१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
विदुरप्रसाद दाहाल
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्कुले बालबालिकालाई के सिकाउने, के नसिकाउने ?

Read Time : > 4 मिनेट
विदुरप्रसाद दाहाल
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo

बालबालिकालाई दु:ख र सुख, सम्पन्नता र अभाव, सभ्य र असभ्य भाषा सबै सिकाउन सकेमा मात्र ठीक र बेठीक पहिचान गर्ने क्षमताको विकास हुन्छ

आजभोलि बालबालिकाहरू भनेको पटक्कै मान्दैनन् भन्ने गुनासो शिक्षक र अभिभावकबाट सुन्नुपर्छ । छोराछोरी मोबाइल चलाउन, मोबाइल–कम्प्युटरमा खेल खेल्न र कार्टुन हेर्न मात्र खोज्छन् । सामाजिकीकरण पटक्कै छैन । एक्लै कोठामा बस्ने र मोबाइलमा रमाउने उनीहरूको दिनचर्या हुन्छ । बाहिर हिँड्न र घरायसी काममा सघाउन खोज्दैनन् । घरमा आएका परिचित वा नयाँ मानिससँग बोल्दैनन् । स्कुल छुट्टी हुँदा खुसी मनाउँछन् । गृहकार्यमा रुचि छैन । शिक्षकको आँखा छल्न सामाजिक सञ्जालमार्फत जान्ने साथीको गृहकार्य सार्ने वा एपहरूको उत्तर जस्ताको तस्तै उतार्ने क्रम बढेको छ । अन्तरक्रियात्मक तथा तार्किक क्षमता कमजोर छ । सामाजिक अन्तरक्रियामा रुचि छैन । 

मनोविज्ञानको पाटो
बाल मनोविज्ञानको कोणबाट हेर्दा बालबालिकाको रुचिअनुसार सिकाइ भएन । विषयवस्तु रुचिकर भएनन् । पढाउने शिक्षक–शिक्षिका र विद्यार्थीको बुझाइमा अन्तर भयो । शिक्षण सिकाइ बालबालिकाको रुचिअनुसार भएन । पुरानै पारामा विषयवस्तु प्रस्तुत गरियो । सिकाएका विषयवस्तु व्यावहारिक र जीवनोपयोगी हुन सकेनन् । शिक्षकले विद्यार्थीलाई विषयवस्तुको भारी बोकाउन खोजे । कति सिकाउने ? कस्ता विषयवस्तु सिकाउने भन्ने ज्ञान भएन । विषयवस्तुको ठाडो र समतलीय तालमेल कमजोर भयो । सिकाइ प्रक्रिया ठीक भएन । यसले गर्दा बालबालिकामा पढाइप्रति रुचि भएन । अभिभावक बालबालिकालाई शिक्षकले गृहकार्य नदिएकाले मोबाइलमा व्यस्त भए भनेर स्कुलमै पुग्छन् । समस्या यसैमा छ । कति गृहकार्य हुनुपर्ने हो ? सीमा भएन । 

समाज, संस्कार र घरपरिवारको पाटो
धनी र सम्पन्न अभिभावकले आफ्ना बालबालिकालाई समय दिएनन्, पैसा दिए । अभाव बुझेनन् या बुझाउन खोजिएन । जो पायो त्यही मानिससँग बोलचाल नगर्नू भन्ने सिकाइयो । अरूसँग बोलचाल गर्दा नराम्रो भाषा सिक्छन् भनेर बाहिरी मानिससँगको सामाजिकीकरण र अन्तरक्रियालाई बन्देज गरियो । यसले सामाजिक अन्तरक्रिया कमजोर भयो, सामाजिकीकरण हुन सकेन । त्यसैले, बालबालिकालाई दु:ख, सुख, सम्पन्नता, अभाव, सभ्य भाषा, असभ्य भाषा सबै सिकाउनुपर्छ । अनि मात्र ठीक र बेठीक पहिचान गर्ने क्षमताको विकास हुन्छ । यस्तो सिकाइ न परिवारले सिकायो न विद्यालयले । 

बालबालिकालाई बढी परनिर्भर बनाइयो । एक हिसाबले बढी संरक्षण गरियो । घरायसी काम लगायो भने पढाइ बिग्रन्छ, के नपुग्दो छ र बालबालिकालाई काम लगाउनु भन्ने पुरातन सोचले गर्दा बालबालिकाले जीवनोपयोगी सीप सिक्नै पाएनन् । अर्कातिर कमजोर आर्थिक हैसियत भएका अभिभावकले छोराछोरीलाई बढी काम लगाउँदा सिकाइमा समय दिन सकेनन् । आवश्यक कुराको जोहो गर्न नसक्दा उनीहरूलाई काममा बढी लगाइयो । यसले सामाजिकीकरणको पाटो कमजोर बन्यो । यसले पढाइप्रति दिक्दारी बढायो र सिकाइ कमजोर भयो ।

सिकाइका विषयवस्तु
पाठ्यक्रमले तोकेका विज्ञान र गणितका विषयवस्तुलाई सकेसम्म व्यावहारिकतासँग जोड्नुपर्छ । समाज र जीवनसँग जोड्न सके सिकाइ व्यावहारिक हुन्छ । विषयवस्तुको शिक्षण गर्दा सधैँ उनीहरूको स्तर र क्षमताअनुसार विषयवस्तु छनोट गर्नुपर्छ । पाठ्यपुस्तकका सैद्धान्तिक कुरालाई पनि व्यावहारिकतामा ढालेर सिकाउन सकिन्छ । त्यो क्षमता शिक्षकमा हुनुपर्छ । शिक्षण गर्दा सैद्धान्तिकता कम र व्यावहारिकता बढी हुनुपर्छ । यसको अर्थ जीवनोपयोगी कुरा सिकाउनुपर्छ । गृहकार्यको भारी बोकाउने चलन सुधार गरी सिर्जनात्मक गृहकार्य दिनुपर्छ । समयको महत्व, देशप्रतिको माया, सहयोगी भावना, व्यक्तिगत सरसफाइ, सरसफाइको महत्व, वृद्धवृद्धा, गरिब–असहायप्रति राम्रो व्यवहार गर्न सबैलाई सिकाउनुपर्छ । सामाजिक– जातीय विविधता, लिंग, जात–जाति, अनुशासन , नैतिकता, पढाइ र जीवनको महत्व, आत्मनिर्भरता, समस्या समाधान सीप, स्वस्थ बानी व्यवहार, असल आचरण, दु:ख–सुख, गरिबी, अभाव, परिवारको हैसियत, परिवेश, संस्कार, देशका नियम कानुन, प्रविधिको सदुपयोग, वातावरणीय संरक्षण आदि पनि सिकाउनुपर्छ । 

नसिकाउने विषयवस्तु
जातीय, लैंगिक तथा वर्गीय विभेदका कुरा बालबालिकालाई सिकाउनु हुँदैन । कुरीति, कुसंस्कार, अन्धविश्वास, अनावश्यक घमन्ड, भोगविलास, कुलत, नकारात्मकता, हिंसाजस्ता विषय पनि सिकाउनु हुँदैन । त्यसका बेफाइदा र खराब पक्षबारे सिकाउनुपर्छ । 

शिक्षक र अभिभावकको भूमिका
सबैभन्दा महत्वपूर्ण कुरा सिकाइ हो । घर–परिवारबाटै बालबालिकाको सिकाइ सुरु हुन्छ । तर, आफ्ना छोराछोरीलाई के सिकाउने ? के नसिकाउने ? कसरी सिकाउने ? भन्नेबारे बाबुआमालाई थाहा नहुन सक्छ । परिवारका अन्य सदस्यलाई पनि सिकाइबारे ज्ञान नहुन सक्छ । शिक्षित परिवारमा जन्मेका बालबालिकालाई उनीहरूका अभिभावकले धेरै कुरा घरमै सिकाउन सक्छन् । 

स्कुल दोस्रो पाठशाला हो, जहाँ उसलाई शिक्षक–शिक्षिकाले व्यावहारिक र सैद्धान्तिक कुरा सिकाउँछन् । शिक्षकलाई बाल मनोविज्ञानको पूर्ण ज्ञान हुनुपर्छ । विषयवस्तुलाई विद्यार्थीको रुचिअनुसार सिकाउने कला हुनुपर्छ । धेरै शिक्षकले बाल मनोविज्ञानको ख्याल गर्दैनन् । पाठ्यपुस्तक घोकाउने गर्छ्न । विद्यार्थीलाई त्यस्तो शिक्षण मन परिरहेको हुँदैन । शिक्षकको कर्कस र पट्यारलाग्दो भाषण मन पर्दैन । त्यही हुनाले विद्यार्थीले कक्षामा हल्ला गर्छन् । त्यसो गर्न नपाए निदाउँछन् । सुधार्नुपर्ने यही हो । शिक्षकमा विशेष गुण र क्षमता हुनुपर्छ । खासगरी शिक्षक नमुना व्यक्ति हुनुपर्छ । व्यक्तिगत, सामाजिक र शैक्षिक गुणले भरिपूर्ण हुनुपर्छ । शिक्षक विद्यार्थीको मिल्ने साथी बन्नुपर्छ । अभिभावकले झैँ माया गर्ने हुनुपर्छ । विषयवस्तु सजिलोसँग रुचिपूर्ण तरिकाले सिकाउने विज्ञ हुनुपर्छ । 

केटाकेटीलाई पढाउने होइन, सिकाउनुपर्छ । सिकाइ बालकेन्द्रित हुनुपर्छ । सिकाउँदै–गराउँदै, गराउँदै–सिकाउँदै गर्नुपर्छ । सिकाउने र पढाउने तरिका गलत छ । साना केटाकेटीलाई राम सिंह को थियो ? राम सिंहको परिवारमा को–को थिए भन्ने किन घोकाउनु ? यस्ता प्रश्न परीक्षामा सोधेर फेल–पास र जान्ने–नजान्ने किन भन्नु ? बरु हरेकलाई आफ्ना परिवारको संख्या बताउन लगाउनुपर्छ । केटाकेटीलाई नचाउँदै, खेलाउँदै, स्वतन्त्रतापूर्वक सिक्न दिनुपर्छ । केटाकेटीलाई प्रकृतिमा रमेर सिक्न दिनुपर्छ । सिकाइ भनेको विद्यालयको घेराभित्र सिकाइएको–घोकाइएको कुरा मात्र हो भन्ने भ्रम हटाउनुपर्छ । बालबालिकालाई भाषा बोल्न, लेख्न, पढ्न, बुझ्न र सञ्चार गर्न सक्ने बनाए भएन र ? भाषाको काम लिखित र मौखिक सञ्चार गर्ने हो । कण्ठ गर्न र गराउन जरुरी छैन । चाहिएको ज्ञान र सीप विकास भए पुग्छ । साना बालबालिकालाई गणित र विज्ञानका सामान्य कुरा व्यावहारिक रूपमा सिकाए पुग्छ । 

सरकार र विद्यालयको भूमिका 
सरकारले तालिम प्राप्त शिक्षकलाई कक्षाकोठामा पठाउनुपर्छ । बाल मनोविज्ञानको ज्ञान भएका र शिक्षा विषय पढेका व्यक्तिलाई शिक्षक बनाउनुपर्छ । निजी स्कुलको रिजल्ट राम्रो भए पनि त्यहाँका बालबालिकाले जीवनोपयोगी सीप सिकेका छैनन् । निजी स्कुलको सिकाइ सुगारटाइजस्तो छ । यसमा सुधार गर्नैपर्छ । निजी सकुलमा पढ्ने बालबालिकालाई व्यावहारिक कुरा र जीवनोपयोगी कुरा झनै थाहा छैन । सरकारी स्कुलमा विपन्न वर्गका छोराछोरी पढ्ने हुनाले अभिभावक कम सचेत छन् । सरकारी स्कुलका शिक्षक तुलनात्मक रूपमा दक्ष र क्षमतावान् भए पनि अल्छी छन् । जागिर पकाउन शिक्षण गर्छन् । शिक्षकहरू राजनीति गर्छन् । यसले गर्दा शिक्षण प्रभावकारी हुन सकेन । शिक्षण प्रक्रिया व्यावहारिक हुन सकेन । निम्नमध्यम वर्ग र शिक्षाको महत्व बुझेका अभिभावक स्कुलका कारण आफ्ना नानीबाबु सिकाइमा कमजोर भएको ठान्छन् । अंग्रेजी बोल्न नजान्नुलाई ठूलो कमजोरी ठान्छन् । त्यसैले, अभिभावकहरू स्कुल राम्रो भएन, छोराछोरी पढाउन कठिन भयो, नजिकैको सरकारी स्कुल राम्रो छैन । सकी–नसकी बोर्डिङ पढाउनुपर्छ भन्ने मान्यता राख्छन्, जुन गलत छ । 

वंशाणुगत गुण र वातावरणको प्रभाव 
केटाकेटीले केही जानेनन्, सिक्दै सिक्दैनन्, लद्दु छन् भनेर शिक्षकले गुनासो गरेको सुनिन्छ । वंशाणुगत गुणले सिकाइमा फरक पारेको हुन सक्छ । तर, वंशाणुगत गुणभन्दा वातावरणले सिकाइमा बढी प्रभाव पार्छ । नजान्ने र नसिक्ने भन्ने कुरै हुँदैन । वातावरण र परिवेशले फरक पार्छ । विद्यार्थी सिक्दै सिक्दैनन् भन्ने कुरा हुँदैन । बरु सिकाएको मिलेन कि ? उचित वातावरण भएन कि ? यस्ता कुराले समस्या सिर्जना गरेको हुन सक्छ । सानो हुँदा कुटाइबाट बच्न पाठ घोकेको हो कि ? भाले बन्नुपर्ला, स्याल कराएर साथीलाई मनोरञ्जन दिनुपर्ला वा कक्षामा कान समातेर उभिनुपर्ला भन्ने डरले पो पढेको हो कि ? त्यसो हो भने सिकाइ र बुझाइमा समस्या छ । माथिल्लो कक्षामा उद्देश्यात्मक सिकाइ हुन्छ । सिकारुलाई आफ्नो लक्ष्य र उद्देश्य थाहा हुन्छ । सिकारु स्वउत्प्रेरित हुन्छ । तर, तल्लो तहका बालबालिकालाई यस्तो थाहा नहुने हुँदा उत्प्रेरणा दिँदै सिकाइ गर्नुपर्छ । धेरैजसो नेपाली शिक्षक किताब पढाउँछन्, व्यवहार सिकाउँदैनन् । त्यसले गर्दा बालबालिकाले न सीप सिके, न लेखपढ गर्नै सिके, न त व्यवहार नै सिके । 

वर्तमान सिकाइ प्रणालीमा कमजोरी छ । वातावरण निर्माणमा समस्या छ । शिक्षकमा बाल मनोविज्ञानको ज्ञान कम छ । विद्यार्थी केही जान्दैनन् भन्ने भ्रम छ । सिकाइको वातावरण निर्माणमा ध्यान कम छ । पाठ्यक्रमको उद्देश्य र पाठको उद्देश्यबारे शिक्षक कम जानकार छन् । शिक्षकले मूल जिम्मेवारी बिर्सेका छन् । राजनीति, घरायसी काम र व्यापार–व्यवसाय, मानौँ उनीहरूको मुख्य जिम्मेवारी यही हो । शिक्षकले सिकाइका तौरतरिकाबारे खोज–अनुसन्धान गरेनन् । त्यो क्षमताका शिक्षक शिक्षण पेसामा प्रवेश गर्ने वातावरण बनेन । त्यस्तो वातावरण निर्माणमा राज्यले पहल गरेन । किताब पढाउनुलाई शिक्षकले आफ्नो जिम्मेवारी ठाने । उनीहरूले व्यवहार पढाएनन् । राज्यले पनि राम्रो काम गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणाली विकास गरेन । विद्यार्थी मूल्यांकन प्रणाली गलत विकास भयो । व्यवहारलाई भन्दा प्रमाणपत्र र प्रतिशतलाई ठूलो ठानिँदा सिकाइ प्रभावकारी हुन सकेन । यी सबै काम गर्ने शिक्षकलाई जिम्मेवार बनाउन राज्यले सकेन । राज्य चुक्यो । राज्यको शैक्षिक प्रशासन चुक्यो ।

(दाहाल त्रिभुवन विश्वविद्यालय, भक्तपुर क्याम्पसमा प्राध्यापनरत छन्)
 

ad
ad