धनगढी उपमहानगरपालिकाले नगरभित्र बसोवास गर्ने दुई सय ९० जना अपांगता भएका व्यक्तिलाई निःशुल्क रूपमा सहायता सामग्री वितरण गर्ने भएको छ । अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्न उपमहानगरले नगरका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेको थियो । ती शिविरमा दुई सय ९० जनाले सहायता सामग्रीका लागि नापजाँच गराएका उपमहानगरले जनाएको छ ।
अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्रीको पहिचान गर्न विभिन्न वडामा पाँचवटा शिविर सञ्चालन गरिएको उपमहानगरका महिला विकास अधिकृत पंकजा जोशीले जानकारी दिइन् । केही दिनमै सामग्री आइपुग्ने र सम्बन्धित लाभग्राहीलाई वितरण गरिने उनले बताइन् ।
धनगढी उपमहानगरले गत वर्ष पनि धनगढीका एक सय ७९ जना अपांगता भएका व्यक्तिलाई दुई सय पाँच प्रकारका सहायता सामग्री निःशुल्क वितरण गरेको थियो । गत वर्ष ३२ लाख रुपैयाँ खर्चेर ती सामग्री खरिद गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै, यस वर्ष अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गर्न सर्वांगीण अपांगता विकास समाज धनगढीसँग नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको महिला विकास अधिकृत जोशीले जानकारी दिइन् ।
यस वर्ष शारीरिक अपांगता भएका व्यक्तिलाई ह्विलचेयर, बैसाखी, चस्मालगायत वितरण गरिने उपमहानगरले जनाएको छ । त्यस्तै, श्रवण शक्ति नभएकालाई पनि सहायता सामग्री वितरण गर्ने तयारी छ ।