१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत १ बिहीबार ११:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङ र मनाङका ६ हजार व्यवसायीले तिरेनन् कर

Read Time : < 1 मिनेट
२०८० चैत १ बिहीबार ११:४५:००

लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले व्यवसाय दर्ता गरेर कर नबुझाएको पाइएको छ । करदाता सेवा कार्यालय बेँसीसहरले लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले कर नतिरेको नाम र पान नम्बर सार्वजनिक गरेको छ । 

करदाता सेवा कार्यालय बेँसीसहरले करदातालाई छिटोभन्दा छिटो आय विवरण पेस गरी सोहीबमोजिम कर दाखिला गर्न अनुरोध गर्दै नामावली सार्वजनिक गरेको हो । कार्यालयले कर नतिरेमा जरिवाना, शुल्क र ब्याज बढ्दै जाने भनेको छ । 
करदाता कार्यालय लमजुङका कर अधिकृत हरिप्रसाद ढकालले राज्यलाई तिर्नुपर्ने कर कुनै पनि हालतमा छुट तथा मिनाहा नहुने भन्दै कर तिर्न व्यवसायीलाई आग्रह गरेका छन् । ‘कर नबुझाउनेमा धेरैजसो साना करदाता हुनुहुन्छ भने ठूला करदाताले पनि आर्थिक मन्दीका कारण भन्दै कर तिर्नुभएको छैन,’ उनले भने । 

ढकालका अनुसार कर नतिर्नेमा धेरैजसो कृषि तथा पशु फर्म छन् । ती फर्महरूले अनुदानका लागि फर्म दर्ता गरेपछि पछिल्ला वर्षमा आय विवरण तथा कर नबुझाएको पाइएको हो । सामुदायिक वन उपभोक्ता समूह, केही मिडिया हाउस, किराना पसल आमा समूह, युवा क्लब, महिला समूह, सहकारीलगायतले आय विवरण र कर नबुझाएको पाइएको छ ।

 कार्यालयले कर नतिरेमा जरिवाना, शुल्क र ब्याज बढ्दै जानेसमेत बताएको छ । लमजुङ उद्योग वाणिज्य संघका अनुसार लमजुङका १० वटा एकाइमा दुई हजार चार सयजना व्यवसायी आबद्ध छन् । यसअघि कर तिर्न तनहुँको दमौली वा पोखरा जानुपर्ने बाध्यताको अन्त्य गरी लमजुङ र मनाङवासीका लागि बेँसीसहरमा ०७७ असोजमा आन्तरिक राजस्व कार्यालय दमौलीअन्तर्गत करदाता सेवा कार्यालय खुलेको थियो ।