१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले सोमबार बोलाएको बैठकमा प्रमुख चार दलका शीर्ष नेताहरू । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको अडानले सत्तापक्ष दबाबमा, जुटेन सहमति

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४७:oo

मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले विधेयक पेस गर्ने कार्यसूची, रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गरेको प्रमुख प्रतिपक्षी कांग्रेसलाई मनाउन बसेको प्रमुख चार दलको बैठक निष्कर्षविहीन बनेको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा दलका नेता तथा सचेतकहरूको बैठकले निकास निकाल्न सकेन । मंगलबार प्रतिनिधिसभा बैठक छ । 

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले २४ फागुनदेखि संसदीय छानबिन समितिको माग गरिरहेको छ । कांग्रेसले मन्त्री लामिछानेलाई सदनको रोस्टममा पनि जान दिएको छैन । २ चैतमा लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पेस गर्न खोज्दा कांग्रेसले वेल घेराउ गरेर रोकेको थियो । अन्य बिजनेसमा भने सदन चल्न दिएको छ ।

सदनमा कांग्रेसले बैठकको सुरुमा आफ्नो माग राखेर बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल तथा केही विधेयकमाथि सैद्धान्तिक छलफल, दफावार छलफल तथा पारित गर्न दिएको छ । पछिल्लो २१ गतेको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले दिएको अल्टिमेटम सकिएको भन्दै छानबिन समिति नबनाए अब सदनको कामकारबाही अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए । 

कांग्रेसको चेतावनीपछि सभामुखले सोमबार बोलाएको बैठक दलहरूको आ–आफ्नै अडानका कारण निष्कर्षविहीन बनेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘प्रमुख प्रतिपक्षीले संसदीय छानबिन समिति हुनैपर्छ भन्यो, सत्तापक्षले बनाउन सकिँदैन भन्यो । कुरो मिलेन, नयाँ कुरा केही आएन,’ उनले भने, ‘हरेक विषयवस्तुमा छानबिन समिति बनाएर साध्य लाग्ने विषय भएन । प्रमाणित कुरा केही पनि छैन, त्यही भएर सत्तापक्ष सहमत भएन ।’ 

प्रतिनिधिसभाको चैत मसान्तसम्मको क्यालेन्डरमा २७ चैतमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक पेस गर्ने कार्यसूची तय गरिएको छ । यसअघि २ चैतमा कांग्रेसकै अवरोधका कारण सदनमा पेस गर्न नसकेको विधेयक मंगलबार पेस गर्ने कार्यसूची तय गरिएका वेला कांग्रेसले दलहरूको बैठकमा आफ्नो अडान दोहोर्‍याएको हो । बैठकको सुरुवातमा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन दलहरू मिलेर जानुपर्ने धारणा राखेका थिए । ‘संसद्मा महत्वपूर्ण विधेयक छन् । कम्तीमा पनि तिनलाई पास गरौँ । संसद् प्रभावकारी भएन भन्ने गुनासो छ, प्रभावकारी बनाऊँ,’ उनले भने ।  

सभामुखपछि कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखकले सहकारी समस्या अन्त्य गर्न संसदीय छानबिन समिति बनाएर जानुपर्ने धारणा राखे । सभापति शेरबहादुर देउवा बैठकमा बोलेनन् । ‘सहकारीको यत्रो धेरै समस्या आएको छ । यसमा संसदीय छानबिन समिति बन्नुपर्छ भनेर न्यूनतम माग राखेका हौँ,’ लेखकले बैठकमा भने, ‘सरकारले यति पनि नबनाउने हो भने राम्रो हुँदैन । हाम्रो माग पूरा नहुने हो भने सरकारले चाहे जसरी सदन अगाडि बढ्दैन ।’

एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो मागमा पुनर्विचार गर्न कांग्रेसलाई अनुरोध गरे । ‘यो विषयमा समिति बन्ने कुरा उपयुक्त देखिँदैन । कांग्रेसले उठाएको विषय रिभ्यु गरोस्,’ उनले भने ।

रास्वपा सभापति लामिछानेले सहकारीमा आफ्नो कतै संलग्नता नरहेको भन्दै संसदीय छानबिन समिति जरुरी नभएको टिप्पणी गरे । आफू जनताबाट निर्वाचित भएर आएको सांसद भन्दै लामिछानेले रोस्टममा बोल्न नदिएकोमा असन्तुष्टि जनाए । ‘जनमत लिएर आएको सांसद हुँ, मैले रोस्टममा गएर कुरा राख्न नपाउने ? विषय स्पष्ट पार्न त पर्‍यो नि । मेरो कहीँकतै संलग्नता छैन । अदालतमा गएको मुद्दामा प्रतिवादी छैन । कहीँकतै किटानी जाहेरी छैन । कांग्रेस नै सत्तामा हुँदा सहकारीमा मलाई नै खोज्नुभएको हो नि । तर, कहीँ केही पाउनुभएन र गर्न सक्नुभएन । सम्माननीय प्रधानमन्त्रीज्यूले सबै कुरा बुझेर त संलग्नता छैन भनिसक्नुभएको छ । यी सबै कुरा प्रस्ट हुँदा अहिले यसरी प्रस्तुत हुने कुरा मिलेन,’ उनले भने । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका बैठकमा जस्तै आफ्नो कुरा राखेर सदन चल्न दिन कांग्रेसलाई अनुरोध गरेका थिए । ‘तपाईंहरू योभन्दा अगाडि जे गरिरहनुभएको थियो, त्यही हिसाबमा आफ्नो कुरा राख्नुस् । संसद्का कामकारबाही अगाडि बढ्न दिनुस् । हाम्रा केही महत्वपूर्ण विधेयक छन्, ती विधेयकमा काम गरौँ,’ उनले भने, ‘तपाईंको माग पनि यथावत् राख्नुस्,  सदन नियमित ढंगले चल्न दिनुस्, नरोकिदिनुस् ।’

अन्त्यमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सोधे, ‘के छ, तपाईंहरू भोलि हाउस चल्न दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंहरूको कुरा के हो ?’ जवाफमा देउवाले ‘समिति त बनाउनुपर्छ । सहकारी टुंग्याउनुपर्छ,’ भनेका थिए । यसमा प्रमुख सचेतक लेखकले भने, ‘हाम्रो मागबाट हामी पछि हट्दैनौँ ।’

कांग्रेस आफ्नो अडानबाट टसको मस नभएपछि कुनै निष्कर्षमा नपुगी बैठक सकियो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रधानमन्त्री र सभामुख घोडेजात्रा समारोहमा सहभागी हुन जानुपर्ने समयको चापका बीचमा बैठकमा पर्याप्त छलफल हुन सकेन । मंगलबार बिहान पुनः बस्ने प्रस्ताव गरे पनि कांग्रेस संसदीय दलको बैठक बिहान ८ बजे आह्वान गरिएकाले निश्चित हुन सकेन । 

आज कांग्रेस संसदीय दलको बैठक 
प्रमुख सचेतक रमेश लेखकले मंगलबार सदनमा खेल्नुपर्ने भूमिकाबारे निर्णय लिन बिहान संसदीय दलको बैठक बस्न लागेको बताए । संसदीय छानबिन समिति नबने संसद् बैठक अवरुद्ध हुने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । लेखकका अनुसार सोमबार साँझ सभापति देउवानिवासमा बसेको पार्टी पदाधिकारी बैठकले संसदीय छानबिन समितिको अडान जोडदार रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

ad
ad