१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाँकेको नौबस्तामा आजदेखि क्षेत्रीय कारागार सञ्चालन हुँदै, पहिलो चरणमा २५२ कैदीबन्दी राखिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:३५:oo

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तास्थित क्षेत्रीय कारागारको बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने भएका छन् । कारागारमा पहिलो चरणमा दुई सय ५२ कैदीबन्दी राख्ने योजना रहेकोे बाँके जिल्ला कारागारका जेलर अर्जुनजंग शाहले जानकारी दिए । पहिलो चरणमा बी ब्लकमा कैदीबन्दी राख्ने उनको भनाइ छ ।

कारागारका चारवटा ब्लकलाई ए, बी, सी र डीमा विभाजन गरिएको छ । ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको छ । क्षमताभन्दा धेरै रहेका कारागारका कैदीबन्दीलाई यहाँ ल्याउने तयारी गरिएको शाहले बताए । ‘जहाँका कारागारमा कैदीबन्दी राख्न समस्या भएको छ, त्यहाँकालाई नौबस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गर्ने तयारी छ,’ उनले भने । 

प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माण गरिएको छ । झन्डै १० बिघा क्षेत्रफलमा एक हजार क्षमताको भौतिक संरचना निर्माण भएको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै ब्यारेक, प्रशासनिक भवनलगायत संरचना निर्माण भएका छन् । ‘हजारजना अट्ने भौतिक संरचना निर्माण भएको छ, तर पहिलो चरणमा दुई सय ५२ जना मात्र राख्ने तयारी छ,’ उनले भने, ‘अन्यत्रबाट ल्याउनैपर्ने भएमा थप कैदीबन्दी राख्न सकिनेछ । त्यसको तयारी भइरहेको छ ।’

तेस्रो चरणमा १५ बेडको अस्पताल, माध्यमिक विद्यालयलगायत संरचना निर्माण गर्ने लक्ष्य छ । पाँच सयभन्दा बढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रूपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने प्रावधान नयाँ कारागार ऐनमा छ । क्षेत्रीय कारागारमा कैदीबन्दीलाई सीपमूलक तालिम दिन हलको व्यवस्था गरिएको छ । कारागारको नियम उल्लंघन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुईवटा अँध्यारा साँघुरा कोठा पनि बनाइएको जेलर शाहले बताए । 

जीर्ण अवस्थामा जिल्ला कारागार
विसं २००० मा निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय ५० जना अट्ने क्षमता भएको कारागारमा आठ सय ९५ कैदीबन्दी रहेका जेलर शाहले बताए । पर्याप्त ठाउँ नभएपछि कैदीबन्दी बरन्डा, भान्सा र शौचालयको छतमा समेत सुत्न बाध्य छन् । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, सुनुवाइका लागि अदालत लैजानुपर्ने, उपचार गराउनुपर्ने बिरामी, वृद्धवृद्धा थुनुवालाई भने नेपालगन्जस्थित पुरानै कारागारमा राख्ने सरकारको योजना छ ।

ad
ad