१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

इटहरीले ल्यायो दुई अर्ब ३५ करोडको बजेट, आकासे पुलदेखि विद्युतीय बस सञ्चालनका योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:४१:oo

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार १३औँ नगरसभामा उपप्रमुख संगीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन्। चालू आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ६ लाखकाे बजेट पेस गरिएको थियो।

उपमहानगरले आकासे पुल निर्माण, शल्यक्रिया कक्ष निर्माण, चोक तथा सार्वजनिक स्थानमा फ्री वाइफाई, निःशुल्क सेवाका लागि एम्बुलेन्स खरिद, सिसिक्यामेरामार्फत विद्यालयको शिक्षा अनुगमन गर्न निगरानी कक्ष निर्माणलगायतका योजना समावेश गरेको छ । 

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकासे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नम्बर ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिनबेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ ।

इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटिस्क्यान, भिडियो एक्सरे तथा आइसियू भेन्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले बताइन्। वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो । अहिले १५ शय्याबाट आकस्मिक सेवा दिन थालिएको छ । गरिब, विपन्न, ज्येष्ठ नागरिकहरूको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिने योजना बजेटमा समेटिएको छ ।

त्यस्तै, स्वस्थ इटहरी कार्यक्रमअन्तर्गत इटहरीवासीलाई सेवा पुर्‍याउने उद्देश्यले दुईवटा एम्बुलेन्स खरिद गरी निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ। 

शिक्षाको  भौतिक पूर्वाधार विकासका साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई  नमुना विद्यालयका रूपमा रुपान्तरण गर्न बजेट विनियोजन गरिएको छ । विद्यार्थीलाई अनिवार्य रूपमा अतिरिक्त क्रियाकलाप सहभागी गराउन पनि बजेट छुट्याइएको छ । आगामी वर्ष प्रत्येक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गरी विद्यालयका शैक्षिक गतिविधिलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा विशेष एक अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ। 

नीति तथा कार्यक्रममा इटहरीमा रात्रिकालीन बजार सञ्चालन गर्ने योजना समावेश छ । आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिटलाइट जडान गर्न पनि बजेट छुट्याइएको छ । प्रत्येक वडामा एउटा वडास्तरीय खेलमैदान निर्माण गर्ने र प्रत्येक वडामा खुला व्यायामशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाभित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरी ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजेट छुट्याएको छ । 

नवप्रवर्तन, अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गर्ने विषय बजेटमा समेटिएको छ । यस्तै, ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्न पनि बजेट छुट्याइएको छ । यसका लागि ६ वटा उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्ने उल्लेख छ ।

उपमहानगरले १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकिदिएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकमबराबरको सीमा तोकेको उपप्रमुख चौधरीले जानकारी गराइन् । अरू बाँकी १० वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।

ad
ad