
नेपाल कानुन व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीको कानुन व्यवसायको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको छ । उनीमाथि परेको उजुरीउपर कारबाही गर्दै ६ महिनासम्म कानुन व्यवसाय गर्न नपाउने गरी निलम्बनको निर्णय गरिएको हो ।
प्रमाणपत्र नम्बर ४६८ का वरिष्ठ अधिवक्ता कार्की कोशी प्रदेशमा रही कानुन व्यवसाय गर्दै आएका थिए। परिषद् सचिव श्रीराम खनालका अनुसार गत ३१ असारमा यस्तो सजायको निर्णय भएको हो । साउन अन्तिममा यसको जानकारी सर्वोच्च अदालतसमेतका मातहतका अदालतलाई दिइएको छ ।
गत असारमा मात्र अधिवक्ता लालबहादुर केसी र खगेन्द्र बोहरालाई पनि सजाय दिइएको थियो । काउन्सिलका अनुसार केसीलाई नसिहत र बोहरालाई एक वर्ष वकालत गर्न नपाउने गरी कारबाहीको निर्णय भएको थियो ।
आचारसंहिताविपरीतका कार्य गरेमा परिषद्ले कानुन व्यवसायीमाथि कारबाही गर्न सक्छ। काउन्सिलको अनुशासन समितिमा महान्यायाधिवक्ता रमेश बडाल अध्यक्ष छन् भने सदस्यमा उपेन्द्रकेशरी न्यौपाने र चण्डेश्वर श्रेष्ठ छन्।