
बागमती प्रदेश सरकारले आउँदो साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाईजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन् । निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू सो दिन बन्द रहनेछन् ।
प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।
बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा गाईजात्रा पर्व सार्वजनिक बिदा क्यालेन्डरमा समेत समावेश गरिएको हो ।
गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ ।
गाईजात्रा नेपाल संवतअनुसार गुंलागाः पारू अर्थात् जनैपूर्णिमाको भोलिपल्ट (भाद्र शुक्ल प्रतिपदा) पर्दछ। यस पर्वले हास्यव्यंग्य, सामाजिक सन्देश र सांस्कृतिक विविधता झल्काउने भएकाले यसले प्रदेशमा विशेष महत्त्व राख्दछ ।