मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ९ शनिबार
  • Sunday, 26 July, 2026
पवन तिमिल्सिना काठमाडाैं
२o८३ श्रावण ९ शनिबार o८:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण ९ शनिबार o८:o३:oo

चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने स्पष्ट अडान लिएपछि ठुला करदाता कार्यालय आफैँले कर निर्धारण गर्ने अन्तिम तयारी थालेको छ । नेपालमा लाखौँ प्रयोगकर्ता रहेको टिकटकले डिजिटल सेवा कर (डिएसटी) बुझाउँदै आए पनि भ्याट भने तिर्न अस्वीकार गर्दै आएको छ ।

टिकटकका प्रतिनिधिसँग कर कार्यालयले पटक–पटक भ्याट बुझाउन ताकेता गर्दै आएको छ । तर, टिकटकले गुगल प्लेस्टोर र एप्पलको एपस्टोरसँग भ्याटसम्बन्धी सम्झौता भइसकेकाले आफूले छुट्टै भ्याट नतिर्ने भन्दै लिखित जवाफ पठाएको छ ।

कर प्रशासनले भने टिकटकको यो तर्कलाई कानुनी रूपमा अमान्य ठहर गरेको छ । ठुला करदाता कार्यालयका प्रमुख प्रशासक केदारनाथ शर्माका अनुसार एउटा व्यवसायीले तिर्नुपर्ने भ्याट अर्को व्यवसायीले तिरिदिने कुनै पनि कानुनी व्यवस्था नेपालमा छैन । उनले भने, ‘अब कार्यालय आफैँले टिकटकको कुल कारोबार र दायित्वको हिसाब गरेर कर निर्धारण गर्ने दिशामा अघि बढेको छ ।’ यद्यपि, यसका लागि अर्थ मन्त्रालयसँग सहमति लिने उनको भनाइ छ । उनका अनुसार टिकटक बहुराष्ट्रिय कम्पनी भएकाले यस विषयमा अर्थ मन्त्रालयसँग पनि थप छलफल गरेर कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

नेपालमा डिजिटल सेवा दिने विदेशी कम्पनीहरूलाई करको दायरामा ल्याउन सरकारले डिजिटल सेवा कर र भ्याटको व्यवस्था गरेको छ । हालसम्म नेपालको कर प्रणालीमा दर्ता भएका यस्ता बहुराष्ट्रिय कम्पनीहरूबाट प्राप्त राजस्वको तथ्यांक हेर्दा भ्याटको हिस्सा ठुलो देखिन्छ । तर, टिकटकले भने भ्याट छल्न खोजेको पाइएको कार्यालयले जनाएको छ ।

डिजिटल सेवा करमा दर्ता भएका विदेशी करदाताहरूबाट आर्थिक वर्ष ०८०/८१ मा चार करोड ८९ लाख ९५ हजार पाँच सय ६१ रुपैयाँ डिजिटल सेवा कर र ३५ करोड ८५ लाख ४४ हजार एक सय ८६ रुपैयाँ भ्याट गरी कुल ४० करोड ७५ लाख ३९ हजार सात सय ४७ रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०८१/८२ मा डिजिटल सेवा करतर्फ ६ करोड ३५ लाख ४२ हजार नौ सय ८१ रुपैयाँ र भ्याटतर्फ ३९ करोड ६६ लाख नौ हजार ३४ रुपैयाँ गरी कुल ४६ करोड एक लाख ५२ हजार १५ रुपैयाँ संकलन भएको थियो ।

गत आर्थिक वर्ष ०८२/८३ मा भने हालसम्म डिजिटल सेवा कर दाखिला भएको छैन भने भ्याटतर्फ ४४ करोड ५७ लाख ९२ हजार दुई सय ६७ रुपैयाँ दाखिला भइसकेको छ । गत आवको कुल कर रकम दाखिला गर्ने अन्तिम कानुनी समयसीमा ०८३ असोजसम्म तोकिएको छ ।

तीन आर्थिक वर्षको समग्र तथ्यांकलाई हेर्दा विदेशी डिजिटल कम्पनीहरूबाट ११ करोड २५ लाख ३८ हजार पाँच सय ४३ रुपैयाँ डिजिटल सेवा कर र एक अर्ब २० करोड नौ लाख ४५ हजार चार सय ८८ रुपैयाँ भ्याट गरी कुल एक अर्ब ३१ करोड ३४ लाख ८४ हजार तीन सय ३१ रुपैयाँ राजस्व दाखिला भइसकेको छ ।

अन्य विदेशी कम्पनीहरूले नेपालको नियमअनुसार भ्याट बुझाइरहँदा टिकटकले भने प्राविधिक बहाना बनाएर भ्याट नतिर्ने अडान लिएपछि कर प्रशासनले कानुनी कारबाही अघि बढाउने रणनीति बनाएको हो ।