नेकपा संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट देखिएको भन्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र पुनर्जीवित गर्नुको विकल्प नरहेको बताएका छन् ।
शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थितिले कम्युनिस्ट शक्तिहरूलाई नयाँ ढंगले एकजुट हुन बाध्य बनाएको बताए ।
‘राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ । कम्युनिस्ट आन्दोलनले असाधारण चुनौतीको सामना गरिरहेको छ । देशमा देखापरेको निरंकुश प्रवृत्तिविरुद्ध फेरि एकपटक दृढ संकल्पका साथ संघर्ष गर्नुपर्ने समय आएको छ । त्यसका लागि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुको विकल्प छैन,’ प्रचण्डले भने ।
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ तथा नरबहादुर कर्माचार्यलगायत अग्रज नेताहरूको योगदान स्मरण गर्दै उनीहरूले देखाएको मार्गमा अघि बढ्दै आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा उनले जोड दिए ।
‘कम्युनिस्ट आन्दोलनले धक्का खाइरहेको वेला अग्रजहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनलाई पुनर्जीवित गर्ने, एकताबद्ध गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्छ । स्मृति दिवस औपचारिक कार्यक्रममा मात्र सीमित नभई नयाँ अठोट र प्रतिबद्धता व्यक्त गर्ने अवसर बन्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि कम्युनिस्ट आन्दोलनले भोगेका चुनौतीबाट शिक्षा लिएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।