
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको आलोचना गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपतिको एमालेमा सदस्यता नरहेको र उनले पार्टीलाई कमजोर बनाउने गतिविधि गरिरहेको आरोप लगाए ।
“अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ,’ भण्डारीप्रति आक्रोश पोखेका ओलीले भने,‘पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।“
भण्डारी राष्ट्रपति हुने वेलामा पार्टीको सदस्यता त्याग गरेकाले उनको नवीकरण हुन नसक्ने ओलीको भनाइ छ । ‘पहिला सदस्यता छाडेर राष्ट्रपति हुनुभएको हो, छाडेको सदस्यता नवीकरण हुने कुरा भएन,’ उनले भने, ‘नयाँ सदस्यता प्रक्रियामा हाल्नुभएको पनि छैन ।’ मदन भण्डारीको एक वर्षपछिको जन्मदिन मनाउन कार्यालय खोलिएकोमा पनि उनले आलोचना गरेका छन् ।
कार्यक्रममा आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहितका नेतालाई ओलीले पार्टी प्रवेश गराएका थिए।