
बागमती प्रदेश सरकारमा सहभागी हुन हाम्रो नेपाली पार्टी र सत्तागठबन्धनबीच पाँचबुँदे सहमति भएको छ। बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सरकारमा सहभागी हुन पाँचबुँदे सहमति भएको हो।
प्रदेशमा सत्ता जोगाउन नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेको छ। बिहीबार भएको सहमतिअनुसार बज्राचार्यलाई आजै शपथ गराउने कार्यक्रम रहेको छ।
बागमती प्रदेश सभाको बाँकी कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ।
यसैगरी, केन्द्रमा बनेको सत्तासमीकरणको निर्णयअनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा नेतृत्वमा सहकार्य गरी अघि बढ्ने सहमति जुटेको छ।
सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्गदर्शनमा सरकार अघि बढ्ने विषय पनि सहमतिमा उल्लेख छ।
यो सहमतिसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा देखिएको संकट तत्काललाई टरेको छ।
हेर्नुहाेस् सहमतिपत्र :