मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १० आइतबार o५:५३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कमजोरलाई सघाऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार o५:५३:oo

धेरै वर्षअघि सहरमा एक भव्य होटेल थियो । होटेल मालिक निकै दयालु र सज्जन थिए । होटेलबाट राम्रै आम्दानी भइरहेको थियो । उनको जीवन सुखमा बितिरहेको थियो । तर, परिवारमा भने उनको कोही थिएन । मातापिताको मृत्यु भइसकेको थियो । विवाह पनि भएको थिएन र अन्य आफन्तजन पनि खासै थिएनन् । 

होटेल मालिकको एक विशेषता थियो । उनी आफ्नो होटेलमा आइपुग्ने कुनै पनि फरक क्षमतायुक्त मानिसलाई निःशुल्क पेटभरि मिठो खाना खुवाएर पठाउँथे । उनको यो कार्य निरन्तर वर्षौंसम्म चलिरह्यो । उनी हरेक बिहान होटेलनजिकैको एउटा चौरमा पुगेर चराचुरुंगीलाई दाना पनि दिने गर्थे । उनको यो कार्य पनि वर्षौंदेखि निरन्तर चलिरहेको थियो । एक दिन उनका एक मित्रले होटेल मालिकसित प्रश्न गरे– मित्र, तपाईं हरेक दिन होटेलमा आइपुग्ने फरक क्षमताका मानिसलाई निःशुल्क भोजन गराउनुहुन्छ । निःशुल्क खाना पाइने भएपछि त्यस्ता मानिसको संख्या पनि होटेलमा बढ्दै गएको छ । यसबाट त तपार्इंलाई निकै ठुलो घाटा लाग्न सक्छ । कतिन्जेल यसरी धान्नुहुन्छ ? 

मित्रको जिज्ञासा सुनेर होटेल मालिकले गम्भीर हुँदै भने– मित्र, म हरेक दिन चराचुरुंगीलाई दाना दिन जाँदा त्यहाँ कुनै विकलांग पक्षीको आहारा अर्को कुनै सबल पक्षीले खोसेर खाएको देखेको छैन । सबैले कमजोरलाई सघाइरहेका हुन्छन् । जब चराचुरुंगीले त यसरी कमजोरलाई खान सघाउँछन् भने हामी मान्छे भएर यत्ति पनि नगर्नु त ? हेर्दै जाउmँ, जहिलेसम्म सकिन्छ, त्यतिन्जेल त यसलाई निरन्तरता दिनैपर्छ । फेरि, मेरो मनले पनि यही कर्मबाट अपार शान्ति महसुस गर्छ भने म किन नाफाघाटाको हिसाबकिताब गरिरहूँ ?