१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ८ शनिबार
  • Sunday, 06 July, 2025
२o८१ बैशाख ८ शनिबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका सबै वडा सडकको पहुँचमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ८ शनिबार १८:४२:oo

हिमालको फेदमा रहेको पर्यटकीय गाउँ ओलाङचुङगोलामा तमोर कोरिडोर सडकको ट्र्याक पुगेसँगै जिल्लाका सबै वडा सडक सञ्जालले जोडिएका छन्।

चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोलासम्म तमोर करिडोरको ट्र्याक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो।

हिमाली तथा दुर्गम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म एक साताअघि मात्र सडकको ट्र्याक पुगेको हो। एक नगरपालिका र आठ गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा रहेका छन्।

ओलाङचुङगोला बस्ती तीन हजार २०० मिटरको उचाइमा छ। ओलाङचुङगोलासम्म ट्र्याक पुगेसँगै छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसतर्फबाट सडक सञ्जालमा जोडिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए। निर्माणाधीन तमोर करिडोरले तिब्बत–नेपाल सिमाना टिप्ताला भञ्ज्याङलाई जोडेको छ।

ट्र्याक निर्माण भएपछि ओलाङचुङगोलासम्म यातायातका साधन पुग्न थालेको वडाध्यक्ष छेतेन लामा शेर्पाले बताए। बर्खामा भने सडक हिलाम्मे तथा पहिरो जाने भएकाले यातायातका साधन नचल्ने वडाध्यक्ष शेर्पाले बताए। तमोर नदीमा कम्तीमा तीन वटासम्म मोटर गुड्ने पुल निर्माण भए मात्र बर्खामा पनि सहज रूपमा यातायात सञ्चालनमा आउनेछ।

यस्तै, ओलाङचुङगोलादेखि टिप्तालातर्फ निर्माण भएको सडक मर्मतसम्भारसहित स्तरोन्नति गर्नुपर्ने वडाध्यक्ष शेर्पाले बताए। एक वर्षअघि मात्र सडक पुगेको सिरिजंघा गाउँपालिका–६ मामाङखेसहित अन्य केही वडामा पनि बर्खामा यातायात सञ्चालन हुने स्थिति छैन।

सबै वडामा सडक सञ्जाल पुगे पनि कच्ची ट्र्याक भएको र धेरै ठाउँमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन सहज छैन।