मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
२o८२ भदौ ६ शुक्रबार २o:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा कोइकाका ३० वर्ष, दुई करोड ९० लाख डलर अनुदानका तीन परियोजना सम्झौता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार २o:३८:oo

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी  (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पूरा गरेको छ ।  यस अवसरमा  शुक्रबार ‘सँगैका ३० वर्ष विश्वास र सहकार्यको यात्रा’ शीर्षकमा समारोह आयोजना गरी कोइका र नेपालका तीन निकायबिच परियोजना अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । 

पहिलो सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क ते–यङबिच हस्ताक्षर भएको छ । कोइकाले गण्डकी प्राविधिक संस्थान स्थापनाका लागि अनुदान दिने सम्झौता भएको हो । यो परियोजना आगामी पाँच वर्षसम्ममा सम्पन्न हुनेछ । यसको बजेट ९० लाख अमेरिकी डलर रहेको कोइकाले जनाएको छ ।  
योबाहेक थप दुई नयाँ परियोजनामा हस्ताक्षर भएको छ ।      

एक करोड अमेरिकी डलरको परियोजनामा नेपालमा फलफूल तथा तरकारी मूल्य शृंखला विकास परियोजना (भिसिडिपी) सञ्चालन हुने भएको छ ।  यो वर्षदेखि ६ वर्ष सञ्चालन हुने परियोजना सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी र कोइकाका तर्फबाट नेपालका लागि निर्देशक मु हन कोङबिच हस्ताक्षर भएको छ ।  यसैगरी, सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनासम्बन्धी सम्झौता भएको छ । यो वर्ष सुरु गरेर पाँच वर्षमा सम्पन्न हुने यो परियोजना सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव  शिवकुमार सापकोटा र कोइकाका नेपाल निर्देशक मु हन कोङबिच हस्ताक्षर भएको छ । 

कार्यक्रममा कोइकाका निर्देशक कोङले  कोइका र  नेपालबिचको दीर्घकालीन साझेदारी, समावेशी तथा दिगो विकासप्रति दृढप्रतिबद्धता व्यक्त गरेका छन् । उनले  शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता प्रमुख क्षेत्रमा क्षमता अभिवृद्धि र नवीनताको प्रवर्द्धन कोइकाको प्राथमिकता रहेको उल्लेख उल्लेख गरे । 

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं पूर्वराजदूत भृगु ढुंगानाले नेपाल र कोरियाबिचको लामो मित्रता र सहकार्यलाई उल्लेख गर्दै, शिक्षा, स्वास्थ्य, कृषि र क्षमता अभिवृद्धि क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न कोइकाले भूमिका निर्वाह गरेको पनि बताए । भविष्यमा कोइकासँग थप सुदृढ सहकार्य गर्दै नेपालको समृद्धि र दिगोपनलाई अघि बढाउन मन्त्रालयको प्रतिबद्धता जनाए । 

नेपालका लागि कोरियाली राजदूत  पार्क ते–यङले कोइकाको ३० वर्षे यात्रा नेपाल र कोरियाबिचको गहिरो मित्रता र आपसी विश्वासको प्रतिबिम्ब भएको बताए । उनले नेपाललाई सहयोग गर्ने कोरियाको निरन्तर प्रतिबद्धतामा जोड दिँदै नयाँ परियोजना सम्झौताहरूलाई साझा प्रगतिका प्रतीकको रूपमा व्याख्या गरेका छन् । कोइकाले नेपालमा आफ्नो तीन दशक लामो विकास यात्राको समीक्षा गर्दै नेपाल सरकार र स्थानीय समुदायसँग सहकार्यमा समावेशी, दिगो र समृद्ध भविष्य निर्माण गर्न आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइकामार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ। कोइकाले हालसम्म नेपालभरका सरकारी निकायहरूमा २,९२१ जना स्वयंसेवक परिचालन गरेको छ भने २,२३० जना नेपाली निजामती कर्मचारीरूले कोइकाका क्षमता अभिवृद्धिका कार्यक्रमहरूमा भाग लिएका छन्। यसैगरी, कोइकाले  विभिन्न नागरिक समाज संस्था, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गर्दै नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँदै आएको पनि जनाएको छ । 

सन् २०१० मा नेपाललाई  कोइकाको प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारको सहयोग बढेको छ । कोइकाका एक अधिकारीले सन् २०२५ सम्म कोइकाले नेपाललाई २० करोड अमेरिकी डलरभन्दा बढी सहयोग गरेको तथा यसलाई थप सुदृढ गर्ने पनि प्रतिबद्धना जनाएका छन् ।