न्युयोर्क प्रहरी विभागका अधिकारीले बुधबार कोलम्बिया विश्वविद्यालयमा शिविर बनाएर बसेका प्यालेस्टाइन समर्थक विद्यार्थीमाथि कारबाही चलायो । यस क्रममा कोलम्बिया विश्वविद्यालयभित्र र बाहिर करिब तीन सयजनालाई गिरफ्तार गरिएको न्युयोर्क प्रहरीले एक पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।
अधिकांश गिरफ्तारी सिटी कलेज भवनमा भएको न्युयोर्क प्रहरी विभागका गस्ती प्रमुख जोन चेलले पत्रकार सम्मेलनमा भने । चेलका अनुसार ह्यामिल्टन हलको तोडफोडको आरोपमा पक्राउ परेका २८२ मध्ये १७३ सिटी हल र बाँकी १०९ कोलम्बिया विश्वविद्यालयमा पक्राउ परेका थिए । अधिकारीहरूले पक्राउ परेकामध्ये ती दुई विश्वविद्यालयसँग आबद्ध व्यक्तिको संख्या यकिन गर्ने प्रयास भइरहेको पनि बताए ।
प्रहरीले कारबाही चलाउनुअघि कोलम्बिया विश्वविद्यालयको प्रशासनले मंगलबार न्युयोर्क प्रहरी विभागलाई एक पत्र लेख्दै प्यालेस्टिनी समर्थक प्रदर्शनकारीले कब्जा गरेको भवन खाली गरिदिन आग्रह गरेको थियो । विश्वविद्यालय कुलपति नेमक सफिकले प्रहरीलाई प्रदर्शनकारी हटाइदिन सहयोग माग्दै न्युयोर्क प्रहरी विभागलाई लेखेको पत्र मंगलबार सार्वजनिक भएको थियो । पत्रमा क्याम्पसको आगामी सत्र सुरु नहुँदासम्म अर्थात् कम्तीमा मे १७ सम्म प्रहरीको एक टोली क्याम्पसभित्रै तैनाथ रहन आग्रह गरिएको छ ।
उता अमेरिकाको पश्चिमी भेगमा अवस्थित अर्को विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया–लस एन्जेल्स (युसिएलए) मा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि इजरायली समर्थक भिडले आक्रमण गर्दा हिंसात्मक स्थिति उत्पन्न भयो । मास्क लगाएर आक्रमणमा उत्रिएका इजरायल समर्थकहरू सयौँको संख्यामा रहेका र अधिकांश विश्वविद्यालयबाहिरका मानिस रहेको जस्तो देखिएका थिए ।
आक्रमणकारीले विश्वविद्यालयको हातामा धर्ना दिई बसेका प्यालेस्टिनी समर्थक विद्यार्थीको शिविर भत्काउने प्रयास गरेको भिडियो क्लिप समाजिक सञ्जालमा भाइरल भइरहेको छ । युसिएलएका प्यालेस्टिनी समर्थक विद्यार्थीले इजरायलसँग तिनको विश्वविद्यालयको आर्थिक सम्बन्ध तोकड्नुपर्ने माग राख्दै विगत दुई दिनदेखि क्याम्पस हातामा शिविर बनाएर विरोध गरिरहेका थिए । युसिसिएल प्रशासनले प्यालेस्टिनी समर्थनमा क्याम्पस हातामा खडा गरिएका शिविरलाई अवैध घोषित गरेपछि उक्त झडप भएको थियो ।