पाँचबुँदे मागसहित अनशनमा बसेका डा. गोविन्द केसीविरुद्ध धनगढीमा प्रदर्शन भएको छ। सहिद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि दबाब दिँदै आएको संघर्ष समितिको अगुवाइमा केसी अनशन बसेको कृष्ण मन्दिरको धर्मशालाबाहिर प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले डा. केसीलाई फिर्ता हुन माग गर्दै नाराबाजी गरेका छन्। डा. केसी तीन दिनदेखि धर्मशालामा अनशन बसेका छन्। प्रदर्शनपछि धर्मशालाबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
डा. केसीले गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी स्वार्थमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गरेका छन्। संघर्ष समितिले भने लामो समयको प्रतीक्षापछि सञ्चालन हुन लागेको विश्वविद्यालय डा. केसीका मागले सञ्चालन धकेलिने भन्दै विरोध गरिरहेका छन्। विश्वविद्यालय सञ्चालन धकेलिने भन्दै डा. केसीको अनशनलाई लिएर स्थानीयस्तरमा विरोध भइरहेको छ। धर्मशालामा अनशन बस्न दिएको भन्दै विरोध भएपछि धर्मशाला व्यवस्थापन समितिले शुक्रबार डा. केसीलाई धर्मशालामा अनशन नबस्न आग्रह गरेको थियो।
डा. केसीले स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने माग गरेका छन्।
केसीले सार्वजनिक गरेका पाँचबुँदे मागमा गत वर्ष भदौ २३ र २३ गते जेन–जी आन्दोलनका क्रममा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न र ०४६ सालदेखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उल्लेख छ।
डा. केसी अस्पताल भर्ना
धनगढीमा अनशनरत डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। तीन दिनदेखि अनशनरत उनको स्वास्थ्य अवस्था बिग्रन थालेपछि चिकित्सकको सुझावअनुसार अस्पताल भर्ना गरिएको डा. केसीका सहयोगीले बताएका छन्। सेती प्रादेशिक अस्पतालका डा. गजेन्द्र दुवालले आज बिहान डा. केसीको स्वास्थ्य परीक्षण गरेका थिए। चिकित्सकका अनुसार डा. केसीको शरीरमा गुल्कोजको मात्र न्यून देखिएको छ।