ण रूपमा देखा पर्छ– डा. भीम राव अम्बेडकरको तस्बिर । 

भारतको स्वतन्त्रता संग्रामका महानायकका रूपमा महात्मा गान्धीको स्थान सर्वोपरी रहेको छ । सरकारी कार्यालयका भित्तादेखि भारतीय मुद्राका नोटसम्म गान्धीकै तस्बिर अंकित छन् । तर, आजका अधिकारमुखी, पहिचान, स्वायत्तता र सामाजिक न्यायका आन्दोलनमा गान्धीको भन्दा बढी अम्बेडकरको तस्बिर र विचार अग्रपंक्तिमा बोकेर युवाहरू सडकमा उत्रेका देखिन्छन् । गान्धीले राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्नुभयो, तर डा. अम्बेडकर सामाजिक रूपान्तरण, जाति व्यवस्थाको निर्मूलन, सीमान्तकृतको हक र राज्यसत्ताको संरचनात्मक विभेदविरुद्धको विद्रोहका सर्वमान्य प्रतीक बन्नुभयो । आजका प्रत्येक आन्दोलनरमा अम्बेडकरको तस्बिर बोक्नुको अर्थ राज्यसत्तासँग प्रश्न गर्नु र आत्मसम्मानको माग गर्नु हो ।

नेपालको राजनीतिमा ठ्याक्कै यही वैचारिक धरातल, सीमान्तको चेतना र बिपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर राज्यलाई प्रश्न गर्ने विद्रोहको प्रतिनिधित्व प्रदीप गिरिले गर्नुभयो । जसरी भारतमा अधिकार र न्यायको लडाइँमा अम्बेडकर विचारका आलोक बन्नुहुन्छ, त्यसैगरी नेपालमा समावेशी लोकतन्त्र, मधेशी, दलित, जनजाति, कर्णाली र युवा अधिकारका हरेक आन्दोलनमा प्रदीप गिरिको विचार र दर्शनले निरन्तर मार्गदर्शन गरिरहेको छ । नेपालमा जेन–जी विद्रोहपूर्व नै आफ्नो जीवनकालको युवा विद्रोह हुनेछ भनि परिकल्पना गर्नुभएको थियो गिरिले ।

जीवनको अन्तिम समयतिर पंक्तिकारसँगको कुराकानीमा उहाँले नेपाली समाजका अनेकौँ सीमान्तकृत विषय, दर्शन र सामाजिक न्यायका आयाममा अझै कति धेरै मौलिक किताब लेख्न बाँकी छ भनेर गम्भीर रूपमा योजना साट्नुभएको थियो । उहाँसँग ज्ञानको अगाध भण्डार थियो र उहाँका ती योजना नेपाली बौद्धिक जगत्का लागि अभूतपूर्व सम्पत्ति बन्ने निश्चित थियो । तर, क्यान्सर रोगको थिचोमिचो र अन्ततः उहाँको असामयिक देहावसानका कारण ती महŒवपूर्ण पुस्तक लेख्ने उहाँको सपना र योजना अधुरै रहन पुगे पनि उहाँको विचार सधैँ जीवित रहनेछ । 

कदमजम : समावेशी तर्फको यात्रा : नेपाली राजनीति र वैचारिक वृत्तमा समावेशीकरणको कुरा गर्दा प्रदीप गिरिले अघि सारेको ‘कदमजम’को अवधारणा नेपाली राजनीतिक इतिहासमै ऐतिहासिक, युगीन र क्रान्तिकारी मानिन्छ । जब नेपाली कांग्रेस विभाजित भई नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भयो, त्यो राजनीतिक संक्रमणकाल र वैचारिक अन्योलको समय थियो । त्यही अन्योलमा गिरिले नेपालमा वञ्चितीकरणमा परेका या पारिएका समुदायलाई राज्य र पार्टीको मूल प्रवाहमा ल्याउन ‘कदमजम’को अवधारणा प्रतिपादन गर्नुभयो । 

उहाँले कर्णालीको भौगोलिक उपेक्षा र विकटता, दलित समुदायले भोग्नुपरेको जातीय विभेद, मधेशी समुदायको पहिचान र अधिकारको लडाइँ, जनजातिको भाषिक तथा सांस्कृतिक थिचोमिचो र महिला वर्गले भोग्नुपरेको लैंगिक असमानतालाई समेटेर बनेको ‘कदमजम’ (कर्णाली, दलित, मधेशी, जनजाति, महिला) लाई राज्य रूपान्तरणको मुख्य ढोकाका रूपमा व्याख्या गर्नुभयो । उहाँको स्पष्ट मान्यता थियो कि यी पाँच वञ्चितीकरणमा परेका वर्गलाई राज्यका हरेक संरचना, नीति–निर्माण र निर्णय प्रक्रियामा समान अवसर र प्रतिनिधित्व नदिएसम्म लोकतन्त्र पूर्ण हुन सक्दैन । उहाँको यही वैचारिक जोडबलका कारण नै पछि सिंगो कांग्रेसले समावेशितालाई आफ्नो मुख्य राजनीतिक सम्पत्ति र सिद्धान्तका रूपमा स्वीकार गरेको हो, जसले आजको संविधानमा समानुपातिक समावेशीकरणको ऐतिहासिक जग बसालेको छ ।

युवा विद्रोह (इनफ इज इनफ) : प्रदीप गिरि उमेरले वृद्धावस्थातर्फ ढल्किँदै जाँदा पनि उहाँको चिन्तन, विचार र भावना सधैँ युवा, विद्रोही र क्रान्तिकारी नै रह्यो । उहाँले युवालाई कहिल्यै पार्टीका शीर्ष नेताहरूको अन्धभक्त बनेर पछाडि लाग्ने वा केवल झन्डा बोक्ने झोले कार्यकर्ता मात्र बन्न सिकाउनुभएन । उहाँले सधैँ युवालाई प्रश्न गर्न, स्थापित व्यवस्था र गलत परिपाटीविरुद्ध विद्रोही बन्न र जहाँ अन्याय हुन्छ, त्यहाँ औँला उठाउन सिकाउनुहुन्थ्यो । नेपालमा जब–जब राज्यको निरंकुशता, भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध युवाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिए, ती हरेक युवा आन्दोलनमा प्रदीप गिरिकै विचारको ऊर्जा र प्रेरणा थियो । नेपालको आधुनिक युवा विद्रोहमा घन्किएको ‘इनफ इज इनफ’जस्ता चेतना र सत्ताको आँखामा आँखा जुधाएर प्रश्न गर्ने विद्रोहको वैचारिक बीजारोपण उहाँकै विचारबाट भएको थियो ।

संसदीय सम्बोधनको मर्म : प्रदीप गिरिले नेपालको संसद्को रोस्टममा उभिएर व्यक्त गरेका भाषण केवल औपचारिक वक्तव्य वा राजनीतिक जोडघटाउका भाषण मात्र थिएनन् । ती त राज्यको परम्परागत मूल संरचना, शासक वर्गको सोच र विभेदकारी व्यवस्थामाथि उठाइएका गम्भीर वैचारिक प्रश्न थिए । उहाँले संसद्मा दिएका सम्बोधन श्रवण गर्दा र उहाँका विचार मन्थन गर्दा के प्रस्ट हुन्छ भने उहाँ सधैँ भन्नुहुन्थ्यो ‘जब–जब राज्यमा कुनै अवसर, साधन–स्रोत, पद र अधिकारको कुरा आउँछ, ती सबैमा ‘कदमजम’ समूहका मानिसको न्यायपूर्ण र पूर्ण हिस्सेदारी हुनुपर्छ ।’ उहाँको दृढ मान्यता थियो कि यदि राज्यका अवसर निश्चित सम्भ्रान्त वर्ग, जात वा पहुँचवाला वृत्तमा मात्र सीमित रहन्छन् भने त्यसलाई ‘लोकतन्त्र’ भन्न सकिँदैन । संसद्मा उहाँले निरन्तर कदमजम समुदायका लागि राज्यका हरेक क्षेत्रमा ढोका खोल्न माग गर्नुहुन्थ्यो । सीमान्तकृत वर्गलाई अवसर र अधिकार दिनु कुनै शासकको दया वा दान होइन, यो त उनीहरूको प्राकृतिक र संवैधानिक अधिकार हो भन्ने उहाँको स्पष्ट अडान थियो ।

सामाजिक न्याय : प्रदीप गिरि केवल अमूर्त सिद्धान्तका कुरा गर्ने नेता हुनुहुन्नथ्यो, उहाँ नेपालको सामाजिक संरचना र यहाँका उत्पीडित वर्गको वास्तविक समस्या बुझेका सामाजिक न्यायका सच्चा प्रणेता हुनुहुन्थ्यो । उहाँले राज्यको एकात्मक संरचनाले कसरी नेपालका बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय पहिचानलाई थिचोमिचोमा पारेको छ भन्ने कुरा संसद् र सडक दुवै ठाउँबाट निरन्तर उठाइरहनुभयो । सीमान्तकृत समुदायको आत्मसम्मान र पहिचान स्वीकार नगरेसम्म देशमा दिगो शान्ति र विकास सम्भव छैन भन्ने उहाँको अभिमत थियो । त्यसैगरी, पहिचानसहितको संघीयता र स्वायत्तताका पक्षमा उहाँको अडान अत्यन्तै स्पष्ट र मजबुत थियो । उहाँले दार्जिलिङको स्वायत्त पहाडी परिषद्जस्तै नेपालमा पनि उत्पीडित वर्ग र समुदायका लागि क्लस्टर अवधारणामा आधारित शासन प्रणाली र स्वायत्त क्षेत्रको आवश्यकता औँल्याउनुभएको थियो, ताकि उनीहरूले आफ्नै क्षेत्रमा स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रयोग गर्न सकून् । तर, संविधान सभाबाट संविधान बनाउने क्रममा उहाँका यी विचार समेटिएनन् । फलस्वरूप, संविधानप्रति उहाँको असहमति कायम रह्यो ।

संविधानमा असहमति : प्रदीप गिरिको राजनीतिक जीवन, वैचारिक निष्ठा र अभूतपूर्व निर्भीकताको सबैभन्दा ठुलो र ऐतिहासिक क्षण २०७२ को संविधान निर्माणका क्रममा देखियो । दोस्रो संविधानसभाबाट जब संविधान जारी गर्ने अन्तिम तयारी भइरहेको थियो, गिरिले स्पष्ट रूपमा देख्नुभयो कि यो संविधानले नेपालको वास्तविक विविधतालाई समेट्न सकिरहेको छैन । देशको एउटा ठुलो भूभाग र सीमान्तकृत समुदाय असन्तुष्ट भइरहँदा जारी गरिने संविधानले दीर्घकालीन शान्ति दिन सक्दैन भन्ने उहाँको दृढ विश्वास थियो । संविधानसभामा बोल्ने समय नदिइँदा र आफ्नै पार्टी सत्तामा भएर ह्विप जारी गर्दा पनि उहाँले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो । पद र दलको ह्विपभन्दा माथि उठेर केवल सिद्धान्त र सीमान्तकृत मानिसको अधिकारका लागि उहाँले नेपालको संविधानमा हस्ताक्षरसमेत गर्नुभएन । उहाँ प्राप्त उपलब्धि रक्षा गर्दै शान्तिपूर्ण रूपमा थप अधिकारका लागि लडिरहने ‘सैद्धान्तिक सम्झौता’ (प्रिन्सिपल्ड कम्प्रोमाइज) का पक्षधर हुनुहुन्थ्यो, तर आत्मसम्मान बेचेर गरिने असैद्धान्तिक सम्झौताको विरोधी हुनुहुन्थ्यो ।

स्मृतिमा प्रदीप गिरि : उहाँको चौथो स्मृति दिवसमा सम्झिरहँदा, प्रदीप गिरि कुनै एउटा दलका नेता मात्र हुनुहुन्नथ्यो । उहाँ त अनेकौँ पुस्तकालयदेखि नेपालको संसद्को रोस्टमसम्म सीमान्तको आवाज गुन्जाउने, बिपीको प्रजातान्त्रिक समाजवादका सर्वमान्य व्याख्याता, ‘कदमजम’को ऐतिहासिक अवधारणामार्फत समावेशी राजनीतिको जग बसाल्ने र युवालाई प्रश्न गर्ने चेतना दिने कालजयी मार्गदर्शक हुनुहुन्छ । जसरी आज भारतमा अधिकार खोज्ने युवाले डा. अम्बेडकरको तस्बिर बोकेर आफ्नो अधिकार र आत्मसम्मान खोज्दै सडक–सडकमा आन्दोलन गरिरहेको देखिन्छ, त्यसैगरी नेपालमा सामाजिक न्याय, समावेशी लोकतन्त्र, पहिचान, स्वायत्तता र कदमजमका अधिकारका आन्दोलनमा प्रदीप गिरिको विचार सधैँ जीवित रहनेछ । उहाँले लेख्न नभ्याउनुभएका ती अधुरा विचारलाई अगाडि बढाउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

(डा. कुशवाहा सुशासन पाठशालाका अनुसन्धान निर्देशक हुन्)