Skip This
पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार १३:४३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १३:४३:oo

यहाँ झन्डै तीन हजार किलोमिटरबराबर सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ ।

अधिकांश सडक हिउँदयाममा सञ्चालन हुने र वर्षायाममा ठप्प हुने गर्छन् । जिल्लाका ग्रामीण सडकमध्ये गत आर्थिक वर्ष ०८१/८२ मा ४५ किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको छ । संघीय सरकार तथा प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र आयोजनामार्फत विनियोजित बजेटबाट कालोपत्र र ढलान गरी ४५ किलोमिटरभन्दा बढी सडक पक्की बनाइएको हो ।

सबैभन्दा बढी संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय पोखरामार्फत जिल्लाका विभिन्न क्षेत्रका सडक आयोजनामा १३ किलोमिटर ६६० मिटर सडक कालोपत्र भएको छ । त्यसमध्ये १० किलोमिटर ६६१ मिटर कालोपत्र र तीन किलोमिटर आठ मिटर ढलान गरिएको छ ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत विभिन्न सडकखण्डमा गरी १० किलोमिटर ९८ मिटर कालोपत्र भएको छ । गत आर्थिक वर्षमा १५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखेको कार्यालयले १० किलोमिटर ९८ मिटर मात्र कालोपत्र गर्न सफल भएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए।

यसैगरी, स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय कास्कीमार्फत आठ किलोमिटर २८६ मिटर सडक कालोपत्र भएको छ । अयोजनाले विभिन्न सडकमा गरी झन्डै चार किलोमिटर सडक कालोपत्र र चार किलोमिटर ३६२ मिटर सडक ढलान गरेको आयोजनाका प्रमुख इन्जिनियर जनकराज पन्तले जानकारी दिए।

यस्तै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत पाँच किलोमिटर २१७ मिटर सडक कालोपत्र गरिएको छ । यो आयोजनामार्फत बजेट विनियोजन भएका विभिन्न सडकखण्डमा कालोपत्र र ढलान गरी ५.२१७ मिटर सडक ढलान तथा कालोपत्र गरिएको इन्जिनियर सुशील आचार्यले जानकारी दिए।

यसैगरी ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत पर्वतको लुंखुदेउराली–हुवास सडक पनि कालोपत्र भएको छ । गत आर्थिक वर्षमा झन्डै पाँच किलोमिटर सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा ढलान र कालोपत्र गरी पाँच किलोमिटर सडक कालोपत्र भएको हो । १५ किलोमिटर लामो उक्त सडकको केही खण्ड मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यसबाहेक जिल्लाका विभिन्न स्थानीय तहले पनि सडक स्तरोन्नति र ढलान कार्यलाई तीव्रता दिइरहेका छन् ।

पर्वतमा अघिल्लो आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गरिएको थियो । योसँगै जिल्लाभर करिब तीन सय किलोमिटरको हाराहारीमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्ची सडक १.३४९ किलोमिटर विस्तार गरिएको छ भने ७.३६ किलोमिटर सडक ग्राभेल गरिएको छ । करिब २९ किलोमिटर सडकको चौडाइ विस्तार गरिएको छ भने १८ किलोमिटर लामो नाली निर्माण गरिएको छ ।

कार्यालय प्रमुख अर्यालका अनुसार ४७ हजार ४४८ घनमिटर टेवा पर्खाल निर्माण गरिएको छ भने ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मत सम्भार गरिएको छ । जिल्लामा गत आवमा लिदीखोला मोटरेबल पुल निर्माण सम्पन्न भएको र मल्याङ्दी खोला तथा छत्तिसेघाट मोटरेबल पुल निर्माणाधीन अवस्थामा पुगेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको सडक आयोजनामा हिमालय मावि–नुहार–खनियाँघाट सडक कालोपत्र गरिएको छ । चार किलोमिटर आठ सय मिटर लामो उक्त सडकमध्ये तीन किलोमिटर कालोपत्र र एक हजार आठ सय मिटर ढलान गरिएको हो । यस्तै, पाँच करोडभन्दा कम लागतको सडकमध्ये फलेवासको उपल्लो बाच्छाचोकदेखि–हरेचौपारी सडक फलेवास सडक सम्पन्न भएको छ । अन्य सालबसाली र अधिकांश टुक्रे योजनाको काम पूर्ण रूपमा सम्पन्न भएको अर्यालले जानकारी दिए।

गत आर्थिक वर्षमा बजेट विनियोजन भएका १३३ सडक आयोजनामध्ये झन्डै आधा दर्जनको संख्याका सडकमा बजेटमा दोहोरोपना, बजेट अपुग र जग्गा विवाद तथा मन्त्रालयद्वारा रोक्का गरिएकाले अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ७५.७७ प्रतिशत वित्तीय प्रगति र ७८ प्रतिशत भौतिक हासिल गरेको छ ।

पूर्वाधार कार्यालयमा चालू आर्थिक वर्षमा ७५ सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा झन्डै १९ करोड ४५ लाख रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षका लागि जम्मा ६३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन भएको शर्माले जानकारी दिए।