भोटेकोशी नदीमा पुनः बाढी बढेपछि रसुवादेखि मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति चीनतर्फबाट भोटेकोशीमा बाढी बढेको सूचना प्राप्त भएको जनाएको छ। प्रहरीले राति ८:५४ बजे सूचना जारी गर्दै नदीआसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बढ्दो बहाबले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म जोखिम सिर्जना गर्न सक्ने भन्दै मुग्लिनसम्मका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
‘त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।
नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेका व्यक्तिलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। बाढीको अवस्थाबारे थप सूचना जारी गरिने महाशाखाले जनाएको छ।