विगत केही दिनदेखि सुन र चाँदीको मूल्यमा उछाल आएको छ । विगत एक वर्षमा ठूलो वृद्धि भई कीर्तिमानी उचाइमा पुगेपछि शुक्रबार, सोमबार र बिहीबार बहुमूल्य धातुहरूको मूल्यमा तीव्र गिरावट आएको छ ।
मंगलवार मूल्यमा केही हदसम्म सुधार भए पनि यसअघि चढेको शिखरभन्दा धेरै तल रह्यो । हालैको मूल्य परिवर्तनबारे तपाईंले जान्नुपर्ने केही पक्ष यहाँ प्रस्तुत गरिएको छ ।
एक वर्षमा सुन र चाँदीको मूल्य किन यति बढ्यो ?
बहुमूल्य धातुलाई लगानीकर्ताले आफ्नो मूल्य कायम राख्ने प्रवृत्तिका लागि मूल्यवान् ठान्छन् । ऐतिहासिक रूपमा आर्थिक अनिश्चितता र भूराजनीतिक उथलपुथलको समयमा यी धातुले खरिदकर्तालाई आकर्षित गरेका छन् ।
आफ्नो अप्रत्याशित कार्यका लागि प्रख्याति कमाएका नेता डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फिर्ता हुनु गत वर्ष सुनमा अस्थिरता बढाउने एउटा कारक बनेको छ । शुल्क वृद्धिदेखि देशको केन्द्रीय बैंक फेडरल रिजर्भको स्वतन्त्रतामा समेत उनको दबाब र ग्रिनल्यान्डजस्तो स्वायत्त राज्य कब्जा गर्ने धम्कीले बजारमा अशान्ति फैलाएको छ ।
ट्रम्पको परम्परागत शासन व्यवस्थाले अमेरिकी डलरलाई कमजोर बनाएको छ, जसले गर्दा लगानीकर्तालाई आफ्नो मूल्य कायम राख्ने ‘सुरक्षित आश्रय’ खोज्न थप प्रोत्साहित गरेको छ र सुनमा लगानी गर्न उत्प्रेरित गरेको छ ।
गत वर्ष ह्वाइटहाउसमा ट्रम्पको फिर्ती र जनवरी २०२६ को अन्त्यबिच सुनको मूल्य लगभग दोब्बर भयो, जबकि चाँदीको मूल्य लगभग चार गुणा बढ्यो । बहुमूल्य धातुको बढ्दो मूल्यले वर्षौंको उच्च मुद्रास्फीति र बढ्दो राष्ट्रिय ऋणपछि विश्वव्यापी आर्थिक प्रणालीमा विश्वासको गहिरो संकटलाई प्रतिबिम्बित गरेको विश्लेषकको तर्क छ ।
अमेरिकी राष्ट्रिय ऋण बढेर ३८ ट्रिलियन डलर पुगेको छ, जुन विश्वमै सबैभन्दा उच्च हो । यद्यपि, जापान र इटलीलगायत धेरै प्रमुख अर्थतन्त्रमा उनीहरूको जिडिपीको प्रतिशतका रूपमा ऋणको स्तर उच्च छ ।
‘यस्तो संसार, जहाँ लगभग हरेक वित्तीय गतिविधिमा राज्य, केन्द्रीय बैंक, मध्यस्थकर्ता जोखिममा छन्, त्यस्तो अवस्थामा सुन निर्विकल्प एक मात्र सम्पत्ति बनेको छ । यसले कुनै वाचा गर्दैन, ब्याज तिर्दैन र राजनीतिक निर्णयमा निर्भर गर्दैन । यो केवल अस्तित्वमा छ । र, त्यसैले यो सुरक्षित माध्यम बनेको छ,’ ‘प्लेनिस्फर इन्भेस्टमेन्ट’का ‘पोर्टफोलियो’ रणनीति प्रमुख डिएगो फ्रान्जिन भन्छन् । माग बढाउने अर्को कारक चीन र टर्कीलगायत उदीयमान अर्थतन्त्रमा केन्द्रीय बैंकले गरेको खरिद हो । ती देशले डलरमा आफ्नो निर्भरता कम गर्न खोजिरहेका छन् ।
बिहीबार, सुन लगभग पाँच हजार ५९५ डलर प्रतिऔँसको कीर्तिमानी शिखरमा पुग्यो, जबकि चाँदी लगभग १२२ डलरमा पुग्यो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो । शुक्रबार सुन र चाँदीको मूल्य क्रमश: लगभग १० प्रतिशत र २८ प्रतिशतले घटेपछि तीव्र गतिमा वृद्धि अचानक रोकियो । सोमबार पनि यो गिरावट जारी रह्यो, दिनको अन्त्यमा सुन लगभग ४.५ प्रतिशतले घट्यो र चाँदी लगभग ६.५ प्रतिशतले घट्यो । मंगलबार, यी बहुमूल्य धातुले आफ्नो केही लाभ फिर्ता लिए, किनकि सुन लगभग ३.५ प्रतिशतले र चाँदी करिब ४.५ प्रतिशतले बढ्यो ।
उचाइमा पुगेर किन घट्यो सुनचाँदीको मूल्य ?
विश्लेषकहरू गिरावटका कारणमा एकमत छैनन् । कतिपयले मूल्यवृद्धिमा ट्रम्पलाई जिम्मेवार ठानेको सुझाव दिएका छन् । शुक्रबार ट्रम्पले केभिन वार्सलाई केन्द्रीय बैंक फेडरल रिजर्भको नेतृत्वका लागि मनोनयन गर्ने घोषणा गरे, जसलाई उनको सूचीमा रहेका अन्य प्रतिस्पर्धीको दाँजोमा तुलनात्मक रूपमा परम्परागत रूपमा हेरिएको थियो । फेडको सात सदस्यीय गभर्नर बोर्डका पूर्वसदस्य वार्सको छनोटलाई लगानीकर्ताले स्वागत गरेका थिए । उनीहरू ट्रम्पले मुद्रास्फीति जोखिमलाई ध्यान नदिई ब्याजदर घटाउने अन्य सहयोगीलाई छनोट पो गर्छन् कि भन्ने त्रासमा थिए । अमेरिकी राष्ट्रपतिले निवर्तमान फेड प्रमुख जेरोम पावेललाई दर घटाउन दबाब दिइरहेका छन् । ट्रम्पले शुक्रबार मध्यपूर्वी देशविरुद्ध सैन्य कारबाहीको हप्तौँको धम्कीपछि इरानसँग सम्झौता हुने आशा व्यक्त गरेका थिए ।
केही विश्लेषकले सुझाव दिएका छन् कि आर्थिक अवस्था स्थिर हुने सम्भावना र डलरको मूल्य बढ्दै जाँदा लगानीकर्ताले बहुमूल्य धातु बेच्न थाले । यद्यपि, धेरै विश्लेषकले त्यो व्याख्यामा शंका व्यक्त गरेका छन् । धेरै विश्लेषकले सुझाव दिएका छन् कि थप स्थिर आर्थिक अवस्था र बढ्दो डलरको सम्भावनाले लगानीकर्तालाई बहुमूल्य धातु बेच्न प्रेरित गरेको छ ।
अब सुन र चाँदीको मूल्यमा के हुनेछ ?
यद्यपि बजारको भविष्यवाणी गर्नु मूर्खता हो, तर केही विश्लेषकले दीर्घकालीन अवधिमा बहुमूल्य धातुको मूल्य बढ्दै गएको देख्छन् । आइतबारको एक नोटमा जेपी मोर्गन विश्लेषकले २०२६ को अन्त्यसम्ममा सुनको मूल्य प्रतिऔँस ६ हजार ३०० डलर पुग्ने अपेक्षा गरिएको बताएका छन्, जुन हालको मूल्यबाट ३० प्रतिशतले वृद्धि हो । ‘सुन एक गतिशील, बहुआयामिक धातु हो । लगानीकर्ताको माग हाम्रो अघिल्लो अपेक्षाभन्दा बलियो हुँदै गएको छ,’ ग्रेगरी सियरर, जेसन हन्टर, अली इब्राहिम र अनन्याश्री गुप्ताले उक्त नोटमा बताएका छन् ।
(पावर अलजजिराका स्तम्भकार हुन्)
अलजजिराबाट