
सबैभन्दा कम विद्युतीकरण भएको कर्णाली प्रदेशमै सबैभन्दा बढी विद्युत् चुहावट भइरहेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गएको आर्थिक वर्षमा कर्णाली प्रदेशमा विद्युत् चुहावट २१.७४ प्रतिशत देखिएको हो । जुन प्राधिकरणका मुख्य नौ वितरण केन्द्रमध्येकै सबैभन्दा बढी हो ।
उत्पादन भई प्रणालीमा जोडिएको विद्युत्को परिमाण (युनिट) र ग्राहकको मिटरमा देखिएको विद्युत् युनिटबिचको अन्तर नै चुहावट हो । कमजोर पूर्वाधार तथा प्रणाली, तारमा रुखले छुँदा, पुरानो प्रविधि, वितरण लाइनको लम्बाइ र चोरीलगायत कारण विद्युत् चुहावट हुन्छ । कर्णालीको विद्युत्को पूर्वाधार तथा प्रणाली सबल भइनसकेको अवस्थामा चुहावट पनि बढी भएको हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । कर्णालीमा विद्युत्को पहुँच करिब ७५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ ।
नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट नयाँ पत्रिकालाई प्राप्त प्रारम्भिक तथ्यांकले कर्णाली प्रदेश कार्यालयअन्तर्गतका वितरण प्रणालीमा गत आवमा १२ करोड नौ लाख ८४ हजार युनिट विद्युत् प्राप्ति भएको छ । त्यसमा खपत भने नौ करोड ४६ लाख ८४ हजार युनिट मात्रै भएको छ । गत आवमा कर्णालीमा दुई करोड ६३ लाख युनिट विद्युत् चुहावट भएको छ ।
प्राधिकरणको कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख शशीभूषण शाहले प्राविधिक रूपमै कर्णालीमा धेरै विद्युत् चुहावट भएको बताए । अहिले कर्णालीमा विद्युत् सप्लाई गर्न १३२ केभीको लाइन बनाउने तयारी भइरहेको छ । त्यो भएमा विद्युत् चुहावट कम हुने उनको भनाइ छ ।
प्राधिकरणले सात प्रदेश र केही ठुला सहरमा प्रादेशिकस्तरको कार्यालय स्थापना गरेर विद्युत् आपूर्ति गर्दै आएको छ । धेरै विद्युत् चुहावट हुनेमा मधेश प्रदेश दोस्रो स्थानमा छ । गत आवमा मधेश प्रदेशमा १५.१५ प्रतिशत विद्युत् चुहावट भएको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेश कार्यालयअन्तर्गतको प्रणालीमा गत आवमा दुई अर्ब ८२ करोड ८२ लाख युनिट प्राप्ति भएको छ । त्यसमा खपत भने दुई अर्ब ३९ करोड ९८ लाख युनिट भएको छ । त्योअनुसार मधेशमा ४२ करोड ८४ लाख युनिट विद्युत् चुहावट भएको छ ।
तेस्रो स्थानमा भने सुदूरपश्चिम प्रदेश रहेको छ । गत आवमा सुदूरपश्चिमको प्रणालीमा ४८ करोड ८० लाख युनिट विद्युत् प्राप्ति भएको थियो । त्यसमा ४२ करोड नौ लााख ६७ हजार युनिट विद्युत् खपत भएको छ । ६ करोड ७० लाख ३३ हजार युनिट विद्युत् चुहावट भएको देखिन्छ ।
तथ्यांकअनुसार कोशी प्रदेशमा १२.२७ प्रतिशत विद्युत् चुहावट भएको छ । त्यहाँको प्रणालीमा दुई अर्ब २० करोड ३७ लाख युनिट विद्युत् प्राप्ति भएको छ । त्यसमा एक अर्ब ९३ करोड ३४ लाख विद्युत् खपत भएको छ । योअनुसार त्यहाँ २७ करोड तीन लाख युनिट विद्युत् चुहावट भएको छ ।
यस्तै, गण्डकी प्रदेशमा विद्युत् चुहावट ८.८० प्रतिशत देखिएको छ । त्यहाँ ८१ करोड सात लाख १८ हजार युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने ७३ करोड ९४ लाख ६ हजार युनिट देखिएको छ । योअनुसार त्यहाँ सात करोड १३ लाख १२ हजार युनिट विद्युत् चुहावट भएको देखिन्छ ।
यस्तै, लुम्बिनी प्रदेशमा विद्युत् चुहावट ८.६५ प्रतिशत देखिएको छ । त्यहाँ एक अर्ब ८१ करोड ९१ लाख युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने एक अर्ब ६६ करोड १७ लाख युनिट रहेको छ । त्योअनुसार त्यहाँ १५ करोड ७४ लाख युनिट विद्युत् खेर गएको छ ।
यस्तै, बागमती प्रदेशमा विद्युत् चुहावट ६.५१ प्रतिशत देखिएको छ । यो प्रदेशमा दुई अर्ब ७२ करोड ५० लाख युनिट विद्युत् प्राप्ति भएको छ । खपत भने दुई अर्ब ५४ करोड ७५ लाख युनिट भएको छ । योअनुसार बागमतीमा १७ करोड ७५ लाख युनिट विद्युत् चुहावट भएको छ ।
बढ्यो चुहावट, सार्वजनिक गरिएन तथ्यांक
विगत तीन वर्षसम्म निरन्तर घट्दै आइरहेको वितरणतर्फको विद्युत् चुहावटको हिस्सा गत आर्थिक बर्ष ०८१/८२ मा १.१७ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८०/८१ मा वितरणतर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो । गत आवमा त्यो बढेर १०.७६ प्रतिशत पुगेको छ । वितरण प्रणालीमा १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत् प्राप्ति भएको देखिएको छ ।
त्यसमा खपत भने ११ अर्ब २८ करोड ६४ लाख युनिट भएको छ । योअनुसार गत आवमा एक अर्ब ३६ करोड १४ लाख युनिट विद्युत् चुहावट भएको छ, जुन १०.७६ प्रतिशत हो । ०८०/८१ प्राधिकरणको औसत विद्युत् बिक्रीदर प्रतियुनिट ९.७४ रुपैयाँ थियो । त्यो अवस्थामा गत आवमा १३ अर्ब २४ करोड ६४ लाख रुपैयाँको विद्युत् चुहावट भएको देखिन्छ । विवादमा पर्ने डरमा प्राधिकरणले औपचारिक रूपमा यो तथ्यांक सार्वजनिक गरिसकेको छैन ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले अन्तिम तथ्यांक तयार भइनसकेको बताए । ‘हामीले यससम्बन्धी तथ्यांक तयार गर्दै छौँ । यो तथ्यांक कहाँबाट आयो थाहा छैन । अबको केही दिनमा यससम्बन्धी आधिकारीक तथ्यांक तयार हुन्छ,’ उनले भने, ‘विद्युत् चुहावट अघिल्लो आव ०८०/८१ कै हारहारीमा हुने अपेक्षा छ ।’
विद्युत् चुहावट के हो, कसरी हुन्छ ?
विद्युत् प्रणालीमा प्रवाह भएको विद्युत्को मात्रा र ग्राहकको मिटरमा देखिएको युनिटको फरक नै चुहावट हो । कमजोर पूर्वाधार तथा प्रणाली, तारमा रुखले छुँदा, पुरानो प्रविधि, वितरण लाइनको लम्बाइ र चोरीलगायत कारण विद्युत् चुहावट हुन्छ । विद्युत् चुहावट प्राविधिक र गैरप्राविधिक गरेर दुई प्रकारका हुन्छन् ।
प्राविधिकतर्फ गत आवमा विद्युत् ट्रिपिङ धेरै भयो । लामो समयसम्म विद्युत् जाने समस्या गत आवमा देखियो । यसैगरी, वितरणलाइन सुदृढीकरणको काम पनि राम्रोसँग हुन सकेन । त्यसले गर्दा गत आवमा विद्युत् चुहावट बढेको स्रोतको भनाइ छ । मुख्यत: वितरणलाइन सुदृढीकरणमा प्राधिकरणले पर्याप्त काम गर्न नसक्दा यस्तो समस्या आएको उनले बताए ।