१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o३:oo
Read Time : > 8 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

इलाम २ को उपनिर्वाचनबारे के भन्छन् मुख्य प्रतिस्पर्धी चार उम्मेदवार ?

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o३:oo

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चुनावी अभियानको रफ्तार बढेको छ । राजनीतिक दल र स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी समूहका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह लिम्बूको बढी चर्चा छ ।

यी चार उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । उपनिर्वाचनमा अघि सारेका एजेन्डा, घरदैलोका क्रममा मतदाताबाट पाएको प्रतिक्रियालगायतका विषयमा नयाँ पत्रिकाका चिरञ्जीवी घिमिरेले चारै उम्मेदवारलाई प्रश्न गरेका छन् :

अरूको दुष्प्रचार गरेर आफूलाई राम्रो  देखाउने कुरामा विश्वास गर्दिनँ : सुहाङ नेम्वाङ, एमाले उम्मेदवार

चुनावी अभियान कस्तो भइरहेको छ ? 
चुनावी अभियान एकदमै राम्रो भइरहेको छ । सबैले स्वागत गर्नुभएको छ । बुबासँगका कुरा सम्झिँदै उहाँहरू भावुक हुनुहुन्छ र मेरो बुबालाई जुन प्रकारको माया दिनुभएको थियो मलाई र हाम्रो पार्टीलाई त्यही माया दिएर स्वागत गरिरहनुभएको छ । अहिलेसम्म यहाँका जनताको उत्साहजनक प्रतिक्रिया पाएको छु । 

उपनिर्वाचनमा तपाईंका प्रमुख चुनावी एजेन्डा के हुन् ? 
हामीले विकासका धेरै आधार र एजेन्डा अघि सारेका छौँ । शिक्षा र स्वास्थ्यको विकास अपरिहार्य भनेका छौँ । इलामलाई समृद्धितर्फ लान कृषि र पर्यटनलाई अघि बढाउनुपर्छ । विकासका यी आधारलाई पूर्णता दिन र अर्थतन्त्रलाई चलायमान बनाउन बाटो, पुलपुलेसाजस्ता पूर्वाधारको निर्माण गर्नैपर्छ । विकासका आधारलाई पूर्णता दिन नीति निर्माणको कार्यभार हाम्रो काँधमा छ । जनताको हित र विकासका आयोजनालाई पूर्णता दिन हामी तत्पर भएर लाग्नुपर्छ । सुशासन, इमान र निष्ठालाई ध्यान दिइयो भने जनताका अपेक्षालाई साकार बनाउन सकिन्छ । 

इलाम २ मा पटक–पटक एमालेले जित्दा पनि खासै विकास हुन नसकेको गुनासा पनि सुनिन्छन् नि ?
इलाममा विकास नभएको भन्ने भाष्य गलत हो । बुबा जीवित हुँदा उहाँलाई ‘सुवासले इलाममा धेरै बजेट लग्यो’ भन्ने आक्षेप लाग्थ्यो । विकास निर्माणका काममा केही कारणले ढिलासुस्ती भएको हो । विकासका धेरै काम सुरु भए पनि तिनले प्राविधिक कारणले पूर्णता पाउन सकेनन् । सुशासनमा कमजोरी भएका कारण यस्तो भएको हो । अब म कसैप्रति औँला उठाउन चाहन्नँ ।

न ठेकेदारलाई दोष दिन्छु, न अरूलाई नै । त्यसमा हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ, किनकि हामीले ल्याएको बजेट राम्रोसँग सदुपयोग भयो कि भएन भन्ने निगरानी हामीले गर्नुपथ्र्यो भन्ने अहिले आएर लागेको छ । विकास निर्माणका कामको निगरानी वा चासो राख्नु हाम्रो कर्तव्य हो भन्ने लाग्छ । विकासलाई हेर्ने हो भने इलाममा जत्तिको विकास कतै पनि छैन । इलाममा जति बाटो अन्त खुलेका छैनन् । इलाममा जति पक्की पुल, झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन्, त्यति अन्त कहीँ पनि छैन होला ।

हिजोअस्तिसम्म जुन ठाउँमा बत्ती थिएन, त्यो ठाउँमा अहिले पर्याप्त बिजुली छ । शतप्रतिशत विद्युतीकरण गर्ने भनेर इलाममा बजेट हाम्रै पालामा आएको हो । यसले पूर्णता पाउन लागेको छ । पहाडमा पानीको समस्या हुन्छ । हामीले पानीको अभाव शून्यमा झार्न थुप्रा आयोजना ल्याएर त्यसलाई पनि पूर्णता दिन लागिपरिरहेका छौँ । काम नै नभएको भन्नु अतिशयोक्ति हुन्छ । तर, छिटोछरितो रूपमा आयोजनाहरूले पूर्णता पाउन नसकेको भने हो । यसमा अलिअलि दोष हामीले लिनुपर्छ । यसलाई शिक्षाको रूपमा लिएर सुधार गर्दै अघि बढ्नुपर्छ । विकासका नयाँ आधारलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ । 

मत माग्न घरदैलो गर्दा मतदाताका कस्ता अपेक्षा पाउनुभयो ? 
हाम्रा एजेन्डा लिएर घरघरमा जाँदा मतदाताले बाटोघाटो, पुलपुलेसा, रोजगारीका कुरा उठाइरहनुभएको छ । यसक्रममा मतदातासँग पारिवारिक सम्बन्ध बनेको छ । यो हार्दिकता निभाउन चुनावपछि पनि आइदेओस् भन्ने अपेक्षा मतदाताको हुँदो रहेछ । त्यसलाई सम्बोधन गर्नुपर्छ । 

नयाँ दल र पहिचानवादी उम्मेदवारले पुराना दललाई चुनौती दिँदै छन् भनिँदै छ, तपाईंले कत्तिको चुनौती महसुस गर्नुभएको छ ?
पहिचानवादीको धर्मसंस्कृति, भाषाको प्रवद्र्धन गर्ने भन्ने जुन एजेन्डा छ, त्यो ठीक छ । तर, आफ्नो एजेन्डा प्रस्तुत गर्दा अरूलाई त्यसको विरोधी भनेर प्रचार गर्नुचाहिँ गलत हो । मचाहिँ यो वा त्यो पार्टी भन्दिनँ । कसैको दुष्प्रचार गरेर वा कसैलाई लाञ्छित गरेर आफूलाई राम्रो देखाउने कुरामा म विश्वास गर्दिनँ । आफूले इमानदारिता र निष्ठापूर्वक काम गरेर छवि बनाउने, जनताको मन जित्ने हो । आफ्नो एजेन्डा बोकेर जनतामा पुगेका छौँ । जनताले मन पराउनुभयो भने हामीलाई अनुमोदित गरिहाल्नुहुन्छ । 

केन्द्रको कागजी गठबन्धनले इलामको चुनावलाई असर गर्दैन : डम्बर खड्का, कांग्रेस उम्मेदवार
मतदानको मिति नजिकियो, चुनावी तयारी कस्तो छ ?
चुनावी अभियान चलिरहेको छ । ४२ वटै वडा मैले घुमिसकेको छु । चुनाव हारेर पनि मचाहिँ जनताको सेवामा जनताकै घरआँगनमै छु । यहाँका बासिन्दा मर्दापर्दा, विवाह, व्रतबन्ध हरेक कुरामा गाउँ गइरहेको हुन्छु । सुखदुःखमा म उहाँहरूसँगै हुने भएकाले मलाई केही सहज छ । 

चुनावमा उम्मेदवारसँग जनताका गुनासा र अपेक्षा के पाउनुभयो ?
इलामको क्षेत्र नम्बर २ ‘पूर्वको कर्णाली’का रूपमा चिनिन्छ । ०४८ पछिको निर्वाचनमा पटक–पटक निर्वाचित भएर जानेले खासै काम नगरेको मतदाताको गुनासो छ । जनताका अपेक्षा पनि छन् । बाटो, सिँचाइ, खानेपानी, विद्युत्, स्वास्थ्य चौकी, प्रहरी चौकीको माग राख्नुभएको छ । यी विकास निर्माणका मुद्दा पटक–पटक उठ्ने तर काम नहुने हुँदा जनताको विश्वास टुटेको पाएँ । अब तपाईं जानुस् है, हामीलाई तपाईंसँग विश्वास छ भन्नुभएको छ । 

तपाईंको चुनावी एजेन्डा के छन् ? 
विकास निर्माणलाई प्राथमिकता दिने मेरो एजेन्डा हो । बजेट अभावमा अधुरा बाटा निर्माण सम्पन्न गर्न बजेट निकासा गराउने, यो क्षेत्रका सबै वडामा एम्बुलेन्स तथा दमकल जान सक्ने ग्राभेल सडक बनाउने, हरेक पालिकाबाट सदरमुकाम आउने पक्की सडक निर्माण गर्ने, किसान, मजदुर, व्यवसायी, उद्योगपतिलगायतलाई प्रत्यक्ष राहत पुग्ने कार्य गर्ने मेरो प्रतिबद्धता छ । नयाँ बनाउनुपर्ने स्वास्थ्य चौकी, विद्यालय बनाउने र पुरानालाई जीर्णोद्धार गर्ने एजेन्डा छ । किसानलाई दूधको मूल्यका लागि पहल गर्ने, चिया बगानका मजदुरलाई परिश्रमिकका लागि आवाज उठाउने, बेरोजगारीका समस्या समाधानमा पहल गर्ने मेरो एजेन्डा छ । 

यसअघिको निर्वाचनमा तपाईं एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङसँग झिनो मतले पराजित हुनुभयो । त्यो वेला माओवादी तपाईंसँग थियो, अहिले माओवादी एमालेको गठबन्धनसँग छ । यस्तो अवस्थामा चुनाव जित्न सकिएला ?
अहिलेको चुनाव र पहिलेको चुनाव फरक छ । गठबन्धनलाई जनताले देशव्यापी रूपमा स्वीकार गर्छन् जस्तो लाग्दैन । एमाले–माओवादी गठबन्धन कागजी रूपमा काठमाडौंमा भयो होला । तर, इलाममा चाहिँ माओवादी साथीहरूलाई हरेक सुखदुःखमा मैले नै साथ दिएको छु । हिजोको आन्दोलनमा उहाँहरूलाई दुःख दिँदा मैले छुटाउने काम गरेको छु । घाइतेलाई औषधि उपचारमा सहयोग गरेको छु । हिजो स्थानीय तह, प्रदेश र संघमा सँगै चुनाव लड्यौँ । त्यसवेला माओवादीका साथीलाई एमालेले कुटपिट गर्न खोज्दा मैले संरक्षण गरेको छु । केन्द्रको अहिलेको कागजी गठबन्धनले इलामको चुनावलाई असर गर्दैन । त्यो गठबन्धनको अर्थ छैन । माओवादी र अन्य पार्टीका साथीहरूसँग मेरो मन–मुटुको गठबन्धन छ । यो गठबन्धन भविष्यसम्म पनि टुट्दैन । 

रास्वपाका मिलन लिम्बू र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूको चुनौती कत्तिको छ ? 
कांग्रेसको त पहिले कै बटमलाइन छ– द्वन्द्व मेटिने, पहिचान भेटिने । हामीले पहिचानको पक्षमा पहिलेदेखि नै बोल्दै आएका हौँ । कांग्रेस चार जात ३६ वर्णको साझा फूलबारी हो । पहिचानवादीले आन्दोलन गर्दै गर्दा कांग्रेसका १४ वटै जिल्लाका सभापतिलाई इलाम बोलाएर नामांकनको विषयमा पुनर्विचार गरियोस् भनेर हामीले विज्ञप्ति नै निकालेर दबाब सिर्जना गरी केन्द्रमा पठायौँ । केन्द्रले प्रदेश सरकारलाई भनेर तीनपटक वार्तासमेत भएको छ । सबै जातजति,भाषाभाषीलाई कांग्रेसले मिलाएर लैजानुपर्छ भनेर हामीले भनेका छौँ ।

पहिचानवादीको मागलाई पनि सम्बोधन गर्नुपर्छ । कांग्रेसले नै पहिचानवादीको माग पूरा गर्छ । एमाले र अन्य दलमा बसेका साथीहरूले पहिचानविरोधी काम गर्नुभएको छ । आन्दोलनमा दमन गर्नुभएको छ । प्रशासन लगाएर गोली चलाउने, कुटपिट गर्ने गर्नुभएको छ । एमालेले दमनकारी नीति लिने गरेको हो । त्यो कार्यविरुद्ध साथीहरू उत्रिनुभएको छ, उत्रिनु पनि पर्छ । 

रास्वपाचाहिँ हल्ला गर्ने पार्टी हो । अरूलाई दोषी देख्ने, आफूले गल्ती गरेको नदेख्ने उसको नीति छ । साइबर हल्लाले चलेको पार्टी हो, यो । आफैँ आफ्नो कुरा समाजिक सञ्जालमा हाल्ने, त्यसमा आफैँ लाइक र कमेन्ट गर्ने गरेर होहल्ला मच्चाएको छ । इलाममा रास्वपाको केही असर छैन । हामीलाई असर गर्दैन । 

इलाममा कांग्रेसभित्र नै एकमत छैन । कसरी निर्वाचन जित्नुहुन्छ ? 
कांग्रेस अहिले एक ढिक्का छ । नेपालभरि नै कांग्रेसलाई एक ढिक्का बनाउने काम इलामको चुनावले गरेको छ । कांग्रेस राष्ट्र, लोकतन्त्र र नेपाली जनताको आशा र भरोसाका लागि एक हुँदै छ । इलामबाट भएको सुरुवात देशभर विस्तार भएर जान्छ । यसपटकको चुनावमा विगतका तीतामीठा अनुभवबाट पाठ सिकेर कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । पार्टीभित्र मतभिन्नता छैन । 

इलामेली जनता यसपटक मत परिवर्तन गर्ने मुडमा हुनुहुन्छ : मिलन लिम्बू, रास्वपा उम्मेदवार 
चुनावी तयारी कस्तो हुँदै छ ?
हामीले सोचेभन्दा राम्रो गरी चुनावी अभियानमा नेता, कार्यकर्ता तथा जनताहरूको सहभागिता भइरहेको छ । पुराना राजनीतिक शक्तिसँग वाक्क हुन पुगेका आमजनताको घरदैलोमा रास्वपाको प्रवेशले उनीहरूलाई निकै उत्साहित बनाएको छ । चुनाव, लोकतन्त्रको सबैभन्दा अनुपम अभ्यासमध्ये एक हो । यसपटक रास्वपाले इलाममा नयाँ इतिहास लेख्दै छ ।

जनताका गुनासा र अपेक्षा के रहेछन् ?
इलामेली जनताका धेरै ठूला अपेक्षा छैनन् । उहाँहरू सामान्यभन्दा सामान्य आधारभूत आवश्यकता पूरा गराउनकै लागि विगतदेखि पुराना राजनीतिक शक्तिमा आस गरेर बस्नुभयो । दुःखसाथ भन्नुपर्छ उहाँहरूको त्यो अपेक्षा पुराना दलले पूरा गर्न सकेनन् । इलाम बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, भित्रबाट त्यति सुन्दर बन्न सकेको छैन । सडक, खानेपानी, विद्युत्को सुविधा नहुँदा जनताले अझै पनि कष्टकर दैनिकी व्यहोर्नुपरिरहेको छ । उहाँहरूको गुनासो र अपेक्षा यसकै वरपर रहेको देखिन्छ ।

तपाईंका प्रमुख चुनावी एजेन्डा के हुन् ?
मैले यो निर्वाचन लड्नका लागि आमजनता तथा शुभेच्छुकहरूसँग मुठीदानको आह्वान गरेको छु । निर्वाचन लड्नकै लागि कुनै व्यापारी, ठेकेदार तथा स्वार्थ समूहसँग आर्थिक सहयोग लिनेछैन भनेको छु । यो मैले किन भनेको भने भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने पहिलो दायित्व राजनीतिक व्यक्तिहरूकै हो । स्वार्थ समूहको पछि कुद्नु नपरोस् भन्नका खातिर मैले जनताबाटै सहयोग लिएर चुनावी खर्च चलाइरहेको छु । यो नै एउटा राजनीतिक एजेन्डा हो ।

साथै मैले आफूलाई यो माटोको उम्मेदवार भनेको छु । माटोको उम्मेदवारले जनताकै घर आँगनबाट जनताकै आवाज बोल्ने हुनुपर्छ । यो मेरो दोस्रो राजनीतिक एजेन्डा हो । तेस्रो, मैले आफ्नो इमान डगमगाउन दिनेछैन । भोलिका दिन संसद्मा उभिएर बोल्दै गर्दा मैले जनताको आवाज उठाउनेछु भनेको छु । त्यससँगै २१औँ शताब्दीमा सडक, खानेपानी, विद्युत्का लागि जनताले कसैको मुख ताक्न नपरोस् भन्ने एजेन्डा छ ।

पुराना दलको संगठन तल्लो तहसम्म छ, तपाईंहरू भर्खरै संगठन विस्तारको क्रममा हुनुहुन्छ । यसबाट चुनावी अभियानमा कत्तिको समस्या भइरहेको छ ?
संगठन हुनु र नहुनु दुवैका आ–आफ्नै गुण–दोष छन् । गाउँको सबैभन्दा सानो एकाइसम्म पुग्ने गरी बनाइएको संगठनमा सांगठनिक बल मात्र छैन, त्यहाँ विवाद र सामूहिक भ्रष्टाचारको बिउ पनि सँगै रोपिएको छ । इलाममा रास्वपाको तल–तलसम्म संगठनको जालो नभएको सत्य हो । तर, रास्वपा संगठनमा भन्दा जनताको मनमा बस्न चाहन्छ । तपाईं जुनसुकै पार्टीमा संगठित भए पनि रास्वपाले तपाईंको मन जितेको छ भने तपाईंको मत रास्वपालाई खस्छ । 

इलामेली जनतामाझ हामी के भनिरहेका छौँ भने तपाईंहरू आ–आफ्नै पार्टी, संगठनमै बस्नुस्, तर तपाईं आबद्ध पार्टीलाई सच्याउन, सुधार्न र जनताप्रति उत्तरदायी बनाउन यसपटक तपाईंले मत परिवर्तन गर्नुस् । नेपाली कांग्रेस आजका दिनमा बिपीले निर्माण गरेको कांग्रेस बन्न सकेको छैन । पुष्पलाल, मदन भण्डारीले निर्माण गरेको कम्युनिस्ट आन्दोलन कम्युनिस्टजस्तै हुन सकेको छैन । के तपाईंहरू आफ्नो पार्टीलाई सुधार्न चाहनुहुन्न ? यदि तपाईंको जवाफ सकारात्मक छ भने तपाईंहरूले यसपटक घन्टीमा भोट हाल्नुपर्छ भनेका छौँ । र, जनता यसपटक आफ्नो मत परिवर्तन गर्ने मुडमा हुनुहुन्छ ।

मतदाताले विगतदेखि नै पुराना दललाई मत हाल्दै आएका छन् । तपाईंहरूले पुराना दललाई रोक्न गाह्रो हुन्छ भन्ने विश्लेषण पनि हुँदै आएको छ नि ?
मानिसको दिमागमा के चलिरहेको छ भन्ने बुझ्नका लागि आजसम्म त्यस्तो कुनै मेसिन बनेको छैन । विश्लेषण गर्नेहरूले के आधारमा विश्लेषण गर्नुभयो थाहा भएन । मलाई चाहिँ यसपटक इलामेली जनताले नयाँ इतिहास लेख्दै छन् भन्नेमा ढुक्क छ । नेपालको राजनीतिक इतिहासमा इलाम २ को निर्वाचन चिरकालसम्म स्मरणयोग्य हुँदै छ । इलामेली जनताको मत परिवर्तनको मुडबाट स्वाभाविक रूपमा नै पुराना राजनीतिक शक्ति र स्वार्थ समूह अत्ताल्लिएका छन् ।

जितेर गइसकेपछि गाउँ फर्केनन् भन्ने मतदाताको गुनासो छ : डकेन्द्रसिंह लिम्बूू,  स्वतन्त्र उम्मेदवार

चुनावी तयारी कस्तो छ ? 
चुनावी अभियान अपेक्षा अनुरुप चलिरहेको छ । मतदाताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । यसअघि पार्टीबाट निर्वाचित भएर जानुभएका जनप्रतिनिधिबाट अपेक्षाकृत काम हुन नसकेपछि अब ती पार्टीबाट काम हुन नसक्ने जनताको बुझाइ छ । अब स्वतन्त्रबाट मात्र केही आशा गर्न सकिन्छ भन्ने जनताको निष्कर्ष पाएँ । यसैले अहिले माहोल राम्रो छ । धेरै ठाउँबाट निम्ता आइरहँदा मतदाताले निमन्त्रणा गरेको स्थानमा पुग्न हामीलाई भ्याउनसमेत गाह्रो भइरहेको छ ।

जनताका गुनासा र अपेक्षा के रहेछन् ? 
मतदाताको सबैभन्दा ठूलो गुनासो उम्मेदवार जितेर गएपछि गाउँ फर्कँदैनन् भन्ने छ । मतदाताले सडक, बिजुली, खानेपानीकै मुद्दा उठाएका छन् । बाटोचाहिँ बर्खामा पनि सहज रूपले हिँड्न सकियोस् भन्ने रहेछ । गाउँमा कृषिकर्म गर्ने धेरै छन् । तसर्थ, सिँचाइका कुरा पनि मतदाताले उठाइरहनुभएको छ । 

चुनावमा तपाईंका एजेन्डा के हुन् ? 
मैले पनि जनताको चाहना र आवश्यकताअनुसार कै एजेन्डा उठाएको छु । जनताको आवश्यकतालाई बुझेर तिनलाई पूरा गर्ने मेरो एजेन्डा हो । दिगो शान्ति, समृद्धि र विकासका कुरा उठाएको छु । पहिचान र अधिकारका कुरा उठाएको छु । म निर्वाचित भएँ भने आदिवासी नागरिकको भाषा, संस्कृति, पहिचान, इतिहासलाई रक्षा गर्छु भनेको छु । 

दलहरूको संगठन गाउँ–गाउँसम्म छ, तपाईंको संगठन छैन । यस्तो अवस्थामा मतदातालाई आफूतिर तान्न कति सहज छ ?
संगठन नहुँदा तल्लो तहसम्म पुग्न एकदमै गाह्रो छ । तर, चुनावी माहोल जुन बनेको छ, त्यसले सन्तुष्ट बनाएको छ । सबै ठाउँमा आइदिनू हामी तपाईंलाई भोट दिँदै छौँ भनिरहेका छन् । कांग्रेस, एमाले, माओवादीलगायत पार्टीका साथीहरूले समेत पार्टी आफ्नो ठाउँमा छ, भोटचाहिँ तपाईंलाई है भनेका छन् । संगठन हुँदा प्रचारमा सहजता हुन्थ्यो होला । कतिपय ठाउँमा पहिचानको आन्दोलनका क्रममा बनेका संघर्ष समितिलाई चुनावी प्रचारप्रसारमा खटाएका छौँ । तर, त्यो पनि उस्तो ठूलो संगठन होइन । 

मतदाताले तपाईंलाई नै किन जिताउने ? त्यसको आधार के हो ?
पुराना दलबाट चुनौती त छ नै । संगठन भनेको संगठन नै हुन्छ । त्यहाँ मान्छेले लामो योगदान दिएको हुन्छ । आस्था र संगठनबाट यताउति हुन गाह्रो नै हुन्छ । तर, उहाँहरूबाट पनि हामी आफ्नो आस्थालाई थाती राखेर तपाईंलाई गोप्य मतदान दिन सक्छौँ भन्ने सन्देश आइरहेको छ । हर्क साम्पाङ, बालेन साह जसरी निर्वाचित भएर आए, हाम्रो स्वरूप त्यही हो । त्यसले एउटा सन्देश दिएको छ । हामीलाई सहज बनाएको छ । एकजना मान्छेको हो, उसको संगठन छैन । केही गर्न सक्दैन भन्ने कुरा गलत हो भनेर दरिलो सन्देश दिएको छ । 

इलाम २ मा आदिवासी जनजाति मात्र मतदाता छैनन्, अरू समुदायका मतदाता पनि छन् । यस्तो अवस्थामा जातीय मुद्दा अघि बढाउँदा चुनाव जित्न गाह्रो हुँदैन ? 
राई लिम्बूले पहिचानको कुरा उठाउँछन्, भोलि जातीय द्वन्द्व निम्त्याउँछन् भनेर पहिचानको मुद्दाबारे विपक्षीले एकदमै गलत प्रचार गरिरहेका छन् । एउटाको पहिचानको मुद्दा उठाउँदा अर्कोको पहिचान नामेट गर्ने भन्ने होइन । सबैको भावना, धर्म, संस्कृति र पहिचानको रक्षा गर्ने हो । पहिचान भनेको जातीय राजनीति हो भन्ने बुझाइ नै गलत छ । पहिचान भनेको सभ्यता, संस्कृति र इतिहास हो । सबैको भाषा, धर्म संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । 

 

ad
ad