चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको भन्दै अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई पठाएको हो ।
डा. केसीका सहयोगी अमृत जैसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गरेका छन् । डा. केसीले आफ्नो बटमलाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको उनले बताए ।
‘सचिवज्यूसँग डाक्टरसाबले मेरो बटमलाइन पाँचबुँदे माग हो, त्यो पूरा गर्ने गरी आउनोस् भन्नुभयो,’ जैसीले भने, ‘वार्ता टोलीको संयोजक भोलि आउनुहुन्छ, थप छलफल भोलिको औपचारिक वार्तामा होला ।’
सरकारका तीन प्रतिनिधिले डा. केसीसँग आइतबार औपचारिक संवाद गर्ने तयारी छ । शिक्षामन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास कोइराला धनगढी जाने सामाजिक सञ्जालबाटै जानकारी दिएका छन् । मन्त्री पोखरेलले शुक्रबार केसीका सहयोगी जैसीसँग उनका मागबारे फोनमा कुरा गरेका थिए ।
रक्तचाप र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि अस्पताल भर्ना भएका केसीलाई आइसियूमा राखिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राखेर विगतमा पनि कयौँपटक अनशन बसेका डा. केसीले अहिले पनि चिकित्सा शिक्षा आयोग र गेटा मेडिकल कलेजमा भएको नियुक्ति बदरसँगै चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, गत वर्ष २३ र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न र ०४६ देखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेका छन् ।
केसीको प्रेसर, सुगर, सोडियम र सेतो रक्तकोषिकाको मात्रा कम
सेती प्रादेशिक अस्पतालले आइसियूमा उपचाररत डा. गोविन्द केसीको स्वास्थ्यबारे शनिबार साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्तकोषिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ । ब्लड प्रेसर ९०/६० देखि ११०/७० र ब्लड सुगर ५०–६० एमजी/डिएल रहेको जनाएको छ ।
त्यस्तै, पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउँडिने, कमजोरीका कारण बोल्न र हिँडडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । केसीले सुगर बढाउने औषधि लिन अस्वीकार गरेको र चार सदस्यीय टिमले चौबिसै घण्टा सघन अनुगमन गरिरहेको अस्पतालले जनाएको छ ।
केसीको अनशनविरुद्ध प्रदर्शन
अनशन बसेका डा. केसीविरुद्ध धनगढीमा शनिबार प्रदर्शनसमेत भएको छ । दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि दबाब दिँदै आएको संघर्ष समितिको अगुवाइमा विरोध भएको हो । केसी अनशन बसेको कृष्ण मन्दिरको धर्मशालाबाहिर उनीहरूले नाराबाजी गरेका थिए । लामो समयपछि सञ्चालनमा आउन लागेको विश्वविद्यालय झमेलामा पर्ने भन्दै उनीहरू केसीको विरोधमा उत्रिएका हुन् । लगत्तै केसीको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल लगिएको थियो । स्थानीय स्तरमा केसीको विरोध मात्रै होइन, समर्थन गर्ने पनि उत्तिकै छन् ।