१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १५ मंगलबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मौसमी प्रणाली सक्रिय रहेकाले आज र भोलि वर्षा हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o७:o४:oo

लामो समयको खडेरीपछि मध्य नेपालकेन्द्रित भइरहेको वर्षा छरिन थालेको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण पूर्वका केही जिल्ला र मध्य नेपालकेन्द्रित भएर आइतबारबाट सुरु भएको हावाहुरीसहितको वर्षा सोमबार धेरै ठाउँमा फैलिएको छ ।

सोमबार कर्णालीको पूर्वी जिल्ला, लुम्बिनीका उत्तरपूर्वी जिल्ला र गण्डकीका धेरैजसो ठाउँ र बागमती तथा कोशीका केही पहाडी जिल्लामा वर्षा भएको छ । सबैभन्दा धेरै रुकुम पश्चिमको मुसिकोटमा ७९.६, स्याङ्जामा ६३.४ र गोरखामा ३५.८ मिलिमिटर पानी परेको छ । 

शान्ति कँडेल, मौसमविद्, मौसम पूर्वानुमान महाशाखा
लगातार वर्षा हुने होइन, दिउँसो बादल लाग्ने, साँझपख हावाहुरी, चट्याङसँगै वर्षा हुने देखिन्छ । प्रि–मनसुनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ ।

मौसमी प्रणाली सक्रिय रहेकाले बुधबारसम्म पहाडी क्षेत्रसँगै मधेश र बागमती, लुम्बिनी (पूर्वी क्षेत्र)मा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘लगातार वर्षा हुने होइन, दिउँसो बादल लाग्ने, साँझपख हावाहुरी, चट्याङसँगै वर्षा हुने देखिन्छ,’ उनले भनिन्, ‘प्रि–मनसुनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ ।’

महाशाखाले बुलेटिन जारी गर्दै मंगलबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशको थोरै स्थानमा पानी पर्नेछ । 

सोमबार साँझ काठमाडौं उपत्यकामा अधिकतम प्रतिघन्टा ७० किलोमिटरका दरले हावाहुरी चलेको थियो । पोखरा, स्याङ्जा, गुल्मी, नवलपरासी, चितवन क्षेत्रमा पनि हावा चलेको थियो । यसले तुवाँलो र वायु प्रदूषण कम गर्ने आकलन छ । काठमाडौंमा एक महिनादेखि वायु प्रदूषणको स्तरमा मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा रहेका वेला हावाहुरी चल्दा तुवाँलो केही घट्ने अपेक्षा गरिएको छ । तर, सोमबार साँझ हावाहुरी चल्दा उक्त समयमा भने प्रदूषणको मात्रा निकै बढेको थियो । पिएम २.५ माइक्रोनभन्दा मसिना धुलोधुवाँका कण, जुन सीधै नाकमुखबाट श्वासनलीमा गएर रगतमा समेत मिसिन्छ, त्यसको मात्रा शंखपार्कमा ४४८, पुल्चोकमा २६८, भक्तपुरमा २६३ र भैंसेपाटी क्षेत्रमा २१० माइक्रोग्राम प्रतिघन्टा प्रतिघनमिटर पुगेको थियो । 

वर्षा नहुँदा पश्चिम नेपालमा डढेलो कायमै
आइतबार र सोमबारको वर्षाका कारण पूर्वी पहाड र मध्य नेपालका वनजंगलमा लागेको डढेलो घटेको छ । वर्षा भएको ठाउँमा डढेलो निभे पनि पश्चिममा भने कायमै छ । नासाको स्याटलाइट तस्बिर हेर्दा सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीका पश्चिमी क्षेत्रका वनजंगलमा डढेलो कायमै छ । पछिल्लो २४ घन्टामा मुलुकका १२० स्थानमा डढेलो लागेको देखिन्छ । आइतबार १४४ स्थान,  शनिबार २३८ र शुक्रबार ३८८ स्थानमा डढेलो थियो । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी कैलालीका वनमा १८ स्थानमा डढेलो छ । त्यसपछि सुर्खेतमा १६, डोटीमा ११, रोल्पामा १०, अछाममा सात स्थानमा डढेलो छ । त्यस्तै, डडेल्धुरा, दाङ र सल्यानमा ६–६ ठाउँमा डढेलो छ । बझाङ र दैलेखमा चार–चार स्थान तथा जाजरकोटमा तीन स्थानमा डढेलो छ ।  अर्घाखाँची र  दार्चुलामा दुई–दुई ठाउँमा डढेलो छ ।  

पूर्वी  र मध्य नेपालका कैयौँ जिल्लामा वर्षा भए पनि वर्षा नभएको क्षेत्रमा भने डढेलो कायमै छ । तर, समग्रमा भने घटेको छ । ओखलढुंगामा सात तथा खोटाङ, लमजुङ र रसुवामा दुई–दुई ठाउँमा डढेलो छ । बागलुङ, बैतडी, बारा, बर्दिया, गोरखा, जुम्ला, कालीकोट, नवलपरासी, पाल्पा, रामेछाप, सिन्धुपाल्चोक र उदयपुरका एक–एक ठाउँमा डढेलो छ ।

 

ad
ad