
सहकारीको झन्डै दुई करोड ठगी गरेको मुद्दामा सर्वोच्चले काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सफाइ दिएको छ । एमाले नेता अधिकारीलाई न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत एक करोड ८३ लाख ठगी गरेको मुद्दामा सफाइ दिएको हो ।
नाङ्लो दीप सहकारीको सञ्चालक तथा उपाध्यक्ष छँदा २०२ निक्षेपकर्ताको एक करोड ८३ लाख ठगी गरेको अभियोग अधिकारीमाथि थियो । पीडितहरूले पटक–पटक रकम माग्दा पनि नपाएपछि अधिकारीलगायतविरुद्ध प्रहरीमा ०७१ मै जाहेरी दिएका थिए । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालतले ०७३ चैतमा सफाइ दिए पनि पछि उच्च अदालत पाटनले उल्ट्याएको थियो । १९ फागुन ०७५ मा उच्चले अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना र एक महिना कैद हुने फैसला गरेको थियो । प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि जनही एक महिना कैद तथा जरिवानाको सजाय सुनाइएको थियो ।
उच्चबाट मुद्दामा ठहर हुने फैसला आएपछि अधिकारीसहित प्रतिवादीहरू शाह, थापा, बुढाथोकी, लिम्बू, सिटौला र श्रेष्ठले ०७६ मा सर्वोच्चमा पुनरावेदन गरेका थिए । अप्सरा पौडेलसमेतको जाहेरीले नेपाल सरकार पनि पुनरावेदनमा गएको थियो । जसमा सर्वोच्चले अधिकारी र बुढाथोकीको हकमा मात्रै उच्चको फैसला उल्टी गरेको छ ।
‘दुईवटा जुन उल्टीका फैसला भएका छन्, तिनमा प्रतिवादीले सफाइ पाएका छन् । सदर भनेपछि तल्लो अदालतकै फैसला सदर भएको हो । सरकारको पुनरावेदनमा चाहिँ मृत्यु भएको मान्छेको हकमा कैद मिनाहा भए पनि बिगो भराउनुपर्छ भन्ने फैसला भएको हो,’ सर्वोच्चका सूचना अधिकारी तथा उपरजिस्ट्रार निराजन पाण्डेले भने । मुद्दाका प्रतिवादी तथा सहकारी सञ्चालकमध्येका एक सुवासचन्द्र बिसीको शव मुड्खुको जंगलमा भेटिएको थियो । त्यसपछि उनकी श्रीमती धनमाया श्रेष्ठलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।
यो मुद्दा पाँच वर्षभन्दा पुरानो भएकाले शीघ्र फर्स्योटका लागि प्राथमिकतामा राखिएको थियो । सर्वोच्च प्रशासनले यो मुद्दालाई अभियान फाँटमा राखी सुनुवाइ गरेको थियो । लगाउमा रहेका ८ वटै मुद्दालाई एकसाथ राखी फैसला आएको हो । फैसलाअनुसार नेपाल सरकारको पुनरावेदनमा केही उल्टी, दुईवटामा उल्टी र पाँचवटामा सदरको फैसला भएको छ ।
अधिकारीको मुद्दामा उच्चको फैसला उल्ट्याइयो, रविको मुद्दामा उच्चकै आदेश सदर
दुवै इजलासमा थिए न्यायाधीश बालकृष्ण ढकाल
सहकारी ठगी मुद्दामा एमाले नेता एवं मेयर प्रकाश अधिकारीलाई उच्च अदालत पाटनले १८ लाख ३१ हजार जरिवाना र एक महिना कैद हुने फैसला सुनाएको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले भने उक्त फैसला उट्याएर सफाइ दिएको छ ।
तर, रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगीकै मुद्दामा पुर्पक्षका लागि थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने मागमा भने उनै न्यायाधीश ढकालसमेतको ९ जेठको इजलासले थुनामै राख्नुपर्ने उच्चको आदेशलाई सदर गरेको थियो ।
रविको मुद्दामा ढकाल र नहकुल सुवेदीको इजलास थियो । लामिछाने सहकारीको सञ्चालक, सदस्य, ऋणी वा बचतकर्ता केही पनि थिएनन् ।
तर, चेकहरूमा हस्ताक्षर गरेकाले कम्पनीमा संलग्नता देखिन आएको र तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइन भन्न सक्ने अवस्था नरहेकाले उनलाई थुनामा पठाउने आदेश ढकाल र सुवेदीको इजलासले गरेको थियो । तर, सहकारीको सञ्चालक र उपाध्यक्ष नै रहेका अधिकारीलाई भने सफाइ दिएको छ ।