
लामो समयदेखि उद्योग व्यवसायमा संलग्न अग्रवाल परिवारका सदस्य स्व. प्रह्लादकुमार अग्रवालको जीवनीमा आधारित ‘सरलताका आदर्श स्वर्गीय प्रह्लादकुमार अग्रवाल’ नामक पुस्तक बिहीबार विमोचन गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वगृहमन्त्री बालकृष्ण खाण, स्व. अग्रवालका छोरासमेत रहेका युवा उद्योगी राजेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले उद्योगपति तथा समाजसेवी स्व. प्रह्लादकुमारको स्मृतिग्रन्थ व्यवसायीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । ‘बुबा र हजुरबुबाले थालनी गरेका कार्यलाई अझ विकसित रूपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु,’ उनले भने ।
भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उनको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताए । उनले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गरे ।
अत्यन्तै सरल र सहयोगी भावका भैरहवाका उद्यमी व्यवसायी प्रह्लादकुमारको ०६१ भदौ ४ गते हृदयाघातबाट मृत्यु भएको थियो । उक्त दिन बाल दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै गरेको अवस्थामा हृदयघात भएको थियो । ५४ वर्षको उमेरमै प्रह्लादले जीवन गुमाउनु राष्ट्रकै लागि क्षति भएको मुख्यमन्त्री आचार्यले बताए ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणले स्व. अग्रवाल जीवनको छोटो कार्यकालमै सामाजिक क्षेत्रमा समेत महत्त्वपूर्ण कार्यसम्पादन गर्न सफल व्यक्तित्व भएको बताए । भैरहवाको अग्रवाल घराना परिवारले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्याएको भन्दै खाणले स्व. अग्रवालबारे तयार पारिएको पुस्तक अग्रवाल परिवारका लागि मात्रै नभएर नेपालको सामाजिक र आर्थिक क्षेत्रमा दस्ताबेजका रूपमा रहने जनाए ।
लुम्बिनीका खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले स्व. अग्रवालले भैरहवा क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा देखाएको योगदान अविस्मरणीय रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले सामाजिक व्यक्तित्व, इमानदारिता र सहयोगीको अर्को नाम स्व. प्रह्लादकुमार भएको बताए ।
प्रह्लादका छोरा राजेशले बुबाले देखाएको बाटोलाई पछ्याउँदै अघि बढेको बताए । ‘बुबाले समाज र देशप्रति देखाउनुभएको भावनालाई यस पुस्तकमा समेट्ने प्रयास गरिएको छ,’ राजेशले भने, ‘बुबाकै सामाजिक कार्यको स्मरण र देखाउनुभएको पदचापलाई पछ्याउँदै हामी यहाँसम्म आइपुगेका छौँ ।’ बुबाको इज्जत र विश्वासलाई कायम राख्दै आगामी दिनमा आफ्नौ व्यावसायिक तथा सामाजिक यात्रा अझ जिम्मेवारीबोधका साथ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्व. अग्रवालका भाइ बृजेशकुमार अग्रवालले दाजु प्रह्लादसँग कुनै पनि कुरामा हुँदैन वा ‘नो’ भन्ने शब्द नै नरहेको र सहयोगको अपेक्षा गरेर आउने जो–कोहीलाई पनि खाली हात नफर्काउने गरेको बताए ।
स्व. अग्रवालकी छोराबुहारी बेनु अग्रवालले बुहारीलाई छोरीकै रूपमा मानेर समान व्यवहार गर्ने र समाजप्रतिको आफ्नो दायित्वमा कहिल्यै पछि नहट्ने समर्पित व्यक्तित्व भएको बताइन् ।
पुस्तकमा दुई दशकअघि देहवसान भएका स्वर्गीय प्रह्लादकुमारको व्यक्तित्व, जीवनी, उद्योग–व्यापारका क्षेत्रमा गरेका प्रयास तथा सामाजिक योगदानलगायत विषय समेटिएको छ ।