१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार oo:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सडनडेथमा विभागीय टिम एपिएफलाई हराउँदै घरेलु टिम सांग्रिला मोरङ फाइनलमा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार oo:४४:oo

घरेलु टिम सांग्रिला मोरङ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न आठौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)लाई सडनडेथमा ४-३ गोलअन्तरले हराउँदै सांग्रिला मोरङ फाइनलमा प्रवेश गरेको हो ।  

विराटनगरको सहिद रंगशालामा रात्रिकालीन समयमा आयोजना भइरहेको गोल्डकपको क्वार्टरफाइनलमा चर्च ब्याइज क्लबलाई पराजित गरेको एफिएफ र रोयल थिम्पु भुटानलाई पराजित गरेको सांग्रिला मोरङबीच पहिलो सेमिफाइनलमा बुधबार रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । 

अब सांग्रिलाले मच्छिन्द्र क्लब काठमाडौं र भारतको ड्रागन सिक्किमबीचको विजेतासँग उपाधिका लागि २४ चैतमा भिडन्त गर्नेछ।

बुधबारको खेलमा दुवै प्रतिस्पर्धी टिमले आक्रामक प्रतिस्पर्धा गरे पनि निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि गोल गर्न सकेनन् । प्रारम्भिक पाँच पेनाल्टी प्रहारसमेत बराबरी भएपछि सडनडेथबाट नतिजा आएको हो।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक सडनडेथमा दुवै टोलीले ३–३ गोल गरेका थिए । टाइब्रेकरमा घरेलु टिमका लागि आशिष चापागाईं, अविषेक लिम्बू, उमेश कार्की र किरन राईले गोल गरे । विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार  एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाए।

एपिएफको तर्फबाट दिपेश धिमाल, कुलदीप कार्कीको प्रहार सांग्रिलाका गाेलरक्षक विशाल सुनारले बचाउँदा अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासको प्रहारले जाली चुमेको थियो। 

सांग्रिलाको जितमा गोलरक्षक विशालको भूमिका उल्लेख्य रह्यो । उनले एपिएफका तर्फबाट निर्धारित र अतिरिक्त समयका आधा दर्जनभन्दा बढी प्रहारलाई निस्तेज पार्दै टिमलाई फाइनल यात्रा तय गराए। यसैकारण खेलमा उनी नै प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

जितपछि सांग्रिलाका प्रशिक्षक रानु रानामगरले विभागीय टोली बलियो भए पनि पूरा समय बल नियन्त्रण गर्न सफल हुँदा जित सम्भव भएको प्रतिक्रिया दिए। एपिएफका प्रशिक्षक बुद्धिमान राईले भने निर्धारित समयमा खेलाडीहरूले पाएको मौका गोलमा परिणत गर्न चुक्दा पराजय व्यहोर्नुपरेको बताए।

१५ चैतदेखि जारी आठौँ विराट गोल्डकप फुटबल प्रतियोगितामा तीन विदेशीसहित दश टिमको सहभागिता थियो। गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जानकारी दिएको छ।

ad
ad