१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नेपालविरुद्ध टी–२० सिरिज २–१ ले जित निकालेको आयरल्यान्ड ‘ए’का खेलाडी । तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आयरल्यान्ड ‘ए’माथि तीन रनको रोमाञ्चक जित

२१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई २१० रनमा रोक्दै नेपालले अन्तिम टी–२० खेलमा तीन रनको जित निकाल्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५२:oo

नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोलीले सोमबार आयरल्यान्डको ‘ए’ टोलीविरुद्ध टी–२० सिरिजमा रोमाञ्चक तीन रनको जित निकालेको छ । लगातार दुई खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको नेपालले त्रिवि क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलको अन्तिम ओभरमा जित हात पारेको हो । पहिलोपटक ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल कटाएको थियो ।

चालू सिरिजमा पहिलो ब्याटिङ गरेको टोलीले दुई सय रनको योगफल पार गरेको हो । यसअघि आयरल्यान्डले अघिल्ला दुई खेलमा पहिलो ब्याटिङ गरी दुई सय रनमाथि योगफल खडा पारेको थियो । तेस्रो खेलमा नेपालका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दा आयरल्यान्ड दबाबमा देखियो । दुई सय १४ रन पछ्याएको आयरयान्डले २० ओभरमा सातै विकेटको क्षतिमा दुई सय १० रन जोड्यो । यस नजितासँगै आयरल्यान्डले अनअफिसियल टी–२० सिरिजमा नेपालमाथि ३–० को जित निकाल्ने सपना अधुरो भएको छ । 

रासिदले फ्याके अन्तिम ओभर
आयरल्यान्डलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । नेपालका कप्तान विनोद भण्डारीले अन्तिम ओभर रासिद खानलाई गर्न लगाए । क्रिजमा फिनोन हान्डले स्ट्राइक लिएका थिए । उनले खानको पहिलो चार बलमा १४ रन बटुल्दै आयरल्यान्डलाई जितको आशा दिलाए । हान्डले १९.१ ओभरमा छक्का प्रहार गरेका थिए । त्यसपछिका दुई बलमा उनले दुई–दुई रन लिए । इनिङ्सको १९.४ ओभरमा हान्डले चौका प्रहार गरी टोलीलाई जितनजिक पुर्‍याए । हारनजिक पुगेको नेपाललाई खानले पुनः आशा दिलाए । उनले १९.५ ओभरमा उत्कृष्ट फिनिसिङ गर्ने तयारीमा रहेका हान्डलाई आरिफ सेखबाट रन आउट गराए । हान्डको रनआउटसँगै नेपालतर्फ खेल फर्कियो । इनिङ्सको १९.६ ओभरमा म्याककार्थीले बाईका रूपमा एक रन लिए । 

यससँगै नेपालले आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि तीन रनको सनसनी जित निकाल्न सफल भयो । इनिङ्सको अन्तिम दोस्रो ओभरमा आयरल्यान्डले १२ रन जोडेको थियो । आयरल्यान्डका लागि हान्डले सात बल सामना गरी दुई छक्का र एक चौका प्रहार गरी २२ रनको योगदान दिए । रासिदले चार ओभरमा ५५ रन खर्चेर एक विकेट लिए । नेपालको बलिङमा विपिन खत्रीले कसिलो बलिङ गर्दै चार ओभरमा एक मेडन राखे । उनले २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । नारायन जोशीले ३७ रन तथ कमल ऐरीले ४२ रन खर्चेर समान एक विकेट हात पारे । 

आरिफको सर्वाधिक ९३ रन
पहिलो ब्याटिङ गरेको नेपालको सुरु गतिलो भएन । स्कोर बोर्डमा ३३ रन गुमाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो । आयरल्यान्डका बलर पुनः एकपटक नेपालको ब्याटिङमाथि दबाब सिर्जना गर्न सफल भए । पहिलो खेलमा शतकीय इनिङ्स खेलेका लोकेश बम केवल आठ रनमा आउट भए । दोस्रो ओपनर देव खनाल ६ रनमा पेभेलियन फर्के । कप्तान विनोद एक छक्काको सहयोगमा ११ रन जोड्दै आउट भए ।

उनी आउट हुँदा नेपाल ४.५ ओभरमा ३३–३ को अवस्थामा थियो । त्यसपछि आरिफ सेख र बसिर अहमदबीच चौथो विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी भयो । दुवैले नेपाललाई ३३–३ बाट ८०–४ को स्थितिमा राखे । बसिरले २१ बलमा तीन चौका प्रहार गरी १९ रन जोडे । सेखले अन्तिमसम्म नटआउट रही लगातार विकेटका लागि साझेदारी गर्न सफल रहे । उनले पवन सराफसँग पाँचौँ विकेटका लागि ४० रन जोडे । पवनले १२ बलमा १३ रन बनाए । 

नेपालको ब्याटिङ इनिङ्समा पुछारका ब्याट्सम्यानले सेखलाई गतिलो साथ दिए । अलराउन्ड प्रदर्शन गरेका रासिदले सेखसँग सातौँ विकेटका लागि ४६ रन जोडेका थिए । रासिदले १३ बलमा तीन छक्काको सहयोगमा २४ रन बनाए । कमलसँग सेखले आठौँ विकेटका लागि अविजित ४६ रन बटुल्दा नेपालले आयरल्यान्डलाई दुई सय १३ रनको योगफल खडा गरेको हो । सेखले ४८ बल सामना गरी सात चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ९३ रनको योगदान दिए ।  

दुई अर्धशतक
लक्ष्य पछ्याएको आयरल्यान्डको इनिङ्समा दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर रोस आदिरले उत्कृष्ट सुरुवात दिलाएको आयरल्यान्डलाई मोर्गान पिङ र गेराथ डेलानीले अर्धशतक योगदान दिएका थिए । रोसले १४ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३१ रनको योगदान दिए । उनी आउट हुँदा आयरल्यान्ड ३.२ ओभरमा ४० रनको अवस्थामा थियो । आयरल्यान्डले १२ रनका अन्तरमा तीन विकेट गुमाएको थियो । 

इनिङ्सको ३.५ ओभरमा ४१–२ मा रहेको आयरल्यान्ड ५२–४ को कमजोर अवस्थामा पुग्यो । मोर्गान र गेराथले पाँचौँ विकेटका लागि १ सय २९ रनको शतकीय साझेदारी गर्दै आयरल्यान्डलाई १७.४ ओभरमा १८१–५ को बलियो अवस्थामा पुर्‍याए । रासिदले मोर्गानको विकेट लिँदै खेल नेपालतर्फ ल्याउने प्रयास गरे । मोर्गानले ३७ बलमा समान चार चौका र छक्का प्रहार गरी ६० रन बटुले । मोर्गान आउट भएको दुई रनको अन्तरमै गेराथले आफ्नो विकेट गुमाए । उनले ३७ बलमा समान पाँच चौका र छक्का प्रहार गरी ६८ रन बनाए । नेपाल बलिङमा १२ अतिरिक्त रन दिएको थियो । 

ad
ad