त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सम्बन्धित डिन कार्यालयमार्फत सञ्चालन भइरहेका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
रसुवाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण उत्पन्न प्राकृतिक विपतलाई मध्यनजर गर्दै त्रिविले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
भदौ १२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले विपतका कारण परीक्षार्थीलाई आवतजावतलगायतका विषयमा पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै तत्कालका लागि सबै परीक्षा रोक्ने निर्णय गरेको जनाएको छ ।
त्रिविका निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा जारी सूचनामा स्थगित परीक्षाको संशोधित तालिका चाँडै सार्वजनिक गरिने उल्लेख छ ।
विश्वविद्यालयका अनुसार केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान र संकायअन्तर्गतका परीक्षा सञ्चालक समितिले आगामी भदौ २० गतेभित्र नयाँ परीक्षा तालिका प्रकाशित गर्नेछन् ।
त्रिविले प्राकृतिक विपतकाे अवस्थालाई ध्यानमा राखी परीक्षार्थीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर परीक्षा स्थगित गरिएको जनाएको छ ।
