सुनसरीको देवानगन्ज गाउँपालिकामा आइतबार राति भएको घटनापछि सामाजिक एकता, धार्मिक सदभाव तथा शान्ति कायम राख्न कोशी प्रदेशका मुख्यमन्त्रीदेखि मानव अधिकारवादी संघसंस्थाहरूले अपिल गरेका छन् ।
कोशीका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भिडियो र विज्ञप्तिमार्फत देवानगन्ज घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले संवेदनशील अवस्थामा संयमित रहन, अपुष्ट सूचना र अफवाह नफैलाउन तथा जाति, भाषा, धर्म र संस्कृतिबिचको आपसी विश्वास र सदभावलाई थप सुदृढ बनाउन सबैलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको जनाउँदै आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल सरकारसँग आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेका छन् ।
यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान, मानव अधिकार रक्षक सञ्जाल तथा महिला मानव अधिकार रक्षक सञ्जालसहितका संस्थाहरूले पनि घटनाबाट एक युवकको मृत्युप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अधिकारकर्मीहरूले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिइएका छन् । साथै घटनाबाट प्रभावित परिवारलाई राहत, उपचार, मनोसामाजिक सहयोग तथा कानुनी व्यवस्थाअनुसार क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् ।
सार्वजनिक शान्ति कायम गर्ने क्रममा मानव अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको पूर्ण पालना गर्न अधिकारकर्मीहरूले अधिकारकर्मीहरूलाई पनि आग्रह गरेका छन् । साथै असहमति वा माग अभिव्यक्त गर्दा पनि शान्तिपूर्ण र अहिंसात्मक माध्यम अपनाउन प्रदर्शनकारीहरूलाई आग्रह गर्दैसार्वजनिक र निजी सम्पत्तिको संरक्षण गर्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
कोशी प्रदेश सरकार र अधिकारकर्मीहरूले अपुष्ट सूचना र अफवाहको पछि नलाग्न, घटनालाई राजनीतिक वा अन्य स्वार्थका लागि प्रयोग नगर्न तथा सत्य, न्याय, जवाफदेहिता र मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्न सबै सरोकारवालालाई अपिल गरेका छन् ।
देवानगन्ज घटनापछि विभिन्न जिल्लामा देखिएको तनावलाई थप नबढाई सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न नागरिक, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सञ्चारमाध्यम र सबै तहका सरकारहरू लागिपर्नुपर्ने मानव अधिकारकर्मीहरूको जोड छ ।
घटनापछि उत्पन्न तनाव कम गरी सामाजिक र धार्मिक एकता कायम राख्न, सुनसरीको देवानगन्ज, हरिनगरा, झोक्राहा नरसिंह, इनरुवा, दुहबीलगायतका सबै पालिकासहित विभिन्न पेसागत संघसंगठनहरू र धार्मिक तथा सामाजिक संघसंस्थाहरूले अनुरोध गरेका छन् । मंगलबार धार्मिक र सामाजिक एकता कायम गर्न सुनसरीको दुहबीमा सदभाव र्याली पनि निकालिएको थियो ।
सुनसरीको देवानगन्ज गाउँपालिका– १० स्थित कप्तानगन्ज बजारमा आइतबार राति बोलबम यात्राको तयारीका लागि डिजेबाजा बजाएर नाचगान गर्ने क्रममा स्थानीय दुई समूहबिच झडप हुँदा प्रहरीले अवस्था नियन्त्रणमा लिन गोली चलाएको थियो । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए । घटनामा १४ जना प्रहरी पनि घाइते भएका थिए । घटनापछि सोमबार र मंगलबार प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएर कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि धार्मिक अतिवादको निहुँमा हिंसा भड्किँदै जान थालेको छ ।