
बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोलानजिक र सडकछेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् ।
सातवटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं. १ बाढीपहिरोको जोखिममा परेको छ । यस वडामा मात्रै ९२० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।
०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको तथ्यांकअनुसार वडा नं. २ मा २०७, वडा नं. ३ मा १४०, वडा नं. ४ मा चार सय, वडा नं. ५ मा १७०, वडा नं. ६ मा ३१ र वडा नं. ७ मा ५७० घर पहिरोको जोखिममा छन् ।
पहिरोले गाउँ नै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नुपरेको निसीखोला– १ हुल्दीकी हुमकुमारी मल्लले बताइन्। गाउँको बीिचमा एउटा ठुलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उनको भनाइ छ । आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठुलो क्षति नपुर्याएको बताउँदै वि.सं. २०७५ देखि त्यसको असरले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिइन् ।
निसीखोला– २ का पदमबहादुर विकले गाउँमा बाहेक अरू ठाउँमा जग्गाजमिन नहुँदा जोखिममा बस्नुपरेको बताए । ठुलो पानी पर्यो भने सबै सरसामान बोकेर घरबाहिर निस्कने गरेको उनको भनाइ छ । हुनेखाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उनले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताए । सरोकार भएका निकायलाई गाउँको समस्याबारे पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोखे ।