१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

केजरिवाल थप १५ दिन न्यायिक हिरासतमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३५:oo

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा राखिएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको अप्ठ्यारो कम हुने कुनै संकेत देखिएको छैन । उक्त मुद्दामा प्रवर्तन निर्देशनालयको हिरासतमा दोस्रोपटक थपिएको म्याद सोमबार समाप्त भएपछि केजरिवाल अर्को दुई साता जेलमा बिताउने भएका छन् । स्थानीय अदालतले उनलाई अप्रिल १५ सम्म जेल चलान गरेको छ । उनलाई तिहाड जेल चलान गर्नुअघि अदालतले उनकी पत्नी सुनिता केजरिवाल र मन्त्रीहरू आतिसी र सौरभ भारद्वाजसँग भेट्न पनि अनुमति दिएको थियो ।

केजरिवाललाई मार्च २१ मा मदिरा नीति घोटालामा पक्राउ गरिएको थियो । केन्द्रीय एजेन्सीले नौपटकसम्म गरेको बोलावटलाई अस्वीकार गरेपछि उनी पक्राउ परेका थिए । पक्राउपछि उनले इडीको हिरासतबाटै सरकार चलाएका थिए । केजरिवाललाई सोमबार बिहान हिरासतको म्याद सकिनुअघि दिल्लीको राउज एभिन्यु अदालतमा पेस गरिएको थियो । सोधपुछका क्रममा उनी ‘असहयोगी’ देखिएको र अस्पष्ट जवाफ दिएको इडीले जनाएको छ । उनले आफ्नो डिजिटल उपकरणको पासवर्ड खुलासा नगरेको इडीले अदालतलाई बताएको थियो ।

सम्पत्ति शुद्धीकरण आरोपको छानबिन गरिरहेको इडीले भविष्यमा फेरि उनलाई हिरासतमा राख्न सकिने जनाएको छ । इडीका अनुसार केजरिवालले अन्य आप सदस्यविरुद्ध झुटा प्रमाण दिएका थिए । केजरिवालका वकिलले उनको अस्वस्थतालाई ध्यानमा राख्दै जेलभित्र केही औषधि र विशेष आहारको माग गरेका छन् । जेलमा रहेका मुख्यमन्त्रीलाई रामायण, श्रीमदभगवद् गीता र हाउ प्राइमिनिस्टर डिसाइड (पत्रकार नीरजा चौधरीद्वारा लिखित)को प्रतिलिपि उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

मुख्यमन्त्रीले आफ्नो गिरफ्तारीविरुद्ध दिल्ली उच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् । उनले अनुसन्धान एजेन्सीले आफ्नो मौलिक अधिकारको हनन गरेको तर्क गरेका छन् । अदालतले इडीलाई सूचना जारी गर्दै अप्रिल २ सम्ममा जवाफ माग गरेको थियो । सुनुवाइ अप्रिल ३ मा पुनः सुरु हुनेछ ।

गिरफ्तारीलाई केजरीवालले ‘राजनीतिक षड्यन्त्र’ भनेका छन् । उनले पछिल्लो सुनुवाइका क्रममा अदालतमा सम्बोधन पनि गरेका थिए र कुनै पनि अदालतले आफूलाई दोषी प्रमाणित नगरेको दाबी गरेका थिए । दिल्लीको मदिरा व्यवसायमा सुधार ल्याउन अन्तःशुल्क नीति लागू गरिएको थियो । तर, लेफ्टिनेन्ट गभर्नर विके सक्सेनाले नीतिमा कथित अनियमितताको छानबिन गर्न आदेश दिएपछि खारेज गरियो ।

केजरीवालको पक्राउलाई लिएर भारतमा विपक्षी ‘इन्डिया’ गठबन्धनले तीव्र विरोध जनाएको छ । आइतबार ‘लोकतन्त्र बचाऊ’को नारा दिएर दिल्लीको रामलीला मैदानमा गरिएको सभामा विपक्षी नेताहरूले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लोकतन्त्र संकटमा पारेको आरोप लगाएका थिए । 
–एनडिटिभीबाट

ad
ad