१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० चैत १ बिहीबार ०७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चाबहिल र मित्रपार्कका आकासे पुल दुई वर्षदेखि अलपत्र

पुरानै दररेटमा काम गर्न नसक्ने भन्दै ठेकेदारद्वारा काम ठप्प, ठेक्का तोड्न अस्वीकार

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० चैत १ बिहीबार ०७:४९:००

८ माघ ०७८ मा काठमाडौं महानगरपालिकाले चाबहिल (ओरालोतर्फ) चोक र मित्रपार्कमा आकासे पुलको शिलान्यास गर्‍यो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले आकासेपुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै शिलान्यास गरेका थिए । शिलान्यनसपछि केही दिन कामले तीव्रता पाए पनि उक्त पुल जगभन्दा माथि उठ्न सकेको छैन । लामो समयदेखि काम अलपत्र पर्दा पुलको जगमा तथा बेसमेन्टमा राखिएको फलाम खिया लागिसकेका छन् । बाँकी काम कहिले पूरा हुन्छ भन्ने कुनै ठेगान छैन । 

यात्रुले सडक वारपार गर्दा हुने सवारीसाधन जाम कम गर्न र सहजताका लागि महानगरले पुल निर्माण योजना अघि बढाएको थियो । सोहीअनुसार एक वर्षमा काम सक्ने गरी पुल निर्माणको ठेक्का सबिरा कन्स्ट्रक्सनले पाएको थियो । सम्झौताअनुसार जेठ ०७९ मा पुल बनिसक्नुपर्ने थियो । तर, मेयर शाक्यको कार्यकाल सकिएपछि उक्त योजनालाई महानगरले प्राथमिकता दिएको छैन । 

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार पुल निर्माण नगर्ने ठेकेदारसँग सम्झौता तोड्न खोजे पनि मानेको छैन । ‘ठेक्का तोड्न पनि मान्दैन, पुरानै दररेटमा काम पनि गर्दैन । त्यतिवेला ढलको काम पहिला गर्नुपर्ने भएपछि पुल निर्माण रोक्नुपर्‍यो,’ उनले भने, ‘अहिले पुरानो ठेक्काअनुसार काम गर्न ठेकेदार मान्दैन ।’ यी स्थानका दुई पुल निर्माणका करिब तीन करोड लागत इस्टिमेट गरिएको थियो । शिलान्यास भएकै पुल अलपत्र परेपछि महानगरले अन्य स्थानमा तत्काल आकासेपुल निर्माण योजना अघि नसारेको प्रवक्ता मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौं महानगरपालिकाभित्र पर्ने रिङरोड क्षेत्रमा महानगरपालिकाले आकासेपुल बनाउने योजना बनाएको छ । तर, चिनियाँ कम्पनीले रिङरोडको अन्य काम सकाएपछि मात्रै पुल निर्माण सुरु हुनेछ । 

नयाँबानेश्वरमा लिफ्टसहितको आकासे पुल बनाउने योजना काठमाडौं महानगरले चालू आर्थिक वर्षमा अघि सारेको थियो । सडक विभागले केही समयअघि अनुमति दिए पनि महानगरले काम भने अझै सुरु गरेको छैन । महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा नयाँ बानेश्वरको आकासेपुलमा लिफ्ट जडान गर्ने कार्यक्रम समावेश गरेको थियो । सडक विभागले एक महिनाअघि अनुमति पनि दिइसकेको छ । महानगरले गत भदौमा पुलमा लिफ्ट जडान गर्न अनुमति मागेको थियो । विभागले तत्काल स्वीकृति नदिएपछि मेयर बालेन्द्र साहले तत्कालीन भौतिक मन्त्री प्रकाश ज्वालालाई अनुरोध पनि गरेका थिए ।

विभागका अनुसार बानेश्वरमा लिफ्ट बनाउँदा पुलको एकातर्फको भर्‍याङ भत्काउनुपर्छ । यसो गर्दा राज्यलाई नोक्सानी हुन्छ । विभागका महानिर्देशक शुशीलबाबु ढकालले लिफ्ट राख्दा त्यहाँ बनिसकेको संरचना हटाउनुपर्ने भएकाले घाटा हुने बताए ।