बर्दियामा विश्वकै सबैभन्दा सानो जंगली बिरालोको संरक्षणका लागि स्थानीय युवाहरूले पहल थालेका छन्। ठाकुरबाबा नगरपालिका–९, खुशालपुरका स्थानीयले विश्वकै सबैभन्दा सानो जंगली बिरालोको संरक्षणका लागि स्थानीय युवाहरूले पहल थालेका हुन् ।
समुदायलाई संरक्षणसँग जोड्ने उद्देश्यले एकदिने आधारभूत प्राङ्गारिक (अर्गानिक) कृषि तालिम सञ्चालन गरिएको छ। तालिममा विषादीरहित तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।
कार्यक्रम वन्यजन्तु संरक्षण कोष, मंगोलिया–बर्जर–जुलोजिकल संरक्षण कोष र खैरो धर्के बिरालो कार्यसमूहको सहकार्यमा आयोजना गरिएको स्थानीय अभियन्ता रामजन चौधरी ‘राजन’ले जानकारी दिए।
उनले भने, समुदायलाई आत्मनिर्भर बनाउँदै वनमाथिको निर्भरता घटाउने र संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले १४ जना स्थानीयलाई तालिम दिइएको हो।
पशु चिकित्सक आशिष चौधरीले घर–घरमा करेसाबारी विकास गर्न सके वनमा जाने मानिसको चाप घट्ने बताए। यसले वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित रहनुका साथै वन डढेलोको जोखिम पनि कम हुने उनको भनाइ रहेको छ । उनले भने, "तालिममा सहभागीलाई करेसाबारी निर्माणका व्यावहारिक विधि सिकाउनुका साथै वन्यजन्तुको संरक्षण, अवैध सिकार नियन्त्रण तथा स्थानीय समुदायको भूमिकाबारे जानकारी गराइएको थियो। स्थानीयको सक्रिय सहयोग रहेमा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा समेत सकारात्मक योगदान पुग्नेछ।"
रामजन चौधरी 'राजन'का अनुसार वि.सं. २०६९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा रस्टी–स्पटेड क्याट पहिलो पटक फोटोसहित अभिलेखीकरण गरिएको थियो। तालिम सञ्चालन भएको खुशालपुर क्षेत्र दुर्लभ बिरालो पाइने बासस्थान नजिकै पर्ने भएकाले स्थानीय समुदाय यसको संरक्षणका महत्वपूर्ण साझेदार भएको चौधरीले जानकारी दिए ।
उनले भने, विश्वमा बाघ र चितुवाजस्ता ठूला बिरालोबाहेक करिब ३६ प्रजातिका साना जंगली बिरालो पाइन्छन्। तीमध्ये रस्टी–स्पटेड क्याट प्राकृतिक रूपमा नेपाल, भारत र श्रीलंकामा मात्र पाइने दुर्लभ प्रजाति हो। विश्वव्यापी रूपमा जैविक विविधता संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्नु अझ चुनौतीपूर्ण मानिन्छ। जैविक विविधताको संरक्षणमार्फत स्वच्छ, सुरक्षित र स्वस्थ वातावरण निर्माण गर्न विश्व समुदाय प्रतिबद्ध रहेको जनाइएको छ। MBZSCF ले विश्वका १७४ देशमा दुर्लभ तथा संकटापन्न प्रजातिको संरक्षणमा सहयोग गर्दै आएको छ।