१ चैतदेखि १५ वैशाखसम्म ४५ दिन बन्द गरिएको कान्ति लोकपथ १६ वैशाखबाट दैनिक तीन घण्टा खुल्ने भएको छ। यसअघि उक्त सडकखण्ड दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुँदै आएको थियो।
कान्ति लोकपथ सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले सडक आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म दैनिक तीन घण्टा खुल्ने जानकारी दिए। ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्ने काम अझै नसकिएकाले लोकपथ पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
‘मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टा मात्र खुलाउने निर्णय भएको छ। काम सम्पन्न गर्न अझै केहि समय लाग्ने भएकाले १५ जेठसम्म सडक तीन घण्टा मात्रै खुला हुन्छ,’ उनले भने।
इन्जिनियर महर्जनका अनुसार ललितपुरको काल्चे खण्डको १.५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा सडकमाथिका कडा चट्टान कटिङ गर्ने काम भइरहेको छ। सडक चौडा गरेसँगै सडक स्तरोन्नतिको कामसमेत गरिने भएकाले अझै समय लाग्ने देखिएको उनले बताए।
बिहीबार बसेको सरोकारवालहरूको बैठकले सडकखण्डमा बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको इन्जिनियर महर्जनले जानकारी दिए। सोही बैठकको निर्णयअनुसार कान्ति लोकपथमा ६ चक्के र सोभन्दा बढी चक्का भएका मालबाहक सवारीसाधान सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको उनको भनाइ छ।
बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठामाडौंसँग जोड्ने कान्ति लोकपथ मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटोसम्म पुग्छ। जम्मा ९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथ २०१३ सालमा शिलान्यास गरिएको थियो।