मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ६ शुक्रबार २२:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

महिला प्रहरीद्वारा नेतृत्वदायी भूमिकामा संगठनबाट समान पहुँचको अपेक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार २२:५४:oo

नेपाल प्रहरीका महिला प्रहरी कर्मचारीले नेतृत्वदायी भूमिकामा संगठनबाट समान पहुँचको अपेक्षा गरेका छन् । प्राप्त भूमिका गुनासोरहित किसिमले निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहीबारदेखि सुरु भएको पहिलो महिला प्रहरी सम्मेलनमा सातबुँदे घोषणापत्र जारी गर्दै उनीहरूले यस्तो अपेक्षा राखेका हुन् । महिला प्रहरी कर्मचारीहरूलाई व्यावसायिक तथा व्यक्तिगत जीवनबिच सामान्जस्यता र सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने किसिमका नीतिगत सुधार गरी सोको कार्यान्वयनका लागि संस्थागत पहल गर्ने आवश्यकतासमेत उनीहरूले औँल्याएका छन् । 

शुक्रबार समापन भएको सम्मेलनको यस्ता छन् सातबुँदे घोषणापत्र

१. महिला प्रहरी कर्मचारीहरू आफ्नो पद र दर्जाअनुसार सेवाप्रति दृढ, उत्तरदायी र सशक्त रूपमा प्रस्तुत हुनेछाैँ। संगठनबाट प्राप्त उत्प्रेरणायुक्त वातावरणबाट अझै सबल सोच, सकारात्मक दृष्टिकोण तथा आत्मविश्वास प्राप्त गरी उच्च व्यावसायिकता प्रदर्शन गर्नेछौँ। 

सेवाप्रतिको दायित्वलाई अझै उत्प्रेरणायुक्त बनाउन संस्थागत पहललाई थप प्राथमिकताका साथ प्रवर्द्धन गर्न संगठनबाट अपेक्षा गर्दछौँ । 

२. नेपाल प्रहरी लैंगिक नीति २०८१ को पूर्ण र प्रभावकारी रूपमा कार्यान्वायनको सुनिश्चित गर्न प्रहरी संगठनभित्र सबै तहका प्रहरीको जिम्मेवारी स्पष्ट गर्दै आवश्यक समन्वय, अनुगमन र मूल्यांकन प्रणालीलाई सुदृढ पारिनेछ भन्नेमा विश्वास व्यक्त गर्दछौँ । 

३. विशेषतः लैंगिक हिंसा, यौन हिंसा र महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको प्रभावकारी नियन्त्रण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा खटिने प्रहरीहरूमा महिला प्रहरीकै नेतृत्वसहितको समूहको अपरिहार्यता महसुस गर्दै सोका लागि महिला प्रहरीको संख्यात्मक र गुणात्मक वृद्धिको निमित्त आवश्यक प्रबन्ध गरिनुपर्ने सुझाव प्रस्तुत गर्दछौँ । 

४. महिला प्रहरीका लागि सुरक्षित र मैत्रीपूर्ण कार्यस्थल सुनिश्चित गर्न लैंगिक संवेदनशीलतासम्बन्धी सचेतना अभिवृद्धि गर्दै कुनै पनि प्रकारको दुर्व्यवहारविरुद्ध आफैँ पनि शून्य सहनशील रहने एवं संगठनको शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने कुरामा हामी पूर्ण विश्वास राख्दछौँ । एवं व्यावसायिक निपुणतालाई अझ प्रभावकारी बनाउन लैंगिकमैत्री संरचना तथा भौतिक पूर्वाधारहरू शिशु स्याहार केन्द्र, स्तनपान कक्ष, चेन्जिङ रुम आदिको निर्माणमा बढोत्तरी गर्दै लैजानका लागि हार्दिक अनुरोधसमेत गर्दछौँ । 

५. महिला प्रहरीको शारीरिक, मनोसामाजिक तथा प्रजनन स्वास्थ्यलाई मध्यनजर गरी नेपाल प्रहरी अस्पतालबाट आवश्यक स्वास्थ्य सेवा, परामर्श र सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै महिला प्रहरीहरूलाई वित्तीय रूपमा साक्षर तुल्याउन कल्याणकारी योजनाहरूमा थप पहुँच विस्तार गर्नुपर्ने आवश्यक महसुस गर्दछौँ । 

६. महिला प्रहरी कर्मचारीहरूलाई व्यावसायिक तथा व्यक्तिगत जीवनबिच सामान्जस्यता र सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने किसिमका नीतिगत सुधार गरी सोको कार्यान्वयनका लागि संस्थागत पहल गर्ने आवश्यकता महसुस गर्दछौँ । 

७. महिला प्रहरीको व्यावसायिक क्षमता विकासका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ सबै किसिमका मिसनमा सहभागिताको वृद्धि, स्वदेश तथा विदेशमा सञ्चालन हुने प्रहरी कार्यअन्तर्गतका नवीनतम प्रविधिमूलक तथा अन्य सबै किसिमका पेसागत उन्नत तालिमहरूमा पहुँच बढाउँदै लैजाने, साथै प्रहरी संगठनको हरेक तहमा महिला प्रहरीको संख्यात्मक तथा गुणात्मक सहभागिता अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिकामा समान पहुँच सुनिश्चित गर्न संगठनबाट अपेक्षा गर्दछौँ । र, प्राप्त भूमिका गुनासोरहित किसिमले निर्वाह गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।