मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ५ शुक्रबार
  • Thursday, 27 August, 2026
टेकराज थामी काठमाडौं
२o८३ भदौ ५ शुक्रबार o६:२६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

११ हजार बचतकर्ताको डेढ अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमालेले बनायो मन्त्री

विनाविभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय नै लिने ‘लबिङ’मा

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ५ शुक्रबार o६:२६:oo

समस्याग्रस्त घोषणा गरिएपछि नमोबुद्धमा लगाइएको छ ताला, न्यायको पर्खाइमा बचतकर्ता

  • एमालेका तर्फबाट समानुपातिक सांसद रहेका ज्ञानबहादुर तामाङ ०७९ सम्म नेसनल नमोबुद्ध सहकारीको अध्यक्ष थिए । २९ पुस ०७९ मा भएको सहकारीको अधिवेशनबाट राजकुमार लामाको नेतृत्वमा नयाँ सञ्चालक समिति आयो । उनीहरू दुवैको कार्यकालमा झन्डै ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ । यही कारण तामाङ लामो अवधि सम्पर्कविहीनसमेत बनेका थिए ।
  • सहकारीको अध्यक्ष रहेका वेला तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट नुवाकोटको लिखु गाउँपालिका– ९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरे । सहकारीको पैसाबाट किनिएको जग्गा गैरकानुनी रूपमा नुवाकोटकै ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे ।

सहकारीका करिब ११ हजार बचतकर्ताको डेढ अर्ब हिनामिनामा संलग्न ज्ञानबहादुर तामाङलाई एमालेले बागमती प्रदेशको मन्त्री बनाएको छ । नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले उनलाई बिहीबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । सडकमा न्यायको गुहार मागिरहेका पीडितका अगाडि अब उनी झन्डावाल गाडीमा कुद्नेछन् ।

काभ्रे घर भएका तामाङ एमालेको समानुपातिक सांसद हुन् । उनी काठमाडौंको सामाखुसीमा मुख्य कार्यालय रहेको नेसनल नमोबुद्ध सहकारीको सञ्चालकमध्येका एक हुन् । लामो समय उनी त्यसको अध्यक्ष रहे । उनी र त्यसपछिका अध्यक्षको कार्यकालमा बचतकर्ताको एक अर्ब ५२ करोड हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ । यही कारण तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए ।

तामाङको सहकारीलाई प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले २८ पुस ०८१ मै समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै सहकारीको कार्यालयमा ताला लगाइएको छ । विभागीय जिम्मेवारी पाइनसकेका तामाङले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिन ‘लबिङ’ गरिरहेको स्रोतको भनाइ छ ।

२९ पुस ०७९ सम्म तामाङ नमोबुद्धको अध्यक्ष थिए । सहकारीको २२औँ अधिवेशनपछि राजकुमार लामा अध्यक्ष छन् । स्थापना भएको डेढ दशकमा सहकारीले बचतकर्ताको संख्या करिब ११ हजार पुर्‍यायो र उनीहरूबाट झन्डै दुई अर्ब रुपैयाँभन्दा धेरै बचत संकलन गर्‍यो । त्यसमध्ये डेढ अर्ब त दुरुपयोग नै भयो ।

आफूहरूले गरेको बचत हिनामिना भएको थाहा पाएपछि बचतकर्ताले सामूहिक र एकल गरेर ०८१ असोजमै प्रदेश सहकारी रजिस्टार कार्यालयमा उजुरी दिएका थिए । तर, सत्ताको आडमा लामो समय छानबिन नै गरिएन । त्यतिवेला तामाङको पार्टी एमाले सरकारमा थियो । पछि मिडियामार्फत चर्को दबाब परेपछि मात्रै प्रारम्भिक छानबिन गरेर नमोबुद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

यो सहकारीमा अहिले अध्यक्ष राजकुमार लामासँगै उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्य बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन् । तर, उनीहरू कार्यालय कम आउने गर्छन् ।

सहकारीको अध्यक्ष रहेका वेला तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट गैरकानुनी रूपमा व्यक्तिका नाममा जग्गा खरिद गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे । यसरी उनले बचतकर्तालाई मात्र होइन, सहकारी बैंकलाई पनि ठगे ।

प्रदेशको सहकारी मन्त्रालयले नमोबुद्धलाई समस्याग्रस्त घोषणा गरेलगत्तै तामाङसहितका सञ्चालकहरू निर्णय रोक्न माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनीहरूको रिट खारेज गरिदिएको थियो ।

समस्याग्रस्त घोषणा भएलगत्तै २९ पुस ०८१ मा सहकारीमा तालाबन्दी गरिएको थियो । प्रदेश सहकारी रजिस्टार कार्यालयले सहकारीबाट कम्युटरका हार्डडिक्स र अन्य कागजात जफत गरेको थियो । प्रदेशस्थित रजिस्टारको कार्यालयबाटै समस्या समाधान गर्ने वा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने सम्बन्धमा अध्ययन हुँदै गर्दा प्रक्रिया बिचमै रोकियो । जुन अहिलेसम्म अघि बढेको छैन ।

बचतकर्तालाई मात्र होइन, तामाङले सहकारी बैंकलाई समेत ठगे 
नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट गैरकानुनी रूपमा व्यक्तिका नाममा जग्गा खरिद गरे ।

तामाङसहितका सञ्चालकले सहकारीको रकमबाट नुवाकोटको लिखु गाउँपालिका– ९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । तर, सबै जग्गा नुवाकोटकै ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे ।

सुरुका केही किस्ता ऋण पनि तिर्दै गए । तर, जब सयम घर्किँदै गयो, ऋण तिर्न आलटाल गर्दै गए । बैंकले ऋण तिर्न ताकेता गर्‍यो । तर, विभिन्न बहाना देखाउँदै उनले तिर्ने भाका बदल्दै गए । केही सिप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना नै सार्बजनिक गरेको थियो ।

बैंकले जारी गरेको सूचना तामाङसहित सहकारीका वर्तमान अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्यहरू बाबुराम लोप्चन, बुद्धिबहादुर तामाङ र पेम्बा शेर्पाको नाममा थियो । तर, उनीहरूले अझै ऋण चुक्ता गरेका छैनन् । ऋण लिँदा सांसद ज्ञानबहादुर र बुद्धिबहादुर प्रमुख निर्णयकर्ता थिए । बाँकी भने जमानी मात्रै बसेका थिए ।

मुख्यमन्त्री किरण थापामगरको पहिलो निर्णय–राष्ट्रिय सदाचार नीति, २०८३ लागू गर्ने

सहकारीका बचतकर्ताको रकम हिनामिनामा मुछिएका ज्ञानबहादुर तामाङलाई मन्त्री नियुक्त गरेका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पदभार ग्रहणपछि पहिलो निर्णय भने राष्ट्रिय सदाचार नीति, २०८३ कार्यान्वयन गर्ने गरेका छन् । संघीय सरकारले हालै जारी गरेको सदाचार नीतिलाई प्रदेशमा प्रभावकारी कार्यान्वयनमा लैजाने उनको निर्णय छ । 

सदाचार नीतिको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गर्न मुख्यमन्त्री कार्यालयका शासकीय सुधार सचिव उमेश ढकालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि मुख्यमन्त्री थापाले गरेका छन् । समितिमा बैठक तथा प्रशासन सचिव रामबाबु पुरी, आन्तरिक मामिला मन्त्रालयका सचिव महेश भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव नारायण मैनाली तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी सदस्य छन् ।