प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम तीव्र पारिएको बताउँदै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रक्षाबन्धनका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपतबाट प्रभावित प्रत्येक परिवारको साथमा सरकार रहेको बताएका हुन्। उनले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक तथा सञ्चार सम्पर्क पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
प्रधानमन्त्रीका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। तीमध्ये नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा खटिएका छन्।
हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना तथा शुक्रबार गरिएको हवाई उद्धारबाट ५१७ जना रहेका छन्।
उद्धार कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकाेप्टर परिचालन गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा उद्धार उडान सञ्चालन भइरहेको र हालसम्म ९९ वटा हवाई उडान सम्पन्न भएको जनाइएको छ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि जारी छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकाेप्टरमार्फत ६ वटा उडानबाट राहत सामग्री पुर्याइएको प्रधानमन्त्रीले बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सञ्चार सेटसमेत पठाइएको छ।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि समेत विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको जनाइएको छ।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनले बताएका छन्। हेलिकाेप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको उनको भनाइ छ।
यसैबिच, भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिममाथि निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना जारी गर्नुका साथै नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना दिइएको प्रधानमन्त्रीले बताएका छन्।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको सरकारको दाबी छ। गृहमन्त्री प्रभावित जिल्लामै उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
सडक सम्पर्क पुनर्स्थापनाको कामसमेत तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याइएपछि साना चारपांग्रे सवारीसाधन चल्न थालेका छन्। काठमाडौं–मुग्लिन सडकखण्डसमेत एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ।
रसुवालाई पुनः सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपांग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ।
क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ। नियमित सडक सम्पर्क पुनर्स्थापनाका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलिब्रिज उपलब्ध गराउन औपचारिक पहलसमेत गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले विपत् प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित रहेको बताएका छन्। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने तथा सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको उनको भनाइ छ।