मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ९ शनिबार
  • Sunday, 26 July, 2026
२o८३ श्रावण ९ शनिबार १२:o८:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानले भरिएको २३औँ फिफा विश्वकप

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण ९ शनिबार १२:o८:oo

अमेरिका, क्यानडा र मेक्सिकोले पहिलोपटक संयुक्त रूपमा विश्वकप आयोजना गर्दा स्पेन विश्व च्याम्पियन बन्यो । यसपटक पनि विश्वकपले नयाँ विजेता पाउन सकेन । ३९ दिनमा १०४ खेल सञ्चालन हुँदा खेलाडीहरूले आआफ्नो नाममा रेकर्ड बनाए । कोही खेलाडी विश्वकपबाट छिट्टै बाहिरिँदा पनि रेकर्ड बनाउन सफल भए भने कसैले फाइनल खेल्दै रेकर्ड राखे । यसपटक धेरै पुराना रेकर्ड पनि तोडिए । आयोजकका रूपमा विश्वकप अहिलेसम्मकै महँगो मानिए पनि फिफाले यसबाट राम्रो आम्दानी गर्‍यो । समग्रमा २३औँ विश्वकप यस्तो रह्यो ।

फिफाको आम्दानी
विश्वकप आयोजनाले फुटबलको सर्वोच्च निकाय फिफाले नसोचेको आम्दानी गर्‍यो । फिफाले आर्थिक रूपमा सफल विश्वकप भएको जनाएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजित २३औँ संस्करणको विश्वकपमा आर्थिक पक्षमा नयाँ इतिहास रचेको उनीहरूले जनाएका छन् । यसअघि अमेरिका भ्रमण महँगो पर्न सक्ने जनाइएको थियो । जसका कारण फिफाले विश्वकपमा सोचेजस्तो आम्दानी गर्न नसक्ने अनुमान थियो । तर, विश्वकपको समाप्तिपछि फिफाले १५ अर्ब अमेरिकी डलर कमाएको एजेन्सीहरूले जनाएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि आफूहरूको आम्दानी १५ अर्ब अमेरिकी डलर नाघेको बताएका छन् । विश्वकपमा ४८ टोली र खेल संख्या १०४ हुँदा आम्दानी भएको हो । 

फिफामा दुई सय ११ देशका समर्थकले ५० करोडभन्दा बढी टिकटको माग राखेका थिए । यसपटक समूह चरणको टिकट ५७५ अमेरिकी डलरबाट सुरु भएको थियो । समूह चरण खेल अन्तिम चरणमा पुग्दा एक हजार डलरभन्दा माथि पुगेको थियो । यसैगरी, स्पेन र अर्जेन्टिनाबिच भएको फाइनलको टिकट औसत १२ हजार सात सय ५१ अमेरिकी डलर पुगेको थियो । फिफाले फाइनलको विशेष टिकटको मूल्य २३ लाख डलरसम्म राखेको थियो । फोर्डहम विश्वविद्यालयका प्राध्यापक मार्क कोनराडले टोली र खेल संख्या बढ्दा फिफाको टेलिभिजन सम्झौता र विज्ञापनबाट आम्दानी गरेको बताए । 

फेरि चल्यो टिकीटाका
स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जित्दा टिकीटाका शैली पूर्ण रूपमा अपनाएको थियो । सन् २०१० मा स्पेनका प्रशिक्षक भिजेन्ट डेलबोस्कीले यस शैलीको सुरुवात गरेका थिए । डेलबोस्कीकै रणनीतिअनुसार स्पेन अपराजित रहँदै विश्व च्याम्पियन बन्यो । यो टिकीटाका शैली भनेको मैदानमा बल नियन्त्रण गरी विपक्षीमाथि हाबी हुने हो । सकेसम्म विपक्षी खेलाडीलाई मैदानमा बल छुन नदिएर आफूतर्फ नै बल पोसेसन पकड बनाउने हो । अन्तर्राष्ट्रिय मिडियाहरूले टिकीटाका शैलीअन्तर्गत डिफेन्सलाई ‘एनोकोन्डा’ पकड बताएका थिए । 

विश्वकपमा स्पेनले एक खेलमा मात्र गोल व्यहोरेको थियो । विशेषगरी सेमिफाइनलमा त्यसवेलासम्म प्रतियोगितामा सर्वाधिक बलियो आक्रामक मानिएको फ्रान्सविरुद्ध स्पेनले एक पक्षीय खेल देखाएको थियो । फ्रान्सको मिडदेखि फिनिसिङ लाइनका उत्कृष्ट खेलाडीलाई स्पेनले आफ्नो डिबक्समा चल्नै दिएन । उपाधि दाबेदारमा एक नम्बर स्थान पाएको फ्रान्सले स्पेनविरुद्ध प्रतियोगिताकै कमजोर प्रदर्शन गर्‍यो । 

त्यसपछि फाइनलमा साबिक विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई स्पेनले चल्न अवसर दिएन । स्पेनले फाइनल पनि टिकीटाका शैलीमै आफ्नो पक्षमा राखेर दोस्रोपटक विश्वकप जित्यो । 

समग्र विश्वकपकै सर्वाधिक गोलकर्ता एम्बाप्पे
फ्रान्सका कप्तान केलियन एम्बाप्पेले टोलीलाई विश्वकप उपाधि दिलाउन नसके पनि व्यक्तिगत कीर्तिमान कायम गर्न सफल भए । उनले एउटै विश्वकपमा सर्वाधिक १० गोल गरी लगातार दोस्रोपटक गोल्डेन बुट पाए । यो उपलब्धि हात पार्ने उनी विश्वकपकै पहिलो खेलाडी हुन् । यसैगरी, उनले तीनवटा विश्वकप यात्रामा सर्वाधिक २२ गोल पूरा गरे । उनले यो मेसीको नाममा रहेको २१ गोलको रेकर्ड तोडेका थिए । इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा एम्बाप्पेले दुई गोल गर्दै एकै विश्वकपमा १० गोल र समग्रमा २२ गोल संख्या पुर्‍याउन सफल भए । २३औँ संस्करणको विश्वकपमा एउटा रमाइलो पक्ष भनेको मेसीले जर्मनी खेलाडी मिरोस्लाभ क्लोजको नाममा रहेको १६ सर्वाधिक गोलको रेकर्ड तोडेका थिए । मेसीले क्लोजको रेकर्ड भंग गर्न ६ विश्वकप यात्रा गरे । मेसीको रेकर्ड तोड्न एम्बाप्पेले केवल तीन विश्वकपमा पूरा गरे । 

मेसी र ओलिसेका नाममा कीर्तिमान
लगातार दोस्रोपटक विश्वकप जित्ने अवसर गुमाएका अर्जेन्टिनी कप्तान मेसीले २३औँ विश्वकपमा तीन कीर्तिमान बनाए । मेसी समग्र विश्वकपमा २३ खेल जित्ने खेलाडी बने । यसैगरी, विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने कीर्तिमान पनि उनले रचे । मेसीले जस्ट फन्टेन र जाइरजिन्होको नाममा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान भंग गरेका थिए । मेसीले सेमिफाइनलमा इंग्ल्यान्ड र फाइनलमा स्पेनविरुद्ध गोल गर्न सकेनन् । यसबाहेक उनले अन्य खेलमा गोल गरेका थिए । उनले समूह चरणमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । 

मेसी विश्वकपमा डिबक्सबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट सात गोल गरेका थिए । मेसीबाहेक फ्रान्सका माइकल ओलिसेले प्रतियोगिताभर ७ असिस्टको रेकर्ड बनाए । एउटै विश्वकपमा सर्वाधिक असिस्ट गर्ने सूचीमा उनी शीर्ष स्थानमा रहे । यसअघि सन् १९७० मा ब्राजिलका पेलेले ६ असिस्ट गरेका थिए । ओलिसेका ७ मध्ये ५ असिस्टमा एम्बाप्पेले गोल गरेका थिए । 

रोनाल्डोले गरे लगातार ६ विश्वकपमा गोल
विश्वकपको प्रिक्वार्टरफाइनलमा स्पेनबाट २–१ ले पराजित भएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो नाममा रेकर्ड बनाए । उनी लगतार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । यो विधामा उनले मेसीलाई समेत पछि पारे । प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले आफ्नो अन्तिम विश्वकप यात्रा सुखद बनाउन सकेनन् । विश्वकपमा पोर्चुगलबाट धेरै गोल गर्ने रोनाल्डो नै हुन् । 

यसैगरी, विश्वकपमा ७८ वर्षका प्रशिक्षक कुरासाओका डिक एड्भोकाटले पनि इतिहास रचे । ७८ वर्ष दुई सय ७१ दिनको उमेरमा विश्वकपमा टोली सम्हाल्ने उनी इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बने । फ्रान्सका प्रशिक्षक डिडिएर डेसचाम्प्सले विश्वकपमा प्रशिक्षकका रूपमा २६ खेल पूरा गर्दै जर्मनीका हेल्मुट सोनलाई पछि पारे । उनी विश्वकपमा सबैभन्दा धेरै जित निकाल्ने प्रशिक्षक पनि बने ।

स्टार खेलाडीहरूको लास्ट डान्स
२३औँ संस्करणमा नाम चलेका खेलाडीहरूले यात्रा सुखद बनाउन सकेनन् । यसमा पहिलो नाम नै पोर्चुगलका रोनाल्डोको आउँछ । लगातार ६ विश्वकप खेलेका रोनाल्डोले २३औँ संस्करण नै अन्तिम बताएका थिए । उनले कम्तीमा पोर्चुगललाई एकपटक विश्वकप उपाधि दिलाउने विश्वास दिएका थिए । तर, पोर्चुगल टोलीमा खेलाडीबिच आपसी सम्बन्ध राम्रो नहुँदा पोर्चुगलको यात्रा राउन्ड अफ ३२ सम्म मात्र रह्यो । 

यसैगरी, ब्राजिलका सिनियर खेलाडी नेमार जुनियरले पनि आफ्नो अन्तिम विश्वकप खेले । प्रशिक्षक कार्लोस एन्सेलोट्टीले उनलाई विवादास्पद रूपमा टोलीमा राखेका थिए । सुरुवाती खेलमा उनले बेन्चबाट प्रतिस्पर्धा गरे । विश्वकपमा उनले एक गोल भने गरेका थिए । यसैगरी, क्रोएसियाका लुका मोड्रिचले पनि अन्तिमपटक विश्वकप खेले । सन् २०१८ को संस्करणमा क्रोएसियाले दोस्रो स्थान रक्षा गर्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।