सुविना श्रेष्ठको निर्देशनमा बनेको वृत्तचित्र ‘देवी’ हटडक्स क्यानेडियन इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएको छ । २८ अप्रिल र १ मेमा टोरोन्टोमा यो वृत्तचित्र स्क्रिनिङ हुनेछ ।
८० मिनेटको यो वृत्तचित्रले युद्धकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाउँछ ।
जनयुद्ध भर्खरै सुरु भएका वेला १७ वर्षको उमेरमा देवी पक्राउ परेकी थिइन् । उनलाई माओवादीको अभियोगमा यातना दिइयो र हिरासतमा बलात्कार गरियो । डिप्रेसन र सामाजिक तिरस्कारको सिकार भएकी देवी त्यसपछि विद्रोहमा लागेकी थिइन् ।
नेतृत्वदायी भूमिकामा पुगेर उनी युद्धपछि सांसद पनि बनिन् । उनको कथामार्फत श्रेष्ठले बलात्कृत भएर बाँचेकाको संघर्ष देखाउन खोजेकी छिन् । ‘यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गरेको छ,’ निर्देशक श्रेष्ठले भनिन् ।