
लगातार वर्षापछि मकवानपुरका दुई महत्त्वपूर्ण राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएका छन् । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ भीमफेदी गाउँपालिका– ८, भर्याङडाँडामा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार साँझ करिब पाँच बजेतिर ठुलो मात्रामा ढुंगा र माटो सडकमा खसेपछि सवारी आवागमन ठप्प भएको हो । इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक विद्यासागर मेहताको नेतृत्वमा खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरिरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । लगातार वर्षा भइरहेकाले तत्काल सडक खुलाउन कठिनाइ भएको उनको भनाइ छ ।
यस्तै, त्रिभुवन राजपथसमेत अवरुद्ध भएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि परेको वर्षाका कारण भीमफेदी गाउँपालिका– १, बागझोरामा गिटी–बालुवासहितको भल सडकमा पसेर आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भैँसेबाट ट्राफिक प्रहरीसहितको टोली खटिई सडक खुलाउन प्रयास भइरहेको जनाइएको छ ।
दुवै राजमार्ग बन्द भएपछि सवारीसाधन दुवैतर्फ रोकिएका छन् । मौसममा सुधार आएलगत्तै पहिरो र भल पन्छाउने कामलाई तीव्रता दिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।