
सल्यानमा भेरी नदीले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– १, अम्रास्थित भेरी नदीकिनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान नदीकिनारमा क्षतविक्षत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर खरेका थिए । नाम, थर वतन नखुलेको शव कसको हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । ‘शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको छ, पहिचान गर्न सकिने अवस्थामा छैन । यद्यपि, हामी अनुसन्धानमा जुटिरहेका छौँ,’ प्रहरी निरीक्षक रेशम खत्रीले भने ।
शव लामो समयदेखि पानी वा नदीकिनारमा रहेको अनुमान गरिएको छ । शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तलको भाग क्षतविक्षत भएर गलेको छ । किरा लागेको, छालामा रंग परिवर्तन भएको र शरीरमा फोहोरले ढाकिएको अवस्थामा शव भेटिएको हो ।