१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस महोत्तरी
२o८१ बैशाख २० बिहीबार १३:४९:oo
Read Time : > 6 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

गहिरिँदै पानीको संकट

Read Time : > 6 मिनेट
रासस, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४९:oo

चैत सकिएर वैशाख लाग्दै छ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने वेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन्। अहिले नै पानी नपाइँदा अब वैशाख–जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्। जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ। खानेपानीका धारा चल्न छाडेका छन्।

यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन्। जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिबास– १२ को जुडी र भंगाहा– ४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार–पाँच वर्ष नै भइसक्यो। जुडी र जोकाहाको भूलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुन्जेल सुक्खा रहन्छन्।

‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बाह्रैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्,’ बर्दिबास– १२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्छन्, ‘यही जुडी भूलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो।’

यसैगरी जोकाहा भूल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारकी ८० वर्षीया चौठी बाँतर बताउँछिन्। ‘जोकाहा भूलकै बाँधबाट सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो,’ बाँतर बिरक्तिँदै भन्छिन्।

यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे। कतै पानी देखिन्न। पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन्। जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिए पनि उत्तरी क्षेत्रमा नामनिसान देखिँदैन। ‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुवस्तुलाई नुवाइधुवाई गराउन छाडियो,’ भंगाहा– ४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारू भन्छन्, ‘अब कठिन दिन आउँदै छन् जस्तो लाग्छ।’

यसैगरी, अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको संकट बढ्दो छ।  ‘हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो,’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास– २ की गृहिणी नगिना महतो भन्छिन्, ‘अब नुवाइधुवाई, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिँदैन।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख–जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ। दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछिन्।

बर्दिबासका खानेपानी धाराजडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ। चुरे शृंखलाका खोँचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिँदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो। ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ,’ बर्दिबास– १४ की सुनिता साह भन्छिन्, ‘पानी बढी चाहिने बिहानपख नै धारामा पानी आउँदैन।’ अरू आवश्यकता जे–जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछिन्। जतिखेर पनि पानी आइरहने धारामा अब त कतिवे पानी आउँछ भनेर समय पर्खनुपर्ने भएको उनको भनाइ छ।

बर्दिबास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन्। वडा नम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी ट्यांकीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन्। अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो। यसैगरी, इनारको पानीको सतह पनि दिनदिनै गहिरिँदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास– १२ का रामविलास सिंह कुशवाह बताउँछन्। ‘मोटरले त तान्न छाड्यो, अब त बाल्टिन पनि डुब्दैन,’ उनले भने। मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुरावासी बताउँछन्।

जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरी क्षेत्रका बर्दिबास, भंगाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ। नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुँयाल बताउँछन्। यद्यपि, बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिँदै आएको उनको भनाइ छ।

सामान्यतया प्रत्येक वर्षजसो वैशाख–जेठमा पानीको संकट झेल्दै व्यहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्न सक्ने चिन्ताले पिरोलिएका छन्। नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्न सक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ। भंगाहा– ४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला ५–६ वर्षदेखि कवाडी बनेका रामनगर बस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन्। ‘चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्,’ उनले भने।

बर्दिबास नगरपालिका क्षेत्रका धेरैजसो बस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी संकलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ। यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घरघरमा वितरण गरिएका धारामा पानी घटेको हो। बर्दिबास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही बस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही बस्तीमा इनार प्रयोग हुँदै आएका छन्। अहिले धमाधम चापाकल सुक्दै छन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ।

त्यसैगरी, भंगाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन्। यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला– ९ भरतपुरका शिवशरण राय बताउँछन्। ‘चापाकल धमाधम सुक्दै छन्,’ आफ्नो आँगनको चापाकल देखाउँदै रायले भने, ‘अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नुपर्लाजस्तो छ।’ यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो।

भंगाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडा नम्बर ४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको संकट चुलिँदै छ। वडा नम्बर ४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडा नम्बर ५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुह्मालटोल र चौधरीटोलमा चापाकल कुनै काम लाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादवले बताए। ‘अब यी बस्तीमा चापाकल फेल भयो, अहिलेलाई इनारले बचाइराखेको छ,’ उनले भने, ‘इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ।’ यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन्।

भंगाहा नगर क्षेत्रका ४ र  ५ नम्बर वडा बस्तीहरूमा बर्सेनि गर्मीयाममा खानेपानीको संकट पर्दै आएको छ। ‘लगभग दुई दशकअघि होला, १५–१६ हातभन्दा बढी इनार खन्न सकिँदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके,’ भंगाहा– ४ रामनगरका ५८ वर्षीय गंगाराम महतो भन्छन्, ‘अब त ६० हात नपुर्‍याई पानी भेटिँदैन, किन यस्तो भएको होला ?’

यसैगरी, चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका ३, ४, ५, १० र ११ नम्बर वडामा ४० भन्दा  बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी संकट झेल्नु समान पीडा बनेको छ । ‘पहिलेपहिले यहाँका खोल्सी र जरुवा कहिल्यै सुक्दैनथे, सधैँ सदाबहार पानी चल्थ्यो,’ बर्दिबास– ४ माईस्थान शिरका ७० वर्षीय रामबहादुर राना भन्छन्, ‘पछिल्ला केही दशकयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा ढुंगा झिक्न ठूलाठूला यन्त्र चल्न थालेपछि अनुकूल वर्षा हुन छाडेर पानीका मुहान सुकेका जान्ने–बुझ्ने बताउँछन्।’ वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान सुक्ने गरेका विज्ञहरूको भनाइप्रति आफू सहमत रहेको राना बताउँछन्।

त्यसैगरी, खानेपानीको स्रोत इनार मात्र भएका बर्दिबास– ८ को हाथीलेटमा पर्ने विजयबस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन्। यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा भोला श्रेष्ठले बताए। यस्तै, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगरमा धमाधम इनार सुक्न थालेपछि चैत सकिनुअघि नै खानेपानीको संकट बढेको छ।

खानेपानीका स्रोतका मुहानसँगै बस्तीबस्तीका सार्वजनिक पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि वस्तुभाउको नुवाइधुवाई र पानीघाटको सुविधा पाइन छाडेको छ। इनारको पानीबाहेक सिँचाइको अरू सुविधा नहुँदा आफूहरूको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत संकटमा परेको भंगाहा– ४ रामनगर बस्तीकै किसान चन्देश्वर राय दनुवार बताउँछन्। जिल्लाका गाउँ नगर बस्तीमा अचेल ०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता)ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अडकल छ। मसला सघन रोपिएका क्षेत्रमा त्यसअघि रहेका सदाबहार मूल सबै सुकेका बर्दिबास–८ हाथीलेटका शेरबहादुर तामाङ बताउँछन्। 

यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुवा–ढुंगा उत्खनन गर्नेहरूले ठुल्ठूला गहिरा खाल्डा बनाउँदा पानीको संकट बढेको हो। यसैगरी चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैत नसकिँदै पानीको संकट बढेको विज्ञ बताउँछन्। ‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरबाही भयौँ,’ महोत्तरीमा वर्षौँदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, ‘नदीहरूको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो संकट झन्–झन् बढ्दै जानेछ।’

०७४ यता स्थानीय तहमा जनप्रतिनिधिहरूले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्–न् बढ्दै गएको छ। इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने गरेका भंगाहा– ७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा. विजयकुमार सिंह बताउँछन्। चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुंगिने डा. सिंह ठोकुवा गर्छन्। विगतमा राष्ट्रपति चुरे मधेश संरक्षण तथा विकास समितिमा आबद्ध रहेका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आएका छन्।

पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जंघा, भब्सी, रातु, बडहरीसहितका नदीबाट बालुवा–ढुंगा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा पानीका मुहान चाँडै सुक्न थालेकाे विज्ञहरूको भनाइ स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ। यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन्। ‘हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोगका नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरी रहेका छौँ,’ भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्छन्, ‘विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनाेट गरिँदा र कार्यान्वयमा लगिँदा प्राकृतिक सम्पदाहरूको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ।’

स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिइएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरूको मत पाइन्छ।

ad
ad